विमलको छोड्यो साथ, समात्यो विनयको हात

दार्जीलङः गोजमुमो अध्यक्ष विमल गुरूङ जङ्गलबाट बाहिर आए उनलाईनै समर्थन जनाउने वाचा गर्दै आज सम्पूर्ण गोजमुमो रेलिङ-कैंजले समष्टि विनय तामाङ गुटमा सामेल भयो। जसमा मुख्यरूपले रेलिङ-कैंजले समष्टिका पूर्व सभासद सतीश पोख्रेल, गोजमुमो रेलिङ-कैंजले समष्टि अध्यक्ष शरण स्याङ्बो, उपाध्यक्ष राजेन सुब्बा, महासचिव मिलन छेत्री, रेलिङ शाखा अध्यक्ष सन्तोष गुरूङ, समष्टि युवा मोर्चा अध्यक्ष देवेन तामाङ सामेल छन्।

उनीहरूले आज गोजमुमोका बागी नेता विनय तामाङसित पनि भेट गरेका थिए। यसपछि पत्रकार सम्मेलनको आयोजना गरी पूर्व सभासद सतीश पोख्रेलले भने-गोजमुमोका मुख्य समन्वयक विनय तामाङले हाल गोर्खाल्यान्ड राज्य गठनको दिशामा जुन पहल गरिरहेका छन्, यो पूर्णरूपले स्वागतयोग्य छ।

यसैकारणनै आजदेखि रेलिङ-कैंजले समष्टिका सम्पूर्ण जनता अनि गोजमुमो समर्थकहरुलेनै विनय तामाङलाई समर्थन जनाउने निर्णय लिएका हुन्। यसरीनै गोजमुमो रेलिङ-कैंजले समष्टि सभापति शरण स्याङ्बोले यसपालीको गोर्खाल्यान्ड आन्दोलनको शुरूआतदेखि अन्तसम्मनै भूल भएको आरोप लगाए।

उनले भने-आन्दोलनमा बन्दनै हुनपर्छ भन्ने कदापि होइन, तर गोर्खाल्यान्ड आन्दोलनको लागि यसपाली 104 दिन पहाड़ बन्द राखियो, जसमा 10 जनाले आफ्नो प्राणको आहुति दिए, सयौं गोर्खाल्यान्डप्रेमी घाइते बने भने सयौंको संख्यामा निर्दोष जनताले जेलको सजाय भोगिरहेका छन्। उनीहरुका पक्षमा बोलिदिने कोही छैन, गोजमुमो अध्यक्ष जंगलमा छन्। जनतालाई यस समय छहारी चाहिएको छ, यसैले रेलिङ-कैंजले समष्टिका जनताले गोजमुमोका मुख्य समन्वयक विनय तामाङलाई साथ दिने निर्णय लिएका हुन्।

यसै बयानमाथि अझै जोड़ दिंदै समष्टिका पूर्व सभासद सतीश पोख्रेलले भने-म यसपाली गोर्खाल्यान्ड आन्दोलनकै लागि मोठ 99 दिन जेल बसें, तर मलाई गोर्खाल्यान्डको लागि मैले जेलको सजया भोगें भन्ने आत्मसन्तुष्टि भएन। यसैकारण पनि हामीले समष्टिका सम्पूर्ण पदाधिकारीवर्गसित सर-सल्लाह गरेर आजदेखि विनय तामाङलाईनै समर्थन जनाउनुपर्ने निर्णय लिएका हौं।

यद्यपि, आगामी दिनमा गोजमुमो अध्यक्ष विमल गुरूङ जंगलबाट बाहिर आएर गणतान्त्रिक ढङ्गमा गोर्खाल्यान्डको आन्दोलन गर्छन् भने रेलिङ-कैंजले समष्टि उनलाई साथ दिन तयार छ। तर उनीमाथि लागेका सम्पूर्ण आरोपहरु पखालिएको हुनपर्छ, उनले यो शर्त पनि राखे।

स्मरण गराइन्छ, गोजमुमो अध्यक्ष विमल गुरूङ विरूद्ध देशद्रोहको आरोप लागेको छ भने उनी विरूद्ध लुक आउट नोटिस पनि जारी भइसकेको छ। पहाड़का विभिन्न स्थानहरुमा बम विष्फोट भएका घट्नाहरुमा उनलाई आरोपी बनाइएको छ। यसैले गोजमुमो रेलिङ-कैंजले समष्टिले गुरूङसमक्ष यी दोषहरुबाट मुक्त हुने पनि शर्त राखेको छ।

यसरीनै एक प्रश्‍नको उत्तरमा पूर्व सभासद सतीश पोख्रेलले भाजपालाई महाधोकेवाजको संज्ञा दिंदै रेलिङ-कैंजले समष्टिका शहीद परिवारहरुलाई भेट्न भाजपा नेताहरु आए उनीहरुको कठोर विरोध जनाउने चेताउनी दिए। उनले भने-रेलिङ-कैंजले समष्टिमा यसपालीको गोर्खाल्यान्ड आन्दोलनको समय दुइजना गोर्खाल्यान्ड समर्थक शहीद भएका छन्। यदि यी शहीद परिवारहरुलाई भेट्न भाजपा नेताहरु यस समष्टिमा आए उनीहरुलाई कालो झण्डा देखाएर विरोध जनाइनेछ। यति मात्रै होइन, शहीद परिवारहरुले पनि भाजपा नेताहरुमाथि असल व्यवहार देखाउने छैनन्।

किनभने, भाजपाले गोर्खाल्यान्डको सपना देखाएर गोर्खा जातिलाई दिएको छ। 104 दिन पहाड़ बन्द रहँदा चुप बस्ने भाजपाका नेताहरू पहाड़ शान्त बनेपछि किन आउनुपर्यो। अब पहाड़मा भाजपा अध्यक्ष अमित शाहको पुतलानै जलाउनुपर्ने समय आएको छ। ज्ञात रहोस्, पश्‍चिम बंगाल भाजपा अध्यक्ष दिलीप घोषको नेतृत्वमा भाजपा टोली आज दशैं मिलन उत्सव समारोहमा भाग लिने उद्देश्यले कालेबुङ आइपुगेको छ भने भोलि यस टोलीको दार्जीलिङ भ्रमणको कार्यक्रम छ।

यद्यपि, दार्जीलिङका सांसद एवं केन्द्रिय राज्यमन्त्री एसएस आहलुवालियाको दार्जीलिङ भ्रमण कार्यक्रम रद्द भएको जानकारी पाइएको छ। दार्जीलिङ भ्रमणकै क्रममा यस टोलीले गोर्खाल्यान्ड आन्दोलनका शहीद परिवारहरूसित पनि भेट गर्ने कार्यक्रम बनाएको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन