मुक्तिको आशा

गीत

ध्रुब चौहान


मुक्तिको आशा बोकी बाँचेको धेरै भो
आधा रोई आधा हाँसेको धेरै भो
समयले नै अब बिद्रोह बोल्दै भन्दैछ
परेलीमा मीठो सपना साँचेको धेरै भो

माथि आकासतिर मेरा पखेटा चोर्नेहरु छन्
यहाँ धरतीमा साँध-सिमाना कोर्नेहरु छन्
भो अब धेरै भो चुडालिदिन्छु ती जम्मै
बैरीहरुसित नाता गाँसेको धेरै भो

मैले सास फेरिदिँदा अरुहरु बाँचेका रहेछन्
मेरै घरभित्र पसी मलाई हेर्दै हाँसेका रहेछन्
सहनुको पनि त सीमा हुँदो रहेछ यहाँ
शीरमाथि मैला पाउ नाँचेको धेरै भो

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया