विमल गुरूङको पतनः …मङ्गले आफ्नै ढङ्गले

अनित थापा


विमलको हिंसा नै पतनको बाटो

गोजमुमो अध्यक्ष विमल गुरूङ अनि विनय तामाङ तथा अनित थापामाझ मत भिन्नता त्यस समयदेखि शुरू भएको हो, जुनबेलादेखि गोजमुमो अध्यक्ष विमल गुरूङले गोर्खाल्याण्ड प्राप्तिको निम्ति पार्टीको मूल सिद्धान्त गान्धीवादी नीति त्यागेर हिंसात्मक एवं अगणतान्त्रिक मार्ग अप्नाए।

गोर्खाल्याण्डको निम्ति विमल गुरूङले पूर्णरूपले हिंसात्मक आन्दोलनको मार्ग अप्नाए जुन मार्ग 1986 मा नै गोरामुमो नेता सुवास घिसिङले अप्नाइसकेका हुन्। हिंसात्मक आन्दोलनको पद्धति 1986 सालमा  नै पूर्णरूपले विफल भएको हो तथा 1200 सयभन्दा अधिक गोरखाहरू शहीद भएका हुन्। हिंसात्मक आन्दोलन पूर्णरूपले विफल भएको कारणले नै त्यसबेला दागोपापमा फूल एण्ड फाइनल सेटेलमेण्ट गर्न बाध्य बनेका हुन्। हिंसात्मक आन्दोलनतिर लागेको कारण नै अहिले विमल गुरूङ पनि घिसिङजस्तै पूर्णरूपले विफल भएका छन् र उनीमाथि विभिन्न प्रकारका मुद्दाहरू लागेका हो।
भारतजस्तो वृहत गणतान्त्रिक देशमा हिंसात्मक आन्दोलनद्वारा राज्य प्राप्त गर्नु कदापि सम्भव छैन। वास्तवमा हालैमा गठन भएको तेलेङ्गना राज्यकै सन्दर्भमा हेर्ने हो भने पनि,  हिंसात्मक आन्दोलनले कुनै फल प्राप्त नभएपछि उनीहरूले गणतान्त्रिक पद्धति अप्नाउँदै सरकारसित वार्ता अनि लवीको पद्धति अप्नाए। यसपछि मात्रै तेलेङ्गना राज्य गठन भएको हो।

विनय तामाङ अनि अनित थापा वास्तवमा विमल गुरूङको विरूद्ध छैनन्। आजसम्म पनि म उनलाई गोजमुमो अध्यक्षको रूपमा लिने गरेको छु। तर म यो पनि स्वीकार गर्न चाहन्छु कि विमल गुरूङ अचानकको संयोगले जन्माएका नेता हुन्। उनी 2007 सालको इण्डियन आइडल प्रशान्त तामाङको प्रकरण अनि स्व. सुवास घिसिङमाथि रहिआएको जनाक्रोशले जन्माएका नेता हुन्। स्व. सुवास घिसिङले 2007 सालमा विमल गुरूङको पदार्पणपछि राजनीतिबाट सन्यास लिएका थिए। बुद्धिजीवी तथा राजनीतिसित सम्बन्धित धेरैजना मानिसहरूको भनाईअनुसार  वास्तवमा सुवास घिसिङ दागोपापमा अडिट गराउन डराएका थिए जो उनको 21 वर्षे शासनकालमा कहिल्यै भएन। यही डरले गर्दा पनि उनले विमल गुरूङलाई बाटो छोड़िदिए।

2007-2011 सालमा गोर्खाल्याण्ड मुद्दालाई केन्द्र सरकारसम्म पुऱ्याउन सफल हुनुको पछिल्तिरको श्रेय गोजमुमो अनि विमल गुरूङले गान्धीवादी गणतान्त्रिक सिद्दान्तलाई नै दिनुपर्छ।

राज्य अनि केन्द्र सरकार उनको गान्धीवादी गणतान्त्रिक आन्दोलनमाथि विश्वास अनि सम्मान गर्दथे यसैले उनीसित खुल्लारूपमा वार्तामा अघि आएका थिए। तर विमल गुरूङको मन-मस्तिष्कभित्र सधैँ उग्रवादी विचार जीवित रहिरह्यो जसले 2007 देखि 2011 सालतिर पनि विभिन्न  हिंसात्मक क्रियाकलापहरू गराइरह्यो।

यही कारणले नै गोर्खाल्याण्डको निम्ति शुरू भएको त्रिपक्षीय वार्ता विमल गुरूङले अन्तरिम व्यवस्था जीटीएमाथि थन्काउन बाध्य बने जसरी 1986 मा सुवास घिसिङले दागोपापमा थन्काएका थिए।
2007-2011 मा गोर्खाल्याण्डको निम्ति शुरू गरिएको त्रिपक्षीय वार्ता आफ्नै हिंसात्मक अनि उग्र विचारधाराकै कारण अन्तमा विमल गुरूङले रोशन गिरीलाई गोर्खाल्याण्डको मागलाई ड्रप नगरी जीटीएमा हस्ताक्षर गर्न लगाए।
2013 सालामा तेलेङ्गना राज्य गठन भएपछि विमल गुरूङले फेरि दोस्रोपल्ट गोर्खाल्याण्ड आन्दोलन शुरू गरे।  आन्दोलनको शुरूआती चरणमै उनले जीटीए मुख्य कार्यपालको पदबाट राजीनामा पनि दिए। तर उक्त आन्दोलनमा 43 दिनको पहाड़ बन्दपछि उनले फेरि जीटीए नै स्वीकार्दै  मुख्य कार्यपालको पदभार पनि ग्रहण गरे।

दिसम्बर 2013 मा उनी कलकत्ता गई राज्यपाल भवनमा जीटीए चीफको शपथ ग्रहण गरे अनि पहाड़ फर्किएर फेरि जीटीए सञ्चालन गर्न थाले।
2014 देखि 2017 सालसम्ममा उनले मुख्यमन्त्री ममता व्यानर्जीलाई कहिले प्रार्थना-बिन्ती गर्ने कार्य गरे त कहिले गाली दिने, सराप्ने कार्य गरे। उनले कहिले मुख्यमन्त्रीलाई आमा भने त कहिले बोक्सी पनि भने। यो नै विमल गुरूङको दुईमुखे प्रवृत्ति थियो।

 

शुरूदेखि नै भूमिगतः गान्धीको हातमा बन्दुक

उनले दिल्ली गएर केन्द्र सरकारका विभिन्न शीर्षस्थ मन्त्रीहरूसितै प्रधानमन्त्री नरेन्द्र मोदीजी अनि गृहमन्त्री राजनाथ सिहँसित पनि भेट गरी गोर्खाल्याण्डसितै विभिन्न विषयहरूमा वार्ता गरे। तर केन्द्र सरकारले उनको कुनै विषयहरूमा कार्य गरेनन्।

अन्तिम  वा निर्णायक आन्दोलन भनेर जून 2017 सालमा विमल गुरूङले गोर्खाल्याण्ड आन्दोलन थाले। राज्य सरकारद्वारा घोषित पश्चिम बङ्गालका विद्यालयहरूमा बङ्गला भाषाको अनिवार्य पठन-पाठन  यस आन्दोलनको मूल कारण थियो भने यसै मुद्दालाई उनले विस्तारै गोर्खाल्याण्ड आन्दोलनमा परिणत गरेका थिए।
2017 सालको यस आन्दोलनमा पनि जनताको व्यापक समर्थन देखिएतापनि आन्दोलनको पहिलो
दिनदेखि नै विमल गुरूङ भूमिगत अवस्थामा रहिरहे। आन्दोलनको पहिलो दिनदेखि नै भूमिगत अवस्थामा जङ्गल पस्नुपर्ने कुनै परिस्थिति उनको निम्ति बनिएको थिएन तर उनको मनमस्तिष्कमा रहिआएको पुरानो सपनाको कारण नै उनी आन्दोलनको शुरूआतदेखि नै भूमिगत भएर जङ्गल पसे।

गान्धीवादी गोर्खाल्याण्ड आन्दोलनलाई विमल गुरूङ उग्र आन्दोलनमा परिणत गर्न चाहन्थे। आफ्नो सभासद्लाई उत्तरपूर्वी क्षेत्रमा हतियार किन्न पठाउनु अनि केही चुनिएका युवाहरूलाई प्रशिक्षण दिनु आदिजस्ता क्रियाकलापहरूले पनि यो कुरा प्रमाणित गर्दछ।
वास्तवमा पहाड़का तीनजना जन-प्रतिनिधिरूले शहीदहरूको अन्तिमयात्रा अनि श्रद्धाञ्जली ऱ्याली आदि कार्यक्रमहरूमा कहिल्यै भाग लिएनन्। ती जन प्रतिनिधिहरू हुन्- विमल गुरूङ, रोशन गिरी अनि सांसद एसएस आहलुवालिया।

गोर्खाल्याण्डको समर्थनमा व्यापकरूपमा जनता सड़कमा ओर्लिएको कारणले पुलिस प्रशासन धेरै दिनसम्म पछि हट्न बाध्य बन्यो। ती प्रदर्शनकारीहरूलाई पुलिस प्रशासनले महीना दिनभन्दा लामो समयदेखि जेलमा थुनेर राखेका छन् तर विमल गुरूङले भने  आजसम्म पनि पातलेबासदेखि दार्जीलिङ शहरसम्म चढ्ने हिम्मत गरेका छैनन्।

ढुङ्गा- मुढ़ाको राजनीति

सड़कमा उत्रिएर जनताको आन्दोलनलाई नेतृत्व दिनको साटो उनले आफ्ना अन्य नेताहरूलाई पनि उग्र एवं अगणतान्त्रिक क्रियाकलापहरू गर्ने निर्देश दिइरहेका छन्। यसैकारण पुलिस प्रशासनलाई पनि गोजमुमोका सबैजना नेता अनि कार्यकर्ताहरू विरूद्ध विभिन्न सङ्गीन मुद्दाहरू थोप्ने सुनौलो अवसर प्राप्त भइरहेको छ।
ऱ्यालीमा आउने समर्थकहरूलाई पुलिस प्रशासनमाथि ढुङ्गा- मुढ़ा गर्न लगाएको कारण नै प्रदर्शनकारीहरूले आफ्नो ज्यान गुमाउनु परेको हो। सबैले यो कुरालाई ध्यान दिनु आवश्यक रहेको छ कि, कालेबुङ अनि खरसाङका स्थानीय नेतृत्वहरूले पुलिस प्रशासनमाथि ढुङ्गा- मुढ़ा गर्ने विमल गुरूङको आदेशलाई स्वीकार गरेनन्, यही कारण उक्त दुईक्षेत्रमा कुनै पनि प्रदर्शनकारीहरूले ज्यान गुमाउन  परेन।

विमल हत्या चाहन्थे

वास्तवमा प्रत्यक्षरूपमा विमल गुरूङ प्रदर्शनकारीहरूको मृत्यु भएको चाहन्थे अनि यसैकारणले यो माटोले खून माग्दैछ र तिमीले खून दिनुपर्छ भनेर आफ्ना समर्थकहरूलाई घरिघरि भनिरहन्थे।
जब विनय तामाङले अघि आएर आफू अनशनमा बस्ने धारणा अघि ल्याए त्यसबेला पनि विमल गुरूङले नै विनय तामाङलाई रोकेका थिए।

त्यसबेला विनय तामाङले जनतालाई कुनै मर्का अनि कष्ट नदिई आन्दोलनलाई अघि लानुपर्छ भनी विमल गुरूङलाई भनेका थिए, तर विनय तामाङलगायत धेरैजना नेताहरूको गणतान्त्रिक रणनीति अनि सुझाउहरूलाई उनले अनसुना गरिदिए।

विमल गुरूङले आफ्ना कर्मठ नेतृत्व एवं सक्रिय कार्यकर्ताहरूको विरोधमा उनका चम्चाहरूको स-साना पोलहरू पनि सुन्ने अनि बिना छानबीन उनीहरूमाथि कार्वाही गर्थे। आफ्नो निजी स्वार्थ पूरा गर्ने उद्धेश्यले उनका चम्चाहरूले विनय तामाङ अनि अनित थापाविरूद्ध पनि यस्तै नकरात्मक पोलहरू सुनाइदिए।

यसपछि दुई नेताहरूविरूद्ध गुरूङले राज्य सरकारसित मेलमिलाप रहेको आशङ्का व्यक्त गर्न थाले। वास्तवमा यी दुई नेताहरू आफ्नो पार्टी अनि पार्टी अध्यक्षलाई उक्त कठोर परिस्थितिबाट बचाउन चाहन्थे। तर अनि दिल्लीमा बसिरहेका कतिपय नेतृत्वहरूले आफ्नो पद बचाउनुको निम्ति गुरूङको कानमा बिख घोल्ने कार्य गरिदिए अनि अन्तमा आएर विमल गुरूङको यही नै ठूलो कमजोरी सिद्ध भएर गयो।

श्रङ्खलाबद्ध बमः फिल्मको इन्ड
2017 को अगस्त महीनामा पहाड़मा श्रङ्खलाबद्ध बम बिस्फोटको घटना नै विमल गुरूङको पतन सिद्ध भयो। किनभने यसै समय गुरूङले गोर्खाल्याण्डको वास्तविक फिल्म शुरू हुन लागेको तथा माटोले खून  मागिरहेको छ भन्ने उग्र बयानहरू सार्वजनिक गरेका थिए। उनका यही वयानहरू नै पहाड़मा उग्र आन्दोलन सल्किनुको पछिल्तिरका  कारक तत्त्वहरू थिए।

उक्त बम विस्फोटको घटनापछि विमल गुरूङविरूद्ध यूएपीए मुद्दा जोड़िन पुग्यो र त्यही समयदेखि उनी सधैँको निम्ति भुमिगत बन्न बाध्य बने।आन्दोलन अनि उग्रवादमा धेरै पातुलो भिन्नता रहिआएको हुन्छ यो कुरा उनले गलत प्रकारले बुझे, उनको ठूलो दुर्भाग्य यही भयो। अब राजनैतिक मूलधारातिर आउने हो भने विमल गुरूङले सर्वप्रथम कानूनसमक्ष आत्मसमर्पण गर्नु आवश्यक रहेको छ।

कानूनसमक्ष आत्मसमर्पण गरेर त्यहीँदेखि गोर्खाल्याण्ड आन्दोलनको सङ्घर्षलाई निरन्तरता दिनुमात्रै अब उनीसमक्ष विकल्प बाँचेको छ। 2007 देखि 2017 सम्ममा विमल गुरूङको तीन चरणको रणनीतिविहिन गोर्खाल्याण्ड आन्दोलन अनि विफलतालाई हेर्दा विमल गुरूङबाट गोर्खाल्याण्ड राज्य गठन सम्भव छैन भन्ने हामी अनुमान भन्न सक्छौं।

गुरूङ राष्ट्रियस्तरको राजनीति बुझ्न अनि पार्टीमा शक्ति विकेन्द्रिकरण गर्न उनी असक्षम छन् भन्ने प्रमाणति हुन्छ।

जीटीए- 2-को भ्रम

वर्तमानमा लामो बन्दले प्रभावित पहाड़मा स्वाभाविकता अनि शान्ति स्थापना गर्न जीटीएको बोर्ड अफ एडमिनिस्ट्रेशनलाई जीटीए- 2 भन्ने जुन हल्ला फैलिरहेको छ त्यो सरासर भ्रामक अनि गलत बुझाई हो। 2012 मा बनिएको जीटीएकै कानूनको 17 नम्बर बूँदामा उल्लेखित- जीटीएको पाँचवर्षे चुनाउमार्फत चुनिएका सदस्यहरूको मियाद समाप्त भइसकेपछि नयाँ चुनाउ नभइञ्जेल राज्य सरकारले 6 महीनासम्म अथवा अझ आवश्यकता परे 4 महिना लम्बाएर 1 वर्षसम्मको निम्ति बोर्ड अफ एडमिनिस्ट्रेशन गठन गरी जीटीए सञ्चालन गर्न सक्ने प्रावधान रहेको हुनाले नै बोर्ड अफ एडमिनिस्ट्रेशन गठन गरिएको हो।

यसर्थ बोर्ड अफ  एडमिनिस्ट्रेशनद्वारा सञ्चालन भइरहेको जीटीए-2 नभएर यो एकदमै सीमित अवधिको निम्ति बनाइएको बोर्डमात्रै हो। बोर्ड अफ एडमिनिस्ट्रेशनको छोटो अवधि समाप्त भइसकेपछि फेरि जीटीए नै क्षमतामा आउनेछन् भन्ने पनि होइन किनभने यो पनि एउटा अन्तरिम व्यवस्थामात्रै रहेको कुरा पनि जीटीएको कानूनमा नै उल्लेख रहेको छ।  तर विनय तामाङ अनि अनित थापा कुनै अन्तरिम व्यवस्था होइन कर पहाड़को समस्याको स्थायी समाधानको लक्ष्य लिएर अघि बढिरहेका छन्।

विनय-अनितको रणनीति
अहिलेलाई उक्त अन्तरिम प्रशासन स्वीकारेर गोर्खाल्याण्डको निम्ति वार्ता खुल्ला गर्ने अनि कुशल प्रशासनको परम्परा स्थापना गर्ने विनय तामाङ अनि अनित थापाको रणनीति रहेको छ। यो जीटीए- 2 कदापि होइन तर दोस्रो चुनावी व्यवस्था नभइञ्जेलसम्मलाई छोटो अवधिको निम्ति प्रशासनिक औपचारिकताहरू पूरा गर्ने अन्तरिम प्रशासनमात्रै हो भन्ने कुरा जनताले बुझ्न अति आवश्यक रहेको छ। महत्वपूर्ण कुरा के रहेको छ भने मुख्यमन्त्री ममता व्यानर्जी पनि गोर्खाल्याण्ड मुद्दासित पूर्णरूपले अवगत भइसकेकी छिन् र पहाड़को समस्याको स्थायी समाधान हुन आवश्यक छ भन्ने कुरा बुझिसकेकी छन्। यसर्थ अबको चुनाउ जीटीएको नै हुन्छ भन्ने पनि छैन। किनभने पहाड़को स्थायी समाधानको दिशातिर पहल भइरहेको छ।

किन असफल भयो आन्दोलन-3?
अब पहाड़को जनता अनि गोजमुमोले विमल गुरूङलाई गोर्खाल्याण्डको निम्ति उनको कस्तो रोडम्याप तयार छ भनेर सोध्ने समय आएको छ। किनभने 2007 देखि 2017 सम्ममा जम्मा तीन चरणको आन्दोलन पूर्णरूपले असफल भइसकेपछि अब उनकोमा गोर्खाल्याण्डको निम्ति कुनै ठोस अनि प्रभावशाली रणनीति रहेको छैन। अब उनकोमा हिंसात्मक क्रियाकलाप, उग्र आन्दोलन अनि साधारण जनतालाई मर्कामा पार्ने तथा अझै धेरैजनालाई शहीद बनाउने कार्यक्रमहरूमात्रै बाँचेका छन्। किनभने विमल गुरूङबाट अब बुद्धिजीवी, राजनीतिविद् तथा सचेत मानिसहरू टाँड़ा भइसकेका छन्, उनीसित अब आगजनी, ढुगाँमुढ़ा गर्ने अनि हिंसात्मक क्रियाकलाप गर्न रूचाउने
गुण्डाहरूमात्रै रहेका छन्।

जङ्गलबाट निस्क
गोजमुमोका सबै नेतृत्ववर्ग एवं पहाड़को जनता विमल गुरूङले तयार पारेको गर या मर गोर्खाल्याण्ड आन्दोलनको ब्लु-प्रिण्ट अनि जङ्गलबाट बाहिर निस्किएर उक्त आन्दोलनको नेतृत्व गरेको हेर्न चाहन्छन्। उक्त आन्दोलनको निम्ति उनी पूर्ण समर्पणको साथ तयार छन् भने उनी जेल पनि जान सक्नुपर्नेछ किनभने गोर्खाल्याण्डको निम्ति 2013 सालमै विनय तामाङ, अनित थापालगायत 120 भन्दा धेर गोर्खाल्याण्ड आन्दोलनकारीहरू जेल गइसकेका छन्।

विमल गुरूङ धेरैपल्ट दिल्ली गएर केन्द्र सरकारसमक्ष गोर्खाल्याण्ड राज्य गछनको निम्ति कमिटी गठन गरिनुपर्ने माग तथा 11 वटा जातगोष्ठीलाई जनजातिको दर्जा दिनुपर्ने, पहाड़मा केन्द्रिय विश्वविद्यालय निर्माण गरिनुपर्ने आदि मागहरू राखे।  तर भाजपा सरकारले उनलाई कहिल्यै महत्व दिएनन्। उनी दिल्लीबाट जहिल्यै पनि मन्त्रीहरूसित खिचेको फोटो अनि आश्वासनको पोकोमात्रै लिएर पहाड़ फर्किए।

सही बाटो फर्काउने अभियान
विनय तामाङ अनि अनित थापा तथा अन्य सचेत नेतृत्वहरूले धेरैपल्ट विमल गुरूङलाई सही मार्गमा ल्याउने प्रयास पनि गरेका हुन्। तर उनले उनीहरूको कुरा जहिल्यै पनि अनसुना गरिदिए र पातलेबाँस कार्यालयमा उनीसित बस्ने नजीकका सहयोगी तथा ठेकेदारहरूको कुरामात्रै सुनिरहे।

विमल गुरूङकै ढीट स्वभाव, नकरात्मक प्रवृत्ति अनि धुपौरेहरूको पोल सुन्ने स्वभावको कारणले गर्दा पहाड़का शीर्षस्थ एवं प्रतिष्ठित नेतृत्वगहरूले गोजमुमो पार्टी त्याग गरे अनि बुद्धिजीवी तथा सचेत व्यक्तिहरूको सुझाउ- सल्लाह नमानेको कारणले गर्दा नै दार्जीलिङ पहाड़ अनि पहाड़वासीको भविष्य तथा गोर्खाल्याण्ड आन्दोलन अन्धकारमय भएको हो।

(लेखक  जिटीए  बोर्ड अफ एडमिनिस्ट्रेशन-का भाइसचेयरम्यान हुन्)

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन