म कहिले बुद्ध हुनु ?

विज्ञापन

चर्चित कविता


 मनप्रसाद सुब्बा

º

सँधै सँधैको सिद्धार्थ म
बुद्ध कहिले हुनु?

यशोधरालाई त्याग्नै सकिनँ ।
सकिनँ । सकिनँ । अहँ, सक्दै सकिनँ ।
सम्झेँ कि प्रेमको पखेटामुनि भोक-प्यास लुकाई
सांसारिकताको यो गूँड बनाइसकेपछि
छोडेर सुटुक्क निस्कँदा / उसलाई
कत्रो विश्वासघात होला !

राहुललाई पनि छोड्नै सकिनँ ।
सकिनँ । सकिनँ । अहँ, सक्दै सकिनँ ।
सम्झेँ कि म कमाइ गर्ने बाउ नै नभएपछि
त्यसकी बेकारी आमाको हत्केलाभरि उठेका ती
ठेलाहरुमा ठोक्किँदै त्यसको बाल्यपन
कत्ति टिठलाग्दो होला !

बिरामी बुढा बाउ शुद्धोधनको
खोकीको ख्वाकख्वाकलाई नाघ्दै जान पनि सकिनँ ।

छन्दक !
तिमीलाई सम्झना छ ?
त्यस दिन मैले निकै भावुक भएर भनेको थिएँ —
यशोधरा र राहुललाई त्यागेर निस्कन्छु
र संसारको दुःखको कारण पत्ता लगाई
मुक्तिको बाटो निकाल्छु ।
तिमीले पनि मलाई
अढाई हजार वर्षअघिको राजकुमार सम्झी पत्याइहाल्यौ
तर खै के भनूँ, छन्दक !
भुँडीदेखि भाँडासम्मको यात्रा हिँडेको हिँडेकै आजसम्म
अन्त कतै जान सकिएन ।

मेरी आमा मायादेवी
मायाको खेताला जाँदाजाँदै
सुत्केरीबेथाले रूखको फेदमै थला परेकी थिइन् रे
अनि त्यहीँ नै म
दुःख मुट्ठ्याएर जन्मेछु
तर सेकताप र खानपिन नपुगेर
मेरी आमा मायादेवी
निर्वाण नपाईकनै निर्माया भइन् रे
अनि त छ्यामाको छायामा म हिउँदको छाया भई हुर्किएँ
विचरी गिट्टी कुट्ने मेरी गौतमी छ्यामा
चिल्लो बान्की परेको ढुङ्गा मलाई खेल्न दिन्थिन्

ओहो ! त्यो दरबारको सुख यो घरबारमा कहाँ ?
त्यसैले
सिद्धार्थभन्दा पनि सय जुनीअघिको सिद्धार्थै रहिरहें म
याद छैन, बुद्धत्व खोज्ने सुविधा कहिले पाउँछु म !

छन्दक !
तिमी पनि खै कत्ति पो फेरियौ र !
तिम्रा पुर्खा छन्दक घोडाका सइस थिए,
तिमी अहिले ट्याक्सी ड्राइभर भएकाछौ
ती ऐतिहासिक सिद्धार्थको तिमी सारथि थियौ
तर इतिहासमा कहिल्यै ठाउँ खोज्न नसक्ने
यो अन्त्यहीन यात्रा घिस्रिरहने उत्तरआधुनिक सिद्धार्थको
तिमी अभिन्न साथी हौ
अर्थात् यो सिद्धार्थ नै छन्दक हो
अनि छन्दक नै सिद्धार्थ
जो सँधै नै
क्षुद्र कुराहरुको हुटहुटीमा हुत्तिरहेको हुन्छ

ओफ !
हामी कहिले बुद्ध हुन पाउनु हँ ? कहिले?
तर तिम्राहाम्रा क्षुद्र कुराहरू नभएका भए
संसार साह्रै अल्छीलाग्दो पो हुन्थ्यो कि !

आऊ साथी !
हामी बुद्ध हुन नपाएका सिद्धार्थहरू
हामी बन्धक परेका छन्दकहरू
जाऔँ त्यो चोकबजारको सस्तो रेस्टुराँमा
अलिकति आनन्द मनाऔँ –
चियर्स टु अल सिद्धार्थज् अब् द वर्ल्ड !
चियर्स टु अल छन्दक्स् अब् द वर्ल्ड !
संसार हाम्रै पैतालाले हिँड्छ
संसार जो हाम्रो महासङ्घ हो
गीत गाऔँ –
सङ्घम् शरणम् गच्छामि…।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया