बिहान

केवलचन्द्र लामा


कालो छालाको ज्याकेट र
कालो चस्मा लाएको काले बिहानले
ऐठनको डरलाग्दो गुन्डाबाट जोगाउँछ हुन त ।
तर दिनभरिको ज्यालास्वरूप माग्छ
एक दिनको मजदुरी अनि दिनपछि
कालो पर्दा थुनिएको ओछ्यानमा
उज्यालाको अस्थिपञ्जरले मुसारेर
माग्छ एक चोला समर्पण ।

एउटा किच्चक व्यापारी हुन्छ त्योचमचम हिमाल ।
साहू हुन्छन् हरिया चोरबाटाहरू ।
ऋण हुन्छ त्यो सुरमय नीलो।
डाका हुन्छ सूर्योसदय, तर घाम जन्मँदैन ।
एकै जना पनि हुँदैन मलाई बचाउने
उज्यालोको काले छोरोबाट ।

मलाई सुत्न दिनोस् गुटुमुटु, बिन्ती
सिरानीमै राखी पुरानो अँध्यारोको
यो नयाँ फुटबल ।


 

घर

घरमा मान्छे मात्र बस्दैन
घरमा सपना पनि बस्छ ।

एक कुनामा डल्लो परेर बसिरहन्छ
उमेर निकै ढल्केपछि
एक बिहान अल्पन्छ ।

घरको अघिल्लो खिर्कीबाट एउटा सपनाको ज्यान जान्छ ।
घरको पछिल्लो दैलोबाट अर्को सपनाको प्राण निस्कन्छ ।

कुनै न कुनै सपना सिँगारपटार गरेर
घरमा बसिरहन्छ सधैँ।
*

घरमा मान्छे मात्र बस्दैन
एल्बमको हरेक कोठामा
अतीतहरू खचाखच बस्छन्।
सम्झनाले कहिले घरमा रङ्गपचेरा गर्छ ।
सम्झनाले कहिले दसैँलाई रुवाउँछ ।

घरको पाठ्यपुस्तकमा वर्तमानकाल मात्र हुँदैन,
भविष्यत्काल पनि हुन्छ ।
आँगनको नाङ्गो रूखले भविष्य समातेर उभिइरहन्छ— एक्लै
र कठ्याङ्ग्रिई बस्छ एक्लोपनले ।
घाम अस्ताएपछि बूढो घर
आफ्नी बूढी स्वास्नीका आँखाभित्र पस्छ
र पुग्छ कालो ओढारमा, भेट्टाउँछ
एक रास कङ्काल— सूर्योआदयको ।
भोलिको उज्यालोको कुन्नि कस्तो आसमा
बूढो घर निदाउने सश्रम आतुरीमा हुन्छ
ऐठनका सल्याङमल्याङ कोब्राहरूमाझ ।

*
घरमा आकाश पस्छ बर्खाले मातृभाषा भुल्दा ।
घरमा पृथ्वी पस्छ बालीले आशा मार्दा ।

घरमा छोराको तन्नेरी सम्झना सुत्छ राति–राति
जब घर फर्कने बाटो सहिद हुन्छ पल्टनमा ।
*

सुट्ठीसारै भएपछि
घर विश्वभ्रमणमा निस्कन्छ
घरमै छोडेर बूढा बा–आमा ।
घरमा बाको सुस्केरा र थकान बस्छ
घरमा आमाको आँसु र बिमार बस्छ ।
*

हाम्रो घरमा मान्छे मात्र बस्दैन
हाम्रो घरमा वैभवको फोटोकपी बस्छ ।
हाम्रो घरमा हर्कबडाइँको निम्नस्तरीय उल्था बस्छ ।
हाम्रो घरमा सन्त्रासको व्याकरण बस्छ ।
हाम्रो घरमा असुरक्षाको भर्खर छापिएको किताब
र त्यसको पुरानो संस्करण मिलेर बस्छ ।

हाम्रो घरमा मान्छे मात्र बस्दैन
हाम्रो घरमा उपर्युल्लिखित सबै शाखा–सन्तानको गुँड नै बस्छ… ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया