पहाडमा शान्ति होस् भन्ने ममता व्यानर्जी चाहँदिनन् :  दिलिप घोष

कालेबुङः दसहरा मिलन समारोह समिति अनि भाजपा कालेबुङ शाखाले संयुक्तरूपमा दसहरा मिलन समारोह सम्पन्न गऱ्यो। पश्चिम बङ्गाल भाजपा अध्यक्ष दिलिप घोषलाई आयोजक समितिले मुख्य अतिथिकोरूपमा निम्तो गरेको थियो।

मुख्य अतिथि घोषले स्थानीय आरएसएस कार्यकर्ता अनि भाजपा कार्यकर्तासित कार्यक्रममा निक्कै समय बिताए। उनी डम्बरचोकमा जन आन्दोलन पार्टीले गरेको विरोध प्रदर्शनीलाई सामना गर्दै कार्यक्रम स्थल पुगेका थिए।

पत्रकारहरूसित बोल्दै उनले पहाडको विकास र शान्तिको पक्षमा भाजपा रहेको बताए। अर्कोतिर बङ्गालका मुख्यमन्त्री ममता व्यानर्जी पहाडको विकास र शान्तिको पक्षमा नरहेको पनि बताए।

‘जीटीएमा गोर्खाल्याण्डको माग यथावत राख्ने कुरा छ, त्यसमा ममता व्यानर्जीको सहमति छ,’ उनले भने, ‘तर जब आन्दोलन हुन्छ व्यानर्जीको व्यवहार अर्कै हुन्छ। पहाडलाई लिएर ममता के चाहान्छ, त्यो स्पष्ट छ।’

कुनै पनि समस्याको सामाधान वार्ताले नै गर्ने अनि केन्द्रले त्रिपक्षीय वार्ताको प्रक्रियासमेत शुरु गरेको भन्दै घोषले शीघ्र नै मोर्चासित केन्द्र र राज्यले आलोचना गरेर सामाधानको बाटो निकाल्नुपर्ने पनि बताए।

केन्द्रले वार्ताको प्रक्रिया शुरु गरेपनि पहाडको प्रमुख दल मोर्चाका नेताहरूमाथि ममता व्यानर्जीले अन्यायपूर्ण व्यवहार गरेको बताए।

‘विमल गुरूङ अथवा उनका प्रतिनिधि वार्तामा जानै सक्छन्। तर  राज्य सरकारले यस्तो चाहेको छैन। पहाडमा शान्ति र विकास होस् भनेर राज्यले चाहेको छैन,’ उनले भने, ‘विमल र उनका नेताहरूलाई यस्तो मुद्दा लगाइएको छ कि उनीहरू बाहिर आउन सकेका छैनन्। तर सँगैमा उस्तै मुद्दा रहेका दुइ नेताहरूसित भने ममता व्यानर्जी कुराकानी गरिरहेका छन्। एउटै मुद्दा लागेका राज्यको कानून कसरी फरक फरक हुन सक्छ? के यसले व्यानर्जीको चरित्रबारे स्पष्ट पार्दैन?’

ममता व्यान्जीले पहाडमा विभाजनको राजनीति गरेको अनि पहाडको विकास र शान्तिको पक्षमा राज्य सरकार नरहेको पनि उनले बताए।

विनय समूहले गऱ्यो विरोध

कार्यक्रममा चलिरहेको मारवाड प्यालेस बाहिर दिलिप घोषको विरोधमा विनय तामाङ समूहले व्यापक नाराबाजी गरे।

उनीहरूले सासंद अहलुवालिया र घोषको विरोधमा नाराबाजी गरेका थिए। उनीहरूको पक्षमा विनय घिसिङले ‘जब पहाडलाई सङ्कट परेको थियो, तब उनीहरू कहाँ थिए’ भन्ने प्रश्न गरे।

उनले भाजपाले अहिलेसम्म पहाड र गोर्खाहरूको निम्ति केही नगरेकोले नै आफूहरूले विरोध गरेको बताए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन