शरण मुस्कानका कविता

विज्ञापन

चित्रः अमिर सुन्दास

काव्यम



 

 

शरण मुस्कान


पछिल्लो समय शरण मुस्कानको ‘मूलधार’ निक्कै चर्चामा थियो। यो उनको कविता कृति कविवृतमा चर्चामा आउनु शरणको आफ्नै काव्य भाषा थियो। दार्जीलिङे नेपाली जीवनबाट अक्षरहरू टिपेर तिनीहरुमा लय हालेपछि  जुन आवाज आउँछ, त्यो टिपिकल दार्जीलिङे ‘टोन’ बन्छ। शरणको कवितीय ‘टोन’ नै त्यही हो। मनहरूको शहर-बाट हिँडेका शरणले खोजेको ‘मूलधार’ तिनी नै किनारीकृत दार्जीलिङे समाजको हो।

जुन समाजसित दुइ दशक चर्को पहिचानको निम्ति चलेको आन्दोलनको आवाज छ। आवाज छ, तर दबाइएको। शरणलाई आफ्नो सममाजको दबेको आवाज मनपर्दैन। उ त्यो आवाजबाट सरोकारवालासित चर्कोसित बात मार्न चाहन्छ। त्यही आवाजमा सान्नानीहरूसित मायाप्रितिको गफ चुट्न चाहन्छ।

वास्तवमा शरण, आफ्नै कुरा गर्न चाहन्छ। पीडाका, दुःखका, सङ्घर्षका, प्रेमका बात मार्न चाहन्छ।

उनको बात मराइ निक्कै सिपालु बोलकको जस्तो छ। उनको आवाजमा अरुणा लामा, अम्बर गुरूङ, नोर्देन रुम्बा, अगमसिंह गिरीहरूको सरावरी छाया छ। खासमा शरणको आवाजको आफ्नै छाया छ।

तिनै सिपालु शिल्पी कवि शरणका 6 ओटा कविता सार्वजनिक गरिरहेका छौँ।

  • सम्पादक

कविकथन

  • जीवनको कण्टक अनि अव्यवस्थित हिँड़ाई र भोगाईको कैँड़ा सेक्ने, बेपर्वाह समाजलाई आफ्नो उपस्थितिको बोध गराउने अनि हरेक सेकेण्डमा घटिरहने दुर्घटनाहरू झेल्ने शक्तिको रूपमा कवितालाई मभित्र आभास गरेको छु मैले। कविता मभित्रको एउटा दह्रिलो व्यक्तित्व हो जसले मलाई बाँच्ने कला सिकाउँछ। मैले बाँच्न नसकेको जीवन म कवितामा बाँच्छु। जीवनको तिर्सना म कवितामा मेटाउँछु। वास्तवमा कविता के हो म जान्दिन तर समाजको रूढ़ि, शोषण, अन्याय अत्याचारको विरूद्ध दह्रो आवाजको रूपमा म कवितालाई मान्छु। कविता एक कलात्मक क्रान्ति हो समाज अनि जीवनको। यही कलात्मक क्रान्तिले मलाई जीवनमा थुप्रै दुर्घटनाहरूबाट बचाएर मान्छे हुनुको आभास दिइरहेको छ। कविता नभएको भए म यतिखेर भट्टीपसलको नियमित ग्राहक हुन्थे कि त उहिल्यै आत्महत्या गरिसकेको हुन्थे।

 

मूर्ती देशको         

आइज !

खेलौं हिलो

बनाऔँ मूर्ती- देशको।

 

जेठा तैले आँखा बनाउनू

ताकि तेरी सुम्निमाको भन्दा कम नहोस् देशको हिस्सी

थेबा तैले देशको अनुहारको लाली बनाउनू

ताकि पहरा- पखेरामा गुराँससितै फुल्ने

माइथेबाको भन्दा कम नहोस् देशको हिस्सी।

 

तेरो डम्फूलाई देशको दाहिने हातमा राख्नुपर्छ च्याङ्बा

ताकि फूलहरू झार्दै गश्ती हिँड़्ने

जङ्गी हुरीले पनि सुनोस् देशको सेलो

र हतियार बिसाएर हामीसितै गाओस्- हाम्रो राष्ट्रेगीत

सुन् ए दर्जीमाने

तेरै नापको हुनुपर्छ देशको हात-गोढ़ा

ताकि तैंलेजस्तै

कैँड़ा पाक्दा पनि ओह्राली- उकाली गर्न सकोस् देश

र सिउन सकोस् हाम्रो लाज ढाक्ने खास्टो।

 

ऐ गुरूङ साइँला !

तँ आङ्देम्बे जेठा !

देशको भूड़ीको भूगोल तँहरूले तयार गर्नु

ताकि ढुङ्गाको सूपले पनि भर्न सकोस् देशले आफ्नो भोक

देशको छातीको बनावट

सुनिस् तेरैजस्तो हुनुपर्छ लाडुप!

ताकि बारूद गन्हाउने हावाको संक्रमण नलागोस् देशलाई

र अजम्मरी बनोस् देशको हिस्सी।

 

त्यसपछि देशको शीरमा

म लगाइदिनेछु कञ्चनजङ्घाको टोपी

अनि सिउरिदिनेछु कानमा एक डाली सुनाखरी।

 

आइज सर्किनी कान्छी!

अलिकति तेरो पसिनाको इलिम थप्

आइज ए बाहुनी साइँली!

अलिकति तेरो जवानीको आगो जोड़्

हामी पनि बुझौं

आँखाको आँसु पुछेर कसरी झुम्दा रहेछन् कोदाका दानाहरू

कैँड़ाहरू टेकेर कसरी उभ्दा रहेछन् धानका बालाहरू।

 

आइज

खेलौं हिलो

बनाऔँ मूर्ती- देशको।

 

उनीहरू आउनेछन् 

हरेक पाँचवर्षको अन्तरालमा

तिम्रो बाँझो छातीभित्र

सपनाका बीऊ छर्न आउने नमस्तेहरू

यसपल्ट पनि अवश्यै आउनेछन्

अनि

तिमीलाई दोजिया बनाइराखेर

सड़कबाट अलकत्रा हराएजस्तो फेरि हराउनेछन्।

 

हरेकपल्ट झैं यसपल्ट पनि

उनीहरूले तिम्रो फुटेको कुर्कुच्चाको गीत गाउनेछन्

तिम्रा हत्केलाका ठेलाहरूको कविता भन्नेछन्

अनि तिम्रो बाँझो खेतबारीमा

हाक्काहाक्की दुईथोपा आँसु पनि झार्नेछन्।

 

यसपल्ट पनि

उनीहरूले आकासतिर फर्केर तिम्रो इस्सोरलाई भक्कु गाली गर्नेछन्

गाउँमा स्कूल नहुनू

बिजुली नहुनू

अझै के के नहुनूको जम्मै दोष तिम्रो इस्सोरलाई थोप्नेछन्।

त्यतिबेला

पहिलाको जस्तै तिमीलाई फेरि इस्सोरसित झोंक चल्न सक्छ

अथवा

उनीहरू पो इस्सोर हुन् कि जस्तो पनि लाग्न सक्छ।

 

त्यसपछि तिमीलाई हरहर्ती तिर्खा लाग्नेछ

उनीहरूको अञ्जुलीको पानी पिउँपिउँ लाग्नेछ।

 

तर याद गर्नु-

त्यतिबेला तिमीले उनीहरूको पानी पियौ भने

यसपल्ट पनि तिम्रो बाँझो छातीमा

उनीहरू सपनाको बतासे ओथ्रा बसाइराख्नेछन्

अनि अर्कोपल्ट पनि फेरि

उनीहरू हाँस्दै- हाँस्दै तिमीकहाँ आउनेछन्

तिमीलाई पुरानै भाकामा नमस्ते भन्नेछन्

तिम्रो फुटेको कुर्कुच्चाको गीत गाउनेछन्

तिम्रा हत्केलाका ठेलाहरूको कविता भन्नेछन्

तिम्रो इस्सोरलाई गाली गर्नेछन्।

 

याद राख

यसपल्ट पनि उनीहरू अवश्यै आउनेछन्।

 

प्रधानमन्त्रीको सड़क

जवान धान मगमगाउने खेतबारीमा

बूढो स्काभेटर चड़ी आउँछ प्रधानमन्त्रीको सड़क

र खोतलिराख्छ सन्तमानको सुनको सपना।

 

पैह्रोले सोह्रेको खेतबारी डील उभेर

प्रधानमन्त्रीको सुडौल सड़कलाई  कोस्नमात्रै सक्छ सन्तमान

जहाँ कुनै समय उनको हकडक अनि पौरख चल्थ्यो

उनको नाममा धानका बालाहरू झुल्ने गर्थे।

 

छोरीको हरबर खेल्ने आँगनसम्म पैह्रोले निलेपछि

अचेल राहत शिविरमा बस्छन् सन्तमान

यता गाउँमा भने

कालो अलकत्रा अनुहारभरि दलेर

पार्टी अधेक्षेको आगँनसम्म आइपुगेको छ प्रधानमन्त्रीको सड़क।

 

अचेल

हरेक चोटि खेरो जाने नमस्कार भिरेर

अधेक्षेको ढोकामा उभिने गर्छ सन्तमान।

 

वर्चस्वता

घरका असहाय हातहरू

जम्ले हात गरेर जब आकासतिर उठ्छन्

चम्किन्छ देवताहरूको अनुहार

र हातपाई हुन्छ घरको तरूणी शरीरमाथि।

 

घरका आँखाहरूले देख्छन् त्यतिबेला

प्रलय बोकेर गद्दीबाट ओर्लिरहेको देवता

अनि

फूलहरू झार्दै आफूतिर बढ़िरहेको आँधी।

 

सुन्यौ!

प्रलयलाई जितेर

ज-जसले आफ्नो बाटो बनाए

देवताहरू अहिले उनीहरूको अधीनमा छन्।

 

यसैले भन्दैछु-

देवताको नजर लागेको छ अहिले हाम्रो घरलाई।

 

उनी

गाउँमा चराहरूको गीत पनि नबजी

घरमा  बज्छ उसको सङ्गीत।

 

मन्दिर कोठाको घण्टीको चलमलाहटसितै खोलिन्छ घरको निद्रा

गाउँमा फेरिन्छ नयाँ बिहान।

 

उनको सङ्गीत सुन्न

बालखा घाम बामे सर्दै आगँनसम्म आइपुग्छ

तुलसीको झ्याङ मुनिल्तिर आधादिनसम्म नहल्ली बसिरहन्छ।

 

जाँगरिलो भएर दिनैभरि  घर-आगँनवरिपरि कुच्चो ओहोरदोहोर गरिरहन्छ

भाँड़ा-कुँड़ा, चुल्हा चौका सब चिरिच्याँट्टै सिँगारिएर घाम तापिरहन्छ।

कुनैदिन उनी नहुँदा-

घरका चुल्हा-चौका आधादिनसम्म फूलखरानीसरी भएर सुतिरहन्छ

आगँनभरि कुखुरा-कुखुरीहरू आन्दोलनमा उत्रिन्छन्

गोठ-जुठेल्नो- पँधेरा सबै दिनैभरि झोक्रिरहन्छ

सिङ्गारपटार त परैजाओस्

आधादिनसम्म पनि मुखसमेत नधोई सुस्ताइरहन्छ घर ।

 

हरिया तुलसीको पत्ताहरू भुर्कुट सुकाइराखेर

असन्तुष्ट घाम पनि आधादिनमै आँगन छोड़्छ।

 

उनी नहुँदा

मन्दिर कोठाको घण्टीसमेत चल्मलाउँदैन

भनौं, घरमा नयाँ बिहान नै फेरिँदैन।

 

डर लाग्छ

कुनै दिन आमा परदेश लागे

घरको हालत कस्तो होला।

 

बाग्दता

सान्नानी!

सकेसम्म तिम्रा आँखाका पानीहरूले

आज नै यो घरको माया धोइराख्नु

हरेक बिहान पाती चडाउने गरेका

ती देवरालीलाई पनि अन्तिम पटक छोइराख्नु।

 

अन्तिमचोटि आज नै माइतीको काँधमा सकेसम्म रोइराख्नु

यी घरका भित्ताहरूलाई आज नै मनग्गे छोइराख्नु।

आजमात्रै हो,

साथी-सङ्गीहरूलाई मनैले हात हल्लाइराख्नु

दुई-चार सम्झनाहरूलाई पटुकीमा कसी राख्नु।

 

आजको घामसितै

तिम्रो निम्ति यो घरपनि अन्धकारमा हराउनेछन्

तिमीले सजाइराखेको यो बालपनको आँगन

अबउसो तिम्रो निम्ति मात्र माइती-घर बन्ने छन्।

 

हो सान्नानी!

भोलिदेखि उदाउने प्रत्येक नयाँ घाम

अबउसो तिमीले अर्कै आगँनमा टास्नुपर्नेछ

अबउसोको एकजुनी बिहान तिमीले नयाँ घरमा पुज्नुपर्नेछ।

 

सान्नानी!

आज तिमी गएपछि

केहीदिन यी घरका आँखाहरू तिम्रो निम्ति भिज्नेछन्

सिङ्गार-पटार, काम-धन्धा सबथोक पन्साएर

केहीदिन घरले तिमी हराएको बाटो पछ्याउनेछन्

केहीदिन तिम्रो नाममा देवीथान धाउनेछन्

भनौं, तिम्रो नाममा

केहीदिन यो घरले आफ्नो गीत बिर्सनेछन्।

केही दिनपछि

यो घर फेरि सधैँजस्तो व्यस्त बन्नेछ

मुटुबाट तिम्रो नाम काटेर

यो घरले फेरि आफ्नो नयाँ गीत लेख्नेछ

बिर्सनेछ यो घरले तिम्रो बाइँचुरीको छन्छन्

प्रत्येक बिहानको व्यस्तताको तिम्रो गन्गन्।

 

त्यसपछि कुनैदिन तिमी यो घर आउँदा

घरको चुल्हासित तिम्रो हात मिल्नेछैन

आँगनका भङ्गेरी, कुखुराहरूसित तिम्रो बात मिल्नेछैन

भँडारकोठासित तिम्रो जात मिल्नेछैन

भनौं, यो घरको सङ्गीतसित तिम्रो राग मिल्नेछैन।

बारीका आरू, सुन्तला, भोकटेहरूमा सधैं जस्तो तिम्रो अधिकार चल्नेछैन

तिम्रो पातीले अघाउने देवराली सधैं जस्तो तिमीलाई पर्खनेछैन।

 

अबउसो तिमीले यो घरको गीत भुल्नुपर्छ

गुराँसे पाखाहरूसित लगाएको प्रीत भुल्नुपर्छ।

 

सान्नानी!

सकेसम्म तिम्रा आँखाका पानीहरूले

आज नै यो घरको माया धोइराख्नु

हरेक बिहान पाती चडाउने गरेका

ती देवरालीलाई पनि अन्तिमपटक छोइराख्नु।

 

सोल्टिनी! ओ सोल्टिनी!

सपनाका पखेटाहरू

जब झरर झरीमा निथ्रुक्क भिज्छन्

मन डुल्ने फूलबारीहरू

जब तीखा-तीखा काँडेतारहरूले जेलिन्छ

जिन्दगीका सप्पै-सप्पै गीतहरू

जब टिनिनि एकैनासे बज्न थाल्छन्

औ सोल्टिनी!

मलाई तिम्रो नाममा अग्ला-अग्ला भीरहरूबाट

झ्वाम्म- झ्वाम्म हामफाल्न मन लाग्छ

आशिष थाप्ने महाकाल धामका घण्टीहरूमा

ट्वाङ्ग-ट्वाङ्ग टाउको ठोक्काएर

तिम्रो नाममा आत्महत्ते गर्नु मन लाग्छ।

 

हरदिन तिमी धाउने पानी-पधेरो

पापी पैह्रोले सखाप-सखाप नै पारिदिएका छन्

कम्मरको गाग्रो बिसाएर

तिम्ले सिरिरि शीतल ताप्ने चौतारी

गुम्लुङै कुइरो ओड़ेर सुतिमात्रै रहने भएका छन्

केई केई केई मज्जा छैन अचेल यो वनपाखामा घाँस-दौरा गर्नु पनि

केई केई केई मज्जा छैन अचेल यो ठाउँमा मेलापात भर्नु पनि।

 

कुन्नि किन हो

सोल्टिनी!

मैसित राजनीति खेल्छ यो गाउँ-घरले पनि

बजाउँदैनन् हौ अचेल तिम्ले मन पराउने गीतहरू कुनै कुनै

सङ्गमर्मर जस्तो पो भाका छन् त गाउँकाहरू सप्पै-सप्पै

गाउँदैनन् हौ तिम्ले गाउने पुराना गीतहरू कुनै-कुनै।

 

मलाई हर-हर्ती तिर्खा लाग्छ ती गीतहरूको

त्यै तिर्खाले हुन सक्छ

सोल्टिनी!

अचेल म त अलि-अलि पिउने भएको छु

कुन्नि किन हो राती-राती रूने भएको छु।

 

सोल्टिनी! औ सोल्टिनी!

यो टिस्टाको पानीमा

मेलै धेरैचोटि धररर आँसुहरू बगाइसकेको छु

यी वनपाखामा सररर चल्ने हावाहरूमा

धेरैचोटि तिम्रो नाममा गीतहरू उड़ाइसकेको छु

बग्दै-बग्दै-बग्दै-बग्दै कुनै दिन तिमी बस्ने शहरसम्म आइपुगेछ भने

उड़्दै- उड़्दै- उड़्दै- उड़्दै कुनै दिन तिमी बस्ने शहरसम्म आइपुगेछ भने

सम्झिदिनु है सोल्टिनी!

गाउँमा तिम्लाई पर्खेर बसेको यो टुहुरो सोल्टीलाई

घामजस्तै डुब्दै-डुब्दै गइरहेको एउटा अनुहारलाई।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया