मङ्पू र रञ्जु भेल्लीबाट अनित थापालाई समर्थन

खरसाङः बिनय तामाङ र अनित थापा समूहको तर्फबाट जीटीए सञ्चालन गर्ने भएपछि पहाडको धेरै ठाउँबाट जनसमर्थन प्राप्त हुँदैछ। यसै क्रममा बिहिबार अनित थापा समूहको समर्थनमा मङ्पू र रञ्जु भेल्लीबाट व्यापक रूपमा जनताहरू खरसाङ आएर जीटीएका भाइस चेयरम्यान अनित थापालाई भेट गरेका छन्।

अनित थापा समूहको गान्धीवादी र अहिंसात्मक आन्दोलनलाई समर्थन गर्दै दुवै क्षेत्रबाट व्यापक मानिसहरू आएका थिए। मङ्पूबाट मिरेन लामाको अगुवाईमा अनि रञ्जु भेल्लीबाट विभुषण तामाङ, सुरज छेत्री एवं युवा मोर्चा सभापति मिलन गुरूङको नेतृत्वमा व्यापक रूपमा जनताहरू खरसाङस्थित गोजमुमोको महकुमा कार्यालयमा जीटीएका भाइस चेयरम्यान अनित थापालाई भेट गरी समर्थन जनाएका छन्।

समर्थन जनाउनेहरूले अनित थापालाई भेट गरी ‘हामी गणतान्त्रिक ढङ्गको आन्दोलनमा समर्थन गर्छौं’ भन्दै आजको समयमा बम र बारूद अनि हिंसाको आन्दोलनमा होइन तर गान्धीवादी र अहिंसात्मक आन्दोलनलाई समर्थन गर्ने बताए।

‘पहाडलाई विकाससितै गोर्खाल्याण्डको आन्दोलनलाई पनि गणतान्त्रिक ढङ्गमा अघि लानुपर्छ,’ जीटीएका भाइस चेयरम्यान अनित थापाले भने, ‘भाजपाले गोर्खा जातिलाई जुन आश्वासन दिएको थियो त्यो पूरा गरेन। भाजपाले गोर्खा जातिलाई धोका दिएको छ। जीटीए खेस्रा जलाएर मात्र यो रद्द भएको होइन, सरकारले त यो चलाउँदै छ। हामीले जीटीए होइन जीटीएको प्रशासन बोर्डलाई लिएर काम गरिरहेका छौं।’

सिडर्स चियाबारीबाट पनि तेन छिरिङ र ए.के. मोक्तानको नेतृत्वमा व्यापक रूपमा मानिसहरू आएर समर्थन जनाएका छन्। यता गैरी गाउँ- टुङ्ग क्षेत्रबाट गणेश र फुर्बा तामाङको नेतृत्वमा पनि मानिसहरू समर्थन जनाउँदै खरसाङमा भेला भएका थिए। त्यस्तै प्रकारले भोटे गाउँका नारी मोर्चा समर्थकहरू पनि अनित थापा समूहको समर्थनमा गोजमुमो खरसाङ महकुमा पार्टी कार्यालयमा उपस्थित भएको जानकारी पूर्व सभासद अनोश थापाले दिएका छन्।

तिनले दिएको जानकारी अनुसार बालासन सोनादा क्षेत्र अनि खरसाङका केही पर माथिल्लो खहरेबाट पनि मानिसहरू अनित थापा समूहको समर्थनमा आएक थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया