त्रिपक्षीय वार्तामा जाने विमलः भने- राज्य नगए द्वीपक्षीय वार्ता हुनेछ

दार्जीलङः केन्द्र सरकारले बोलाउने भएको त्रिपक्षीय वार्तामा गोजमुमो अध्यक्ष विमल गुरूङले आफै भाग लिन चाहेका छन् अनि दिल्ली पुग्न उनले उचित माध्यम अप्नाउने पनि योजना बनाएका छन्। आज दार्जीलिङका पत्रकारहरुसित फोनमा सम्पर्क गरेर उनले भने,-‘केन्द्र सरकारको अनुरोधमानै गोर्खा जनमुक्ति मोर्चाले दार्जीलिङ पहाड़ बन्द खोलेको छ अनि 15 दिनभित्र त्रिपक्षीय वार्ता गर्ने भनेको छ।’

तर यस वार्तामा राज्य सरकारले भाग नलिए?

यो प्रश्‍नको उत्तरमा उनले भने, ‘यदि राज्य सरकारले त्रिपक्षीय वार्तामा भाग लिँदैन भने वार्ता द्विपक्षीय हुनेछ। जसमा केन्द्र सरकार र गोजमुमोको प्रतिनिधि सामेल हुनेछन्।’

यदि राज्य सरकारको अनुरोधमा उक्त त्रिपक्षीय वार्तामा पहाड़बाट जीटीएको बोर्ड अफ् एड्मिनिस्ट्रेटरका अध्यक्षका रूपमा विनय तामाङ आदिले भाग लिए, के गर्नुहुन्छ? भन्ने प्रश्‍नको उत्तरमा उनले भने, ‘विनय तामाङ निर्वाचित जनप्रतिनिधि होइनन्, तब उनले कुन अनि कस्तो क्षमताको आधारमा त्रिपक्षीय वार्तामा भाग लिन्छन्। यसैले केन्द्र सरकारले त्रिपक्षीय वार्ताको मिति तय गरे कसरी हुन्छ, दिल्ली जानेछु।’

यद्यपि, उनले अहिलेनै उक्त त्रिपक्षीय वार्तामा भाग लिने गोजमुमो टोलीका प्रतिनिधिहरुको नाम तय नभएको पनि बताए। ‘त्रिपक्षीय वार्ताको मिति तय भएपछि प्रतिनिधि टोलीको नाम घोषणा गरिनेछ अनि सम्भवतः म पनि वार्तामा जानेछु,’ उनले भने।

तर बङ्गाल पुलिसले तपाईंलाई पक्राउ गर्ने प्रयास गरिरहेको छ, यस्तो स्थितिमा तपाई कसरी दिल्ली जानुहुन्छ? भन्ने प्रश्‍नको उत्तरमा गुरूङले भने, ‘पुलिसले पक्राउ गर्छ, जेलमा हाल्छ भनेर मैले गोर्खाल्यान्डको आन्दोलन गरेका होइन। यसैले दिल्ली जानको लागि उचित मार्ग अप्नाउनेछु।’

यसैबीच, उनले भाजपा (भारतीय जनता पार्टी)-को शीर्ष प्रतिनिधि टोली कालेबुङ हुँदै आगामी 5 अक्टोबरको दिन दार्जीलिङ आइपुग्ने भएको पनि जानकारी पनि गराए।

‘यस भाजपा टोलीले गोर्खाल्यान्ड आन्दोलनको क्रममा शहीद भएका परिवारहरुसित पनि भेट गर्ने भएको छ साथै उनीहरुले आन्दोलनका सत्य तथ्यहरु पनि बुझ्ने भएको छ,’ उनले भने, ‘हामीले केन्द्रको भाजपा सरकारमाथिनै आस्था राखेका छौं अनि यसै सरकारले अलग राज्य गोर्खाल्यान्डको गठन गर्नेछ भन्ने पूर्ण आशावादी छौं। तर बङ्गाल सरकारले जहिले पनि अलग राज्य गोर्खाल्यान्डको विरोध गरिरहेको छ र यो सरकार चलाउने तृणमूल काङ्ग्रेस पार्टीले पनि यसको विरोध गरिरहेको छ। यसैले गोजमुमोबाट निष्कासित नेता विनय तामाङहरुले पनि भाजपा नेताहरुको पहाड़ भ्रमणको विरोध गराईबाट उनीहरु कुन पार्टीका हुन् भन्ने स्पष्ट भइसकेको छ। विनय तामाङ, अनित थापा आदि तृणमूल काङ्ग्रेसका नेताहरु भइसकेका छन्, यसैले उनीहरुले गोर्खाल्यान्ड दिने पार्टीको विरोधनै गर्छन्, यो स्पष्ट हो।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन