भोटको लागि भाजपाको चलखेल : देशभरिका गोर्खाहरूलाई भाजपाले धोका दिएको छः अनित थापा

खरसाङः पहाड़ भ्रमणको क्रममा कालेबुङ आइपुगेका भाजपाका राज्य अध्यक्ष दिलिप घोषले पत्रकारहरूको प्रश्नको उत्तर दिने क्रममा गोर्खाल्याण्ड राज्यले दार्जीलिङ पहाड़का 15 लाख गोर्खाहरूको मात्रै हित हुने तर देशमा लगभग 1 करोड़ 30 लाख गोर्खाहरूलाई कुनै फायदा नहुने बताउने बित्तिकै खरसाङबाट मोर्चा नेता अनित थापाले प्रतिक्रिया व्यक्त गरेका छन्।

‘भाजपा नेताको उक्त वक्तव्य गोर्खाहरूको निम्ति विश्वासघाती एवं हेयपूर्ण वक्तव्य़ रहेको छ। दिलीप घोषको उक्त वक्तव्यको हामी घोर विरोध गर्छौं। साथै यस वक्तव्यको विषयमा सांसद एसएस आहलुवालियाले पनि स्पष्टीकरण दिनुपर्छ भन्ने हामी माग गर्दछौं,’ थापाले खबरम्यागजिनलाई भने, ‘किनभने पहाड़को यति विकट स्थिति रहँदासम्म पनि उनी अहिलेसम्म एक शब्द बोलेका छैनन् न त अहिलेसम्म देखा नै परेका छन्। यस्तो स्थितिमा उनकै दलका नेतृत्वहरूको यस्तो वक्तव्य सार्वजनिक गरिनु सासंदले आफ्नो जिम्मेवारीबाट पन्सिनुको निम्ति कतै उनैले दिशा निर्देश त होइनन् भन्ने पनि हामीलाई शङ्का लागेको छ।’

थापाले बताएअनुसार दार्जीलिङ पहाड़बाट विकासको निम्ति भाजपालाई दुईजना सासंद दिइएको होइन। आसाम, मणिपुरलगायत देशभरिका गोर्खाहरूले भाजपालाई विकासको निम्ति समर्थन दिएका होइनन्। चुनाउको बेला गोर्खाल्याण्डको पक्षमा भाजपाले जुन वचन गोर्खाहरूलाई दिएका थिए उक्त वचन पालन गरेर गोर्खाहरूलाई राष्ट्रियस्तरमा रहिरहेको चिह्नारी अनि राजनैतिक सुरक्षाको समस्या समाधान गरिदिनेछन् भन्ने विश्वास गरेर देशभरिका गोर्खाहरूले भाजपालाई समर्थन जनाएका हुन्। तर भाजपाले अहिलेसम्म गोर्खाहरूको विश्वास अनि भावनामाथि राजनैतिक खेलवाड़ गर्नेमात्रै कार्य गरिरहेको रहेछ भन्ने कुरा दिलीप घोषको आजको बयानले नै प्रमाणति गरिदिएको छ।

‘वास्तवमा भाजपाले गोर्खाल्याण्डको झूटो आशा देखाएर गोर्खाहरूलाई आन्दोलित गरिरहे र चुनाउमा सजिलै यसक्षेत्रबाट आफ्नो निम्ति सांसद बनाउने कार्य गरिरहेका छन्। यसबाहेक यही झूटो आशा देखाएर देशका विभिन्न गोर्खाबहुल क्षेत्रहरूमा पनि भोट जुटाउने कार्य गरिरहेका छन्,’ थापाले अझ भने,  ‘भाजपाको यो स्वार्थी राजनीतिले पहाड़लाई लथालिङ्ग बनाएको छ। देशभरिका डेड़ करोड़ गोर्खाहरूलाई भाजपाले ठगिरहेको छ।’

थापा अनुसार भाजपाकै वचनको आशा- भरोसामा यसपाली मोर्चाले आन्दोलन शुरू गरेको हो। आन्दोलनमा चियाबारी, सिन्कोनालगायत सबै पहाड़वासीले धेरै पीर- मर्का झेल्नुपरयो। 11 जना मानिस शहीद बने। यी सबैको जिम्मेवार भाजपा नै हुन्।

‘भाजपा डेड़ करोड़ गोर्खाहरूको निम्ति विश्वासघातीमात्रै होइनन् तर 11 जना शहीदहरूको वास्तविक हत्यारा पनि हुन्,’ थापाले भने, ‘किनभने भाजपाले झूटो प्रण नगरेको भए पहाड़को स्थिति विकराल बन्ने थिएन र हाम्रा मानिसहरूले दुःख पाउने थिएनन्, शहीद बन्नुपर्ने थिएन।’

थापाले यस्तो विकट परिस्थिति राम्ररी साम्य हुन नपाई भाजपा नेताहरू पहाड चढ्नु विमल गुरूङलाई जनतासामु ल्याएर फेरि झूटो आश्वासनको भरमा 2019 को लोकसभा चुनाउको निम्ति भोट जुटाउनु रहेको पनि बताए।

‘यसैले दार्जीलिङ पहाड़का समग्र जनताले अब सड़कमा उत्रेर यिनीहरूको विरोध गर्नुपर्छ। यिनीहरूलाई स्वागत होइन, व्यापक विरोध गर्नुपर्छ,’ उनले भने, ‘गोर्खाहरूलाई कलङ्कित अनि हाँसोको पात्र बनाउने भाजपा नेताहरूलाई फेरि फेरि पहाड़ चढ्नु दिनु हुँदैन।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन