‘अब गोर्खाल्यान्ड होइन, हिमाली सुनकोश मेची अनि टिस्टा राज्य हुनपर्छ’

दार्जीलङः वर्ष 2023-भित्र हिसुमेटी (हिमाली सुनकोश मेची अनि टिस्टा) राज्य गठनको लक्ष्य लिएर अघि आएको गोर्खा एकता मोर्चाले जीटीएलाई पूर्णरूपले खारेज गर्ने माग उठाएको छ। गत जून महिनामा मात्रै अलग राज्यको मागमा गठन भएको गोर्खा एकता मोर्चाका उपमुख्य समन्वयक विकास राईले यस पार्टीको आन्दोलन पूर्णरूपले दस्तावेजको आधारमा हुने बताए।

उनले भने-यसअघिका विभिन्न राजनैतिक पार्टीहरुले गोर्खाल्यान्डको नाममा अलग राज्यको आन्दोलन गरे, तर ती सबै आन्दोलनहरूनै विफल भएका छन्। यति मात्रै होइन, गोर्खाल्यान्ड राज्यको माग उठाउँदा यो राज्य केवल गोर्खा समुदायको लागि मात्रै हो भन्ने पनि बुझिन्छ। यसैले हिमाली क्षेत्रलगायत सुनकोशदेखि मेची अनि टिस्टासम्म फैलिएको भू-भागमा बसोबासो गर्ने सम्पूर्ण जात-गोष्ठीको लागिनै अलग राज्य चाहिन्छ भन्ने बुझाउनको लागिनै हिसुमेटी राज्यको माग गरिएको हो।

यो नाम नौलो भएको कारण जनतालाई यसबारे बुझ्न केही समय अवश्यै लाग्नेछ, तर यो पूर्णरूपले गैर साम्प्रदायिक हो। उनले एक प्रश्‍नको उत्तरमा भने-अहिलेसम्म गोर्खाल्यान्ड राज्यको माग वा आन्दोलन केवल रिहर्सल मात्रै भयो, अब अन्तिम चरणको आन्दोलन हुनेछ, जुन पूर्णरूपले बौद्धिक अनि दस्तावेजको आधारमा हुनेछ। यसअघि गोर्खाल्यान्डको माग लिएर जति पनि राजनैतिक पार्टीहरु अघि आए, गोर्खाल्यान्डसम्म पुग्नको लागि ती पार्टीहरुको स्पष्ट रोडम्यापनै थिएन।

यसैकारण पनि अघिल्ला आन्दोलनहरु सबै विफल भएका हुन् अनि भर्खरै समाप्त भएको गोर्खाल्यान्ड आन्दोलन पनि बेकार बनेको छ। गोर्खाल्यान्डको लागि भनेर 104 दिन पहाड़ बन्द भयो, स्कूल-कलेज बन्द भए, जसको कारण विद्यार्थीहरुको पढाईमा ठूलो अड़्चन आएको छ, तर यी सबै बेकार भए। यी सम्पूर्ण कारणहरुले गर्दा पनि गोर्खा एकता मोर्चा अघि आउन परेको हो।

उनले आगामी नोभेम्बर महीनाको दोस्रो सातादेखिनै हिसुमेटी राज्यको लागि सरकारसमक्ष पत्राचार गर्ने, दस्तावेजहरु पेश गर्ने योजना बनाइएको पनि राईले बताए। यस अवधिसम्म पार्टीले आफ्नो सांगठनिक धरातल मजबुत बनाउने कार्य गर्नेछ। यद्यपि, उनले अहिले पनि दार्जीलिङ पहाड़, तराई अनि डुवर्समा यो पार्टी फैलिसकेको दाबी गरे। उनले भने-गोर्खा एकता मोर्चाले अलग राज्यको मागमा बन्द कहिले डाक्ने छैन, सरकारी सम्पत्तिहरु एउटै पनि नष्ट गर्नेछैन।

किनभने, बन्दले कुनै पनि समस्याको समाधान हुँदैन। भर्खरैको पहाड़ बन्दबाट पनि यो स्पष्ट भएको छ। आजको यस पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष अनुप राना, राष्ट्रिय समन्वयक दिपक प्रधान, केन्द्रिय समिति सदस्य अनिता सिंह, निमा ग्यात्सो शेर्पा आदि उपस्थित थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन