‘जोखिम नउठाई लेख्नुको त के मज्जा ?’

राजा पुनियानी साहित्यको सामाजिक दायित्वप्रति सचेत युवा कवि हुन्। उनी कविताको कलात्मक चेतना र शैलीगत परिष्कारमा सुक्ष्म रूपमा ध्यान दिन्छन्। समकालीन भारतीय नेपालीभाषी कविहरूबीच उनले आफ्नो विशिष्ट परिचय बनाइसकेका छन्। अघिल्लो वर्ष उनको फुटकर कविता ‘कश्मीरपाठकहरूबीच निकै प्रशंसित भयो । फुटकर लेखनबाहेक पुनियानीको लामा कविताहरूको सङ्ग्रह ‘अर्को लश्कर’ प्रकाशित छ। कवि पुनियानीसँग सङ्गीत श्रोताले गरेको साहित्यसंवाद


 

तपाईंले कश्मिरमाथि जुन कविता लेख्नुभएको छ, त्यस कविता रचनाको अन्तर्कथा के हो ? सिलगढ़ीमा बसेर कश्मिरबारे लेख्न तपाईंलाई केले घच्घच्यायो ?

सवाल संवेदनशील छ। छोटोमा दिइएको उत्तरले कन्फ्युजन निम्त्याउन सक्छ। त्यसैले उत्तर तुलनात्मक रूपमा लम्बिनसक्छ । सहनुहुन्छ कि !

बितेको साल विशाल भारद्वाज निर्देशित चर्चित सिनेमा हो ‘हैदर’। ‘सेण्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसन’ले ४१ सिनको ‘कट’ पछि मात्र प्रदर्शनको अनुमति दिएको । कश्मीरको विवादित मुद्दालाई एक हदसम्म उफारिदिने यो सिनेमामा एउटा दृश्य छ, जसमा एउटा मान्छे घण्टौँदेखि आफ्नै घरको मूल दैलोअघि उभिएको उभिएकै हुन्छ। आमा चाहिँ रोइरहेकी हुन्छ। एउटा जङ्गी सङ्गठनको पात्र आएर त्यो मान्छेलाई शरीरको तलाशी लिएको र आईडी कार्ड मागेको अभिनय गर्दछ। तब ऊ केही नबोली घर पस्छ। तलाशी लिने पात्रले भन्छ, यहाँ यस्तै हो, मान्छेलाई आदत बसेको छ, तलाशीको। नत्र ऊ आफ्नै घर पस्न पनि डराउँछ।

कश्मीरको भयावह अनुहारलाई नङ्ग्याइदिन यो एउटै दृश्य काफी छ। कवि पात्र हैदरले आफ्नो बेपत्ता डाक्टर बाबालाई खोज्ने क्रम वरिपरि सिनेमाले चक्कर मार्दा कश्मीरका केही देखअदेख पाटा सामुन्ने आउँछन्। थियो। जम्मू कश्मीरको सरकारी रिपोर्टलाई मान्नु हो भने कश्मीरमा बितेको २१ वर्षमा ४३ हजार ४ सय ६० मान्छे मारिएका छन्, जसमध्ये १३ हजार २ सय २६ नागरिक आतङ्कवादीले मारेको हो, ३ हजार ६ सय ४२ नागरिक सुरक्षा बलले। तथापि, गत दुइ दशकभित्र घटीमा १ लाख मानिस मारिएको एवं १० हजारभन्दा बढ़ी मानिस बेपत्ता पारिएको अनाधिकारिक रिपोर्ट यत्रतत्र किताब, अनलाइन र प्रिन्ट मिडियामा चलाइएको छ।

कश्मीर भौगोलिक रूपले जति बान्की परेको छ, उति नै राजनैतिक रूपले विरूप छ। कश्मीर एसियाको क्यान्सर हो, जसरी जेरूसलेम विश्वको। आतङ्कवादको नाममा राज्यसत्ताले चलाएको मानवीय दमन, उत्पीड़न र दोहनको निम्ति कश्मीर विश्वमै एउटा ज्वलन्त केस स्टडीको विषय भएको हो। राष्ट्रिय मुक्तिको वैश्विक परिदृश्यमा समेत कश्मीर एउटा महत्त्वपूर्ण सन्दर्भ-भूगोल हो। आज आएर सत्ता हरण र सत्ता रक्षाको नाममा लूट, अपहरण, बलात्कार, बलजफ्ती बेपत्ता, व्यक्तिगत हत्या, झूटो इन्काउण्टर, सामूहिक हत्या, बालहत्या, विद्यार्थीहत्या कश्मीरको निम्ति सामान्य घटना भएका हुन्। कट्टर मुस्लिम आतङ्कवादी सङ्गठनहरूदेखि लिएर दुवै देशका सेनाले कश्मीरमा चलाएको ताण्डव स्थानीयदेखि विश्व मानव अधघिकार निकायको अध्ययन र सर्वेक्षणले छोपिन सकेका होइनन्।

सन् १९९० मा भारत सरकारद्वारा लागू ‘आर्म्ड फोर्सेस (स्पेसल पावर्स) एक्ट, सन् १९५८’ कश्मीरको लागि एउटा दुःस्वप्नै भइदिएको छ। यस ऐनअनुसार सेना कार्यकर्ताहरूलाई कुनै केस लाग्दैन। वारेन्ट बिनै कसैलाई पनि पक्रनसक्ने, सूचनाबिनै गोली दाग्न सक्नेजस्ता मौलिक मानव अधिकार हननकारी विशेषाधिकार यो ऐनले सुरक्षाबललाई दिइएको छ।

केही स्थानीय मानव अधिकार सङ्गठनलगायत संयुक्त राष्ट्रसङ्घको मानव अधिकार निकायले धरि यो ऐन कश्मीरबाट तुरुन्त हटाउने निष्फल अपील गरिसकेको हो। सन् १९४७ को भारत-पाकिस्तान विभाजन यताको अन्तर्राष्ट्रिय राजनैतिक चलखेलमा दक्षिण एशियाली ध्रवीकरणको दाउपेंचमा भारतकै पल्ला बलियो छ। यस्तोमा कश्मीरी जनता भारत-पाकिस्तानको ‘टग अफ वार’)मा तानिने सजिलो डोरी भएका हुन्। कश्मीरी आम जनता दुवै देशको अहमको जाँतोमुनि बीभत्स ढङ्गमा पिसिएको अवस्था दुनियाँको कुनै पनि मान्छेले सहनु मानव सभ्यताकै सबैभन्दा ठूलो विडम्बना हुनुपर्छ।

कश्मीरको जमीनी यथार्थ त के हो भने त्यहाँ जीवन गौण र मृत्यु मुख्य छ। मृत्यु एउटा मानिसको जीवनकालमा एक दिनको सामान्यता हुँदा हुँदै कश्मीरमा प्रत्येक मानिसको निम्ति प्रत्येक दिनकै सामान्यता हो मृत्यु। स्वामी विवेकानन्द एक ठाउँ भन्छन्, “एउटा साङ्लोको बल त्यसको सबैभन्दा दुर्बल कड़ीले निर्णय हुँदछ”। त्यसो र नागरिक स्वास्थ्य, शिक्षा, विकासको हिसाबकिताबमा, संविधान प्रदत्त अभिव्यक्तिको स्वतन्त्रताको हननको कसीमा देशकै सबैभन्दा कमजोर प्रान्त कश्मीर उद्वेलित भएको रापले देशको कुना कुनालाई पोलेकै छ। यस्तोमा सिलगढ़ीको कुनामा होस् वा कुनै पनि अभेग कुनामा, कश्मीरले कुनै पनि कविलाई छोएको हुनुपर्छ।

केवल आफ्नै भूगोलको मात्र पीड़ा लेख्ने कवि सच्चा अर्थमा कवि हुनसक्तैन। उसलाई संसारको हरेक माटोको व्यथाले पोलेको हुनुपर्छ। मानिसको आम पीड़ाले उद्दीपन गराएपछि वैचारिक हस्तक्षेप गर्ने सरोकार हरेक कविको हुनुपर्छ भन्ने लागेको हो। लेखन आफैमा एउटा राजनीतिक क्रियाशीलता पनि हो। त्यसोसले, विश्वको कुनै पनि चलायमान, घुलनशील र सङ्कटग्रस्त समाजमा लेखन र राजनीतिमाझको विभाजक धर्का निक्कै पातलो हुनेगरेको हो।

भारत सरकारले कश्मिर वा भारतका अरु कतिपय राष्ट्रियताहरुमाथि गरिरहेको जबर्जस्तीको प्रतिवाद गर्नु जोखिमपूर्ण काम हो भन्ने लाग्दैन ?

मेरो कविता ‘कश्मीर’ यहाँको ‘सुनचरी’पत्रिकामा केही वर्षअघि छापियो। त्यतिखेर पनि केही व्यक्तिहरूले शुभचिन्तकको हिदायत दिएकै हुन्। केही दिनअघि फेसबुकमा हालेँ। इन्बक्स र फोनमा धम्की जस्तै सुझाउ जस्तै च्याप्टो सन्देशहरू आए। वालमा पब्लिकली कवितालाई सर्काउने कुनै एक साथीले त फोनै गरेर भने ( “राजा, तपाइँको कविता बड़ो गज्जब। तर होशियार है, पक्रा पनि पर्न सक्नुहुन्छ”। मैले हाँस्दै फोनैमा भनेँ, “योभन्दा ठूलो पुरस्कार के होला र ?” केही घनिष्ठ बुद्धिजीवी कविता ‘राष्ट्रद्रोही’ भयो भनेर पब्लिक्ली नै कड़किए ।

तर कविता किन र कसरी राष्ट्रद्रोही छ, त्यसको तार्किक व्याख्या मैले कहिल्यै पाइनँ। बिनाकारण वा केवल हक, शान्ति र मुक्तिका लागि बोले भन्दैमा देशको आम नागरिकको ज्यान लिनु राष्ट्रद्रोह हुँदैन भने ती मारिने, लुटिने, हेपिने देशवासीको पीड़ालाई कवितामा लेख्ता म कसरी राष्ट्रद्रोही भएँ, मैले भेउ पाइनँ। जहाँसम्म सरकारी जोखिमको कुरा हो, सरकारले जबसम्म उसलाई थ्रेट भएको महसुस गर्दैन, उस्तो केही गर्दैन। म अहिलेसम्म रियल थ्रेट भएको छैन होला र नै म मेरा कवितामा ‘रियल एलिमेण्ट’ अझ इफेक्टिभ्ली र एफिसिएण्ट्ली नआइसकेको बोध गर्ने कवि हुँ।

जोखिम एक किसिमले एडभेञ्चर पनि हो र कमिट्मेण्ट पनि। लेखनको विषयप्रति सिन्सियर रहनु हो भने जोखिम त मल्नै पर्छ हरेक सर्जकले। त्यसो र जीवन जगतको कुरा हाक्काहाक्की उठाउने हरेक लेखन नै जोखिमको लेखन हो। जोखिम नउठाइ बाँची बाँची लेख्नुको त के मज्जा र ? सङ्कट छ र नै लेखन छ अनि लेखन छ र नै जोखिम पनि छ।

आजको तपाईंको कवितालेखनलाई उर्जा दिने सामाजिक÷राजनीतिक आन्दोलन वा विचारधारा कुन हो ?

श्रोताज्यू, निश्चित रूपले जनपक्षीय विचारधाराले मलाई तान्छ। जनताको विपक्षमा जनताकै मखुण्डा ओढ़ेर उभिने केही वाद वा लेखन आन्दोलन वा राजनैतिक आन्दोलन पनि छन्। जसलाई चिन्नु र चिनेर पर्दाफास गर्नु पनि हाम्रो कर्त्तव्य ठानेको हौँ। मार्क्सवादी चिन्तन र बुद्धको नास्तिक दर्शनले आजसम्म मेरो लेखनमा अटुट ईन्धनको काम गरेकै छन्।

समकालीन भारतीय नेपाली साहित्यको परिदृश्य कस्तो छ ? यसका बलिया र कमजोर पक्ष के देख्नुभएको छ ?

आशालाग्दो नै छ। विशेष गरी नयाँ हाँचको युवा सर्जकहरूको सामाजिक सरोकार हेर्न लायक छ। एक समय वर्जित ठानिएको र ठान्न लगाइएको ‘लेखनमा प्रतिबद्धता’ बिस्तारै उनीहरूले अङ्गाल्दैछन्। यो यताको नेपाली साहित्यमा सकारात्मक लक्षण भएर रहेको छ। बलियो पक्षको कुरा गर्नु हो भने लेखनको यही सामाजिक कन्सर्न हो।

लेखन शैली, वाचनकला, प्रस्तुति(सचेतता यहाँका लेखनका मुख्य प्रवाही र कारक ताकत हुन्। राजनैतिक(वैचारिक सतहीपन, आदर्शगत रनभुल्ल, दार्शनिक अस्थिरता, आत्मविलाप, अतिभावुकता, अयथार्थीय रुमानीपन यसका कमजोर पक्ष हुन्। अन्धा भएर स्थापित जड़ मूल्यमान्यतालाई शिरोपर गर्ने एउटा समर्पणवादी प्रवृत्ति पनि हावी नै छ।

अखिल भारतीय साहित्यसँगै तुलना गर्दा नेपाली भाषाको साहित्यको स्थान, सम्बन्ध वा किनारीकरणको अवस्था कस्तो छ ?

राष्ट्रिय र अन्तर्राष्ट्रिय साहित्यको स्तरमा उकासिनु हो भने नेपाली भारतीय साहित्य माटो, हावा, रगत, पसीना, आँसुकै साहित्य हुन जरूरी छ। साहित्य न कस्मेटिक लेखनले सुन्दर बन्ने हो न नै प्लास्टिक लेखनले कामलाग्दो। साहित्य फस्टाउने भनेकै अर्थपूर्णता, सरोकार र सान्दर्भिकताले हो। खासमा साहित्य काम लाग्ने हुनुपर्छ।

साहित्य लेखिने भाषाले उस्तो फरक पार्दैन। सार र अनुहार दुवै छन् भने आफसेआफ त्यो दुनियाँको चक्कर काट्तछ। जसरी भारतको पाश, अमृता प्रितम, ठाकुर, मुक्तिबोध, अरून्धती छन्। भारतबाहिरबाट नेरूदा, सार्त्र, हिनी, इब्सेन, ब्रेख्त, मार्खेज, अचेबे, हिक्मत, दर्वेश छन्।

भारतीय नेपाली साहित्यमा पछिल्लो समय युवा कविहरुको हस्तक्षेप जबर्जस्त देखिन्छ । युवाहरुको स्वर विद्रोही सुनिनाको कारण के हो ?

नेपाली भारतीय साहित्यमा युवा कविहरूले गर्नलागेको हस्तक्षेप वास्तवमा अगिल्लो पुस्ताले रित्तै छाड़िदिएको स्पेसको बदौलत हो। अगिल्लो पुस्ताको मौनता ‘सामाजिक भद्रता’ जस्तो देखिएता पनि मौनताको संस्कृतिले समाजलाई भलो गर्नुको सट्टा बिगार नै गरेको हो। गणतान्त्रिक मूल्यको क्षरण र हरण कस्तै पनि विकट र व्यतिक्रमी परिस्थितिमा पनि मान्छेको चुपो लागेर बस्ने संस्कारले गर्दा पनि सम्भव भएको हो। सत्तालाई कत्ति सजिलो अब।

जे गरे पनि जसो गरे पनि आइय्या आत्था नभनी मौन बस्ने जनतालाई जता घुमाउँदा पनि भयो। नेपाली भारतीय नागरिकको राष्ट्रिय पहिचानको मुद्दादेखि लिएर भित्री र बाहिरी माइग्रेशनको मुद्दा, इम्मिग्रेसनको मुद्दादेखि लिएर वर्गशोषणको मुद्दा, चियाकमानको मुद्दादेखि लिएर कुलैनबारीसम्मको मुद्दामा योजनाबद्ध वा स्वतःस्फूर्त ढङ्गमा चुप नेपाली भारतीय साहित्यको अग्रज पुस्ता (केही अपवाद छाड़ेर) बाट आजको पुस्ताको लेखक हारेको महसुस गर्दछ।

ऊ अब विद्रोहको मूडमा छ। आफ्नै बुद्धिजीवी, नेता, संस्कृतिविद, शिक्षक र साहित्यकारहरूबाट ठगिएको ट्र्याजिक समाजलाई चेतनाको ढकनी उघारिदिन साहित्यको गैंती चलाउने समयबोध छ। साहित्यलाई गणतान्त्रिक र कामलाग्ने बनाउने हस्तक्षेपी अपीलले बिस्तार र्‍याडिकल रूप धारण गरिरहेको अवस्था छ।

तपाईंहरुले इन्द्रबहादुर राईलगायत अग्रज पुस्ताका लेखकहरुको वैचारिक आलोचना पनि गर्दै आउनुभएको छ । अघिल्लो पुस्ता खासमा कुन कारणले आलोच्य देख्नुभएको हो ?

यो प्रश्नको उत्तरको एकांश यसअघिको प्रश्नको उत्तरमै छ। साहित्यको अघिल्लो पुस्ताले समाजलाई चाहिने एलिमेण्ट त दिएन दिएन, साहित्यबाट जमीनी यथार्थको कच्चा माल समेत निकालिदियो। यहाँ मैले जेनेरलाइज्ड कुरा गरिरहेको हुँ। थोरै सङ्ख्यक साहित्यकार पनि छन् अघिल्लो पुस्तामा जो कुनै होड़बाजी, लबीबाजी, पुरस्कारबाजीजस्ता निकृष्ट काममा नलागी र कुनै सत्तातन्त्रमुखी प्रलोभनमा नफँसी शब्दको छिनोमार्तोल हानिरहे।

तर ज्यादातर नै साहित्यलाई समाजदेखि पृथक् व्यापार बनाउन उद्यत रहे। साहित्य भनेको समाजलाई कामै नलाग्ने सुधो मान्छे, समाजको मर्मै नबुझ्ने भलाद्मी र समाजको सरोकारै नराख्ने सभ्य प्रजातिले गर्ने आत्मालाप, आत्मश्लाघा, आत्मरति र आत्मरोदनको लीलाखेल बन्यो। विज्ञानको सौन्दर्य अवतार साहित्यलाई शब्दको खेल बनाइयो। अल्छीलाग्दो तिकड़मबाजी।

यसले साहित्य उति काम नहुने, रुञ्चेपिञ्चे, चलाक चङ्खो मान्छेले यसो मनफूर्तिको निम्ति गरेको मनविलास र टाइमपास भयो जनताअघि। आन्दोलनकै बेला पनि साहित्यले गरेको सतर्क मौनधारणले जनतालाई साहित्यप्रति विरक्त र सशङ्कित नै बनायो।

भारतीय नेपाली युवा कविहरुको लेखनमा कुनै न कुनै रुपमा प्रतिरोध चेतना बुनिएको हुन्छ । के त्यो भारतीय नेपाली समुदायको प्रतिरोध चेतनाको प्रतिबिम्बन हो ?

त्यो भारतीय नेपाली समुदायको प्रतिरोध चेतनाको प्रतिबिम्बनको प्रयाससम्म चाहिँ हो। जुनसुकै क्षेत्रको प्रतिरोधको चरित्र राजनैतिक हुने गर्छ। यताको साहित्य राजनैतिक रूपले म्याचुर हुन अझ सकिरहेकै छैन। आदर्शगत भटकाउ र राजनैतिक बहकाउ प्रवृत्तिले गर्दा यताको साहित्यमा चाहिएको ग्रोथ रेट छैन।

तपाईं कविता लेखनकै क्रममा नेपाल पनि पटकपटक आउनेजाने गर्नुभएको छ । नेपालको साहित्यिक परिवेशलाई कस्तो महसुस गर्नुभएको छ ?

नेपालमा साहित्यिक परिवेशबारे नेपालकै चलेको शब्दमा भनौँ ( बबाल। मलाई सबैभन्दा मनपरेको कुरा हो– अन्तर्क्रिया, छलफल र बहसको वातावरण। स्टेजमा वैचारिक काटामार भएका कवि लेखकहरू चिया पसलहरुमा सँगै सिगरेट फुक्दै चिया खाँदै गरेका भेटिन्छन्। तरै पनि नेपालको साहित्यिक माहौलमा नजानिँदो तवरमा स्टेरियोटाइपिङ, स्याचुरेशन र मोनोटोनसनेस आइरहेको हुनसक्छ। यतातिर नेपालका सर्जक साथीहरूले ध्यान दिनुपर्ला।

भारतीय नेपाली साहित्य र नेपालको साहित्यबीचको भिन्नता वा समानता कस्तो पाउनुहुन्छ ?

भिन्नता छ र समानता पनि छ। लेखनमा गहिरो कालबोध, इतिहासबोध र मानवीय पक्षधरता समानताका मिलनविन्दु हुन्। नेपालको साहित्यमा प्रगतिवादी आदर्शको ठूलै धरोहर रहेता पनि अहिले आएर दुवैतिरको लेखनको धुरी भनेको राष्ट्रिय मुक्तिको मुद्दा हो। जसमा आम उत्पीड़ित मान्छे कोइकोइबेला हराउँछ पनि। अवहेलित कमजोर लिङ्ग पनि कहिलेकाहिँ किनार लाग्दछ। बोल्डनेस र स्ट्रेथफर्वर्डनेस आज दुवैतिरका साहित्यका क्लु भएका छन्।

भिन्नताको कुरा गर्दा नेपालमा कथा(उपन्यास बढ़ी चलेको छ। नेपाली भारतीय साहित्यमा छाएको त कवितै हो। नेपालको लेखनमा विचारप्रधानता र स्तरीयता चेतनाले प्रमुखता पाइसकेको अवस्था छ। यताको लेखन चाहिँ विचारलाई केन्द्रमा राख्ने कोशिशका प्रस्थानविन्दुतिरै छ। लेखनलाई विचारकेन्द्रमुखी बनाउने अभ्यासमा लेखन अभियान ‘हस्तक्षेप’ सचेत र प्रतिबद्ध हिसाबमा लागिसकेको छ।


साभारःमूल्याङ्कन–बाट

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया