लोकसभा चुनाउ-2019-लाई लक्ष्य गर्दै सांसद आउँदैछन् दार्जीलिङः आउन अघि गोर्खाल्याण्डबारे अडान स्पष्ट गर- विनय

दार्जीलिङः दिल्ली सूत्रले बताए अनुसार केही दिन अघि दिल्लीमा भएको भाजपाको बैठकमा लोकसभा चुनाउ-2019-को लागि दार्जीलिङ सिटको निम्ति रणनीति तय गरिएको छ।

16 अक्टोबरको दिन दिल्लीमा विमल गुरूङ समूहलाई लिएर हुने बैठक पनि यसैलाई केन्द्रमा राखेर राजनाथ सिंहले तय गरेका हुन्। सूत्र अनुसार बैठकमा छुट्टै राज्य होइन पहाडको विकासको सन्दर्भमा नै कुरा हुनेछ। जहाँ मोर्चाको पक्षबाट जीटीएले जनताको आकांक्षा पुरा नगर्ने बताइने भएको छ भने पहाड सुहाउँदो विकास इकाईबारे संवाद शुरु गर्ने पक्षमा केन्द्र रहेको छ।

यता केन्द्रको यसै चलखेललाई रोक्न बङ्गालका मुख्यमन्त्री ममता व्यानर्जीले हतारसित विनय तामाङ समूहलाई जीटीए-2 प्रदान गरेकी हुन्। 16 अक्टोबरको दिन दिल्लीमा हुने बैठकमा विनय तामाङको समूह गए मात्र राज्य सरकारले अंशग्रहण गर्ने बताइएको छ।

यता पहाड सुहाउँदो विकास इकाईबारे केन्द्रले विमल गुरूङ समूहसित कुरा अघि बढाउने अनि यसैलाई 2019 को चुनाउमा दार्जीलिङको सिट सुनिश्चित गर्ने गोटीकोरूपमा प्रयोग गर्ने रणनीति अप्नाएको छ। दार्जीलिङका सांसद एसएस अहलुवालिया अनि बङ्गाल भाजपा अध्यक्ष दिलिप घोषलाई यसको निम्ति परिस्थिति तयार पार्ने जिम्मा दिइसकिएको पनि दिल्ली सूत्रले बताएको छ।

दिलिप घोष र एसएस अहलुवालिया यसै रणनीति अनुसार दार्जीलिङ भ्रमणमा आउने भएका छन्। यता जीटीए-2 का प्रशासक विनय तामाङले उनीहरू आउन अघि नै दुवै भ्रमणकारीहरूलाई सतर्क गराएका छन्।

आउन अघि भाजपाको गोर्खाल्याण्डबारे अडान स्पष्ट गर

तामाङले जारी गरेको भोइजक्लिप प्रेस विज्ञप्तिमा बङ्गाल भाजपा अध्यक्ष दिलीप घोष अनि सांसद एसएस अहलुवालिया दार्जीलिङ भ्रमणमा आउन अघि गोर्खाल्याण्डलाई लिएर भाजपाको राजनैतिक अडान स्पष्ट गरेर मात्र आउने अनुरोध गरेका छन्।

‘2009 मा पनि गोर्खाल्याण्डको लागि भाजपालाई जितायौं, 2014 पनि। दुवै चुनाउको मेनिफेस्टोमा भाजपाले पहाडको पुरानो माग भनेर त लेखे तर अहिलेसम्म भाजपाको गोर्खाल्याण्डबारे आफ्नो अडान स्पष्ट छैन,’ तामाङले भने, ‘दुवैले पहाड पस्न अघि त्यो अडान स्पष्ट पार्नुपर्छ। नत्र हामी विरोधमा सडक उत्रनेछौँ।’

तामाङले भर्खर शान्ति छाएको पहाडमा फेरि अशान्ति गर्न भाजपाले प्रतिनिधिहरू पहाड पठाइरहेको आरोप पनि लगाएका छन्।  ‘उनीहरू कुनै समूहलाई, पुराना नेता भेट्न, ब्लेसिङ दिन आउँदैछन्, यसकारण पहाडमा ल एण्ड अर्डर-को समस्या हुन सक्छ,’ तामाङले भने, ‘उनीहरू अडान स्पष्ट नगरी आए र जनताले विरोध गरे हामी दायी हुने छैनौं।’

तामाङले घोष र अहलुवालिया दुवै गोर्खाल्याण्ड बिरोधी रहेको पनि किटान गरेका छन्।

‘28 जुनको दिन अमित शाहाले गोर्खाल्याण्डबारे नसोचेको बताएका छन्। 31 अगस्तको दिन अहलुवालियाले त्रिपुरामा बङ्गाल विभाजन हुँदैन भनेका थिए,’ उनले भने, ‘दिलिप घोषले पनि अघिल्लोपल्ट पहाड आउँदा बङ्गाल विभाजन हुँदैन भनेका थिए। दुवैले माफ माग्नुपर्छ र दलको अडान स्पष्ट पारेर पहाड आउनुपर्छ। अडान स्पष्ट नगरे जनता सडक उत्रनेछन्, त्यसको दायी हामी बन्नेछैनौं।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन