भाजपा नेताहरूलाई स्वागत जनाइदिने विमलको अपिलः उनीहरू बङ्गालको तानाशाह हेर्न आएका हुन्- विमल

कालेबुङः भाजपा राज्य अध्यक्ष दिलिप घोषलगायतका अन्य नेताहरू अनि दार्जीलिङका सांसद एसएस अहलुवालिया 4 अक्टोबरको दिन कालेबुङ अनि 5 अक्टोबरको दिन दार्जीलिङ आइपुग्ने विमल गुरूङले जानकारी दिएका छन्।

‘104 दिनको अनिश्चितकालीन बन्दमा आफूहरूले भोगेको कुरा सुनाउन सबैले उनीहरूलाई सडकमा निस्किएर स्वागत जनाइदिने म अपिल गर्छु,’ विमल गुरूङले भोइजक्लिप विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘खरसाङ र दार्जीलिङमा पनि यसरी नै सडकमा निस्किएर उनीहरूलाई स्वागत जनाइदिउन्, 11 जनाले गोली खाएका छन्, जनताले धेरै दुःख भोग्नु परेको छ, सबै सुनाइदिउन्। उनीहरू बङ्गालको तानाशाह हेर्न आएका हुन्।’

गुरूङले भाजपा नेताहरू दार्जीलिङको स्थिति बुझ्न आएको बताएका छन्। उनीहरूले दार्जीलिङको वास्तविकताबारे बुझिसकेपछि 5 अक्टोबरपछि मोर्चाले उनीहरूसित दार्जीलिङमा नै बैठक गर्ने पनि उनले जनाएका छन्।

‘बङ्गालको तानाशाह, शोषण दमनबारे उनीहरूलाई बताइनेछ,’ उनले भनेका छन्, ‘हाम्रो लडाईँबारेको कुरा केन्द्र सरकारमा राखिनेछ। शीघ्र नै सामाधानको माग गर्नेछौं।’

उनले भाजपाका प्रतिनिधिहरूले दार्जीलिङको समस्या बुझेपछि मोर्चा र भाजपाबीच समस्यालाई केन्द्र गरेर आदानप्रदान हुने पनि बताएका छन्।

स्थापना दिवस धुमधामले मनाउनुहोस्

मोर्चाको 11 औं स्थापना दिवस धुमधामले मनाइदिने आफ्ना समर्थकहरूलाई विमल गुरूङले अपिल गरेका छन्। 7 अक्टोबरको दिन मोर्चाको स्थापना दिवस हो, जसलाई सबै शाखाले धुमधामले मनाइदिउन् भन्दै विमल गुरूङले इच्छा व्यक्त गरेका छन्।

‘सबैले आआफ्नो समष्टीमा जाति उन्मुक्तिको लागि गठित दलको स्थापना दिवस धुमधामसित मनाइदिनुहोस्,’ गुरूङले भनेका छन्, ‘विश्वभरिका गोर्खाहरूलाई तिहारको शुभकामना छ।’

जिटीएको विरोध गरौं

विमल गुरूङले विनय तामाङहरूले स्वीकार गरेको जिटीएलाई जनताले अस्वीकार गर्नुपर्ने बताएका छन्। उनले मोर्चाले जिटीएलाई फ्याँकिसकेको अनि यसले जनताको आकांक्षा पुरा नगर्ने भएकैले छुट्टै राज्यको दाबी गरिएको बताए।

‘दुइचारजना मिरजाफरले जिटीए चलाउँछु भन्दैछ, हामीले सडकमा आएर यसको विरोध गरेको हुनुपर्छ,’ गुरूङले भनेका छन्, ‘जिटीएलाई खारेज गरेरै छोड्नुपर्छ। जनता यसको निम्ति सडक ओर्लनुपर्छ।’

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन