गोर्खाल्याण्डको नाममा नयाँ पार्टी कि नयाँ दोकान?

कालेबुङः विमल गुरूङले भर्खर जीटीए थापेका थिए। हल्ला चल्यो, छत्र सुब्बाले नयाँ पार्टी खोल्छ रे। छत्र सुब्बा भन्थे, ‘दूध बेच्छु माटो बेच्दिन, पानी बेच्छु जाति बेच्दिन।’

9 वर्ष जेल बसेर छुटेका छत्र सुब्बाको रगतमा नै राजनीति थियो। सपना पनि  राजनीति। छत्र सुब्बाले पार्टी खोल्ने दिन उनको घर पत्रकारहरूले घेरेका थिए, फाटकफुटुक मानिसहरूको जमघट पनि भइरहेको थियो।

छत्र सुब्बा कोठाबाट निस्किए र पत्रकारहरूलाई भने, ‘गोर्खाल्याण्डको लागि जनताको समर्थन चाहिन्छ, मैले जनताले समर्थन गर्छ भन्ने आशा राखेको थिएँ, तर कोही पनि आएनन्। मलाई केवल प्रोभोक मात्र गरे। आजदेखि म राजनीतिबाट सन्यास लिँदैछु, उप्रान्त म गोर्खाल्याण्ड उच्चारण पनि गर्दिन, यसलाई लिएर राजनीति पनि गर्दिन।’

भनिएको थियो, पार्टी खोल्ने, घोषणा गरे राजनीतिबाट सन्यास।

त्यसपछि नयाँ पार्टी खोल्ने आँट कसैले गरेनन्।

तर 2015 देखि भने पहाडमा सानोस्वरमा नयाँ पार्टी खोल्ने परम्परा नै बस्यो। सानोस्वर अर्थात सानै चरित्रका। सानै घोषणा र रणनीतिका। नयाँ पार्टी मानौं, नयाँ दोकान हो। खोल्यो बस्यो। बिक्री भएन, दोकान बन्द।

दसैं हिन्दूहरूको मुख्य चाड त हो नै, राजनीतिमा चासो राख्नेहरूको लागि सल्बलाउने र नयाँ पार्टी खोल्ने सिजन पनि हो।

यसवर्षको दसैं छेक कालेबुङका कमल भट्टराईले गोर्खा युनाइटेड लिबरेशन फ्रन्ट खोले। नयाँ पार्टी खोलेर उनले भने, ‘राजनीतिमा पुरानो परम्परा रहिञ्जेल जनताले दुःख पाउनेछन्। हिंसा, आगजनी र गुण्डागिरीको बाटोमा हिँडेर छुट्टै राज्य बनिँदैन। गोर्खाल्याण्ड त टेबलवर्क हो, नयाँ पद्धति र बौद्धिकरूपले नै मुद्दा पार लाग्नेछ।’

अघिल्लो वर्ष दसैं छेक नै सिलगढीका कृष्ण छेत्रीले नयाँ पार्टी खोले। गोर्खा जन कल्याण मञ्च (गोजकम)। पार्टी खोलेपछि छेत्रीले भनेका थिए, ‘दार्जीलिङमा जनमुद्दा ( छुट्टै राज्य) बोकेर जुन जुन दल आए, सबैले जनताको सपनाको व्यापार गऱ्यो। प्रतिबद्ध रूपले जनताको सपनालाई सम्बोधन कसैले नगर्ने देखेपछि हामी अघि सरेका हौं।’

उनीभन्दा अघि परारको दसैं छेक अमर राईले नयाँ पार्टी खोले, प्रोग्रेसिभ पिपल्स पार्टी (पीपीपी)। राईले भनेका थिए, ‘पहिले पहाडको विकास हुनुपऱ्यो, त्यसपछि मात्र मूल मुद्दामा पुग्न सकिन्छ। अभावमा राजनीति हुँदैन। हाम्रो पार्टीको मूल एजेण्डा हो- पहाडको विकास।’

मजदुर सङ्गठनबाट चिनिएका अमर राईको पहाडको विकास गर्ने पार्टी एकै वर्षमा हरायो। अस्तित्व सङ्कट भोगिरहेको पीपीपीले न त जनमुद्दा अघि सार्न सक्यो, न त आफैं अघि सर्न सक्यो।

भर्खर 105 दिन अनिश्चितकालीन बन्द सकियो, कुरा 16 अक्टोबरमा दिल्ली र नवान्नमा बैठकमा पुगिसकेको छ। 11 जनाको ज्यान गयो। धेरै घाइते छन्। सैयौं जेलमा छन्।  यसबीच यी दुइ पार्टी पीपीपी र गोजकम दुवै सिनमा थिएन।

‘दार्जीलिङ जिल्लालाई लिएर मात्र छुट्टै राज्य गोर्खाल्याण्ड गठन गर्नु सम्भव छैन। दार्जीलिङ, कालेबुङ, अलिपुरद्वार अनि जलपाइगढी मिलाएर गोर्खाल्याण्ड राज्य बनाउन हामी आन्दोलन गर्नेछौँ’, भन्ने कृष्ण छेत्रीले 25 सेप्टेम्बरको दिन पार्टी नै विघटन गरेका छन्।

‘दुईपल्ट आमरण अनशन बसें, पहाडभरि पोष्टरिङ गरें, हजारौंलाई भेटें तर कसैले पनि इमान्दाररूपले मलाई सहयोग नै गरेन,’ पार्टी विघटन गरेपछि कृष्ण छेत्रीले दुःख पोखे, ‘मैले पैसा खर्च गरेर मुद्दा बँचाउन र आन्दोलन गर्न सकिनँ।’

कृष्ण छेत्रीसित नयाँ पार्टी खोलेको एक वर्षको अनुभव के होला? छेत्रीलाई लाग्छ, जोसित पैसा छ, राजनीति उसैले गर्न सक्छ।

‘90 प्रतिशत मानिसहरू, जति मलाई भेट्न आए सबैले नै पैसा मागे,10 प्रतिशत मानिसहरू मात्र मनैले गोर्खाल्याण्डप्रति समर्पित पाएँ,’ छेत्रीको अनुभव रहेछ, ‘पहाडमा जो पनि राजनीति गरिरहेका छन्, मुद्दा र जाति बेच्नेहरू हुन्। बङ्गालसित जो बिक्छ, उ नै पहाडमा टिक्छ। गोर्खाल्याण्डप्रति इमान्दार कोही नेता छैनन्, जनता पनि पैसाकै पछि मात्र छन्।’

उनलाई पहाडमा गोर्खाल्याण्डको आन्दोलन गर्न पैसा हुनुपर्ने अनुभव छ। भन्छन्, ‘डा. हर्कबहादुर छेत्रीहरूसित कति पैसा छ, त्यतिञ्जेल जाप बाँच्छ। विनय, अनितहरू बेचिएकैले बाँचिरहेका छन्।’

पीपीपी खोलेर बसेका अमर राईलाई अहिले राजनीति गर्ने सही समय हो भन्ने लाग्दैन। उनको दलको पञ्जिकरण प्रकिया चलिरहेको छ। ‘यो प्रक्रिया सकिएपछि तिहारपछि दललाई सक्रिय गर्नेछौँ,’ अमर राई भन्छन्, ‘तिहारपछि दलको बैठक हुनेछ।’

आन्दोलन अवसानतिर गइसकेको छ। विनय तामाङहरू जीटीएतिरै फर्किएका छन्। विमल जङ्गलमा नै छन्। जनता 105 दिने बन्दले पीडित छन्। आर्थिक समाज भत्किसकेको छ, तरै पनि पीपीपी मौन?

अमर राई ‘मौनता पनि गतिलो राजनीति हो’ भन्छन्। तिहारपछि उनको मौनता तोडिने हो कि?

ठिक दसैको छेकमा लगभग गोरामुमोकै झण्डामार्का झण्डा बोकेर आएका कमल भट्टराई भन्छन्, ‘अब राजनीति पहाडमा गरेर हुँदैन, दिल्लीमा गर्नुपर्छ। जनतालाई दुःख दिएर, झण्डा बोकाएर होइन पुरै दस्तावेजसित दिल्लीमा बौद्धिकतासित आन्दोलन गर्नुपर्छ।’

उनकै चरित्रका सिद्धान्तसित आएका कृष्ण छेत्रीले पार्टी विघटन गरे। पीपीपी कतै सिनमा छैन। यसपालि गल्फ (गोर्खा युनाइटेड लिबरेशन फ्रन्ट) यसरी आएको छ कि यसको कतै चर्चा छैन। न त यो दल नै प्रभावशालीरूपले आएको छ, न त क्षमताशील नेतृत्व नै यस दलमा देखिन्छ। यस्तोमा कमल भट्टराईहरूको नयाँ दोकान चल्ला त?

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन