पारा शिक्षकहरु पनि तृणमूलमा सामेल

विज्ञापन


  •  मोहन लामा, दार्जीलिङ

जीटीएको विफल कार्यप्रणाली अनि गोजमुमोको भ्रष्ट नीतिको फलस्वरूपनै आज दार्जीलिङ पहाड़का जनता अनि विशेष शिक्षा क्षेत्रसित जड़ित व्यक्तिहरु तृणमूल कंग्रेसमा सामेल भइरहेका छन्।


दार्जीलिङ पहाड़का अस्थायी, स्वयंसेवी शिक्षक-शिक्षिकाहरू स्थायीकरणको आशामा तृणमूल कंग्रेसमा सामेल भइरहेकै समय पारा शिक्षकहरु पनि आज वेतन बढ़ोत्तरीको शर्तसितै गोजमुमो छोड़ेर तृणमूल कंग्रेसमा सामेल भए। आज यहाँको मारवाड़ी सहायक समिति भवनमा एक कार्यक्रममाझ दार्जीलिङ पहाड़का लगभग 80 जना पारा शिक्षक-शिक्षिकाहरुले तृणमूल कंग्रेसको झण्डा ग्रहण गरे।

दार्जीलिङ हिल तृणमूल कंग्रेसका कार्यकारी अध्यक्ष एनबी खवास, महिला तृणमूल कंग्रेस अध्यक्षा शारदा राई सुब्बाको विशेष उपस्थितिमा यी पारा शिक्षक-शिक्षिकाहरु तृणमूल कंग्रेसमा सामेल भएपछि पत्रकारहरुसित कुराकानी गर्दै खवासले भने-जीटीएको विफल कार्यप्रणाली अनि गोजमुमोको भ्रष्ट नीतिको फलस्वरूपनै आज दार्जीलिङ पहाड़का जनता अनि विशेष शिक्षा क्षेत्रसित जड़ित व्यक्तिहरु तृणमूल कंग्रेसमा सामेल भइरहेका छन्। यति मात्रै होइन, राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीले दार्जीलिङ पहाड़मा सर्वांगीण विकाससँगै यहाँको शिक्षा व्यवस्थालाई राम्रो बनाउने कटिवद्धताको कारणनै आज दार्जीलिङ पहाड़का जनता दिन-प्रतिदिन तृणमूल कंग्रेसमा सामेल भइरहेका छन्।

यसै क्रममा आज गोजमुमोको एक भ्रातृ संगठनको रूपमा रहेको गोर्खा जनमुक्ति प्राथमिक पारा शिक्षक संगठनका लगभग 90 प्रतिशत सदस्यहरु गोजमुमो छोड़ेर तृणमूल कंग्रेसमा सामेल भएका छन् अनि यसै क्रममा उनीहरुले हिल प्राथमिक पारा शिक्षक संगठनको पनि गठन गरेका छन्। उनले भने-दार्जीलिङ पहाड़मा क्षेत्रीय व्यवस्थाको रूपमा दागोपाप (दार्जीलिङ गोर्खा पार्वत्य परिषद) रहेकै समय सन् 2009-मा राज्य सरकारले दार्जीलिङ पहाड़का 3,432 जना अस्थायी, स्वयंसेवी शिक्षक-शिक्षिकाहरुलाई स्थायी गराउने अधिसूचना जारी गरेको थियो। तर यसलाई तत्कालीन दागोपाप अनि जीटीएले धेरै ढिलो गरेर लागू गर्ने कार्य गर्यो। यति मात्रै होइन, जीटीएको गठन भएपछि यसले यी 3,432 जना अस्थायी शिक्षक-शिक्षिकाहरुलाई भाग-भाग गरेर स्थायी गराउने कार्य गरेको थियो। यसमा पनि जीटीएले भाइ-भतिजावाद अप्नाएको थियो। जीटीएको यस्तै नीतिबाट दिक्क बनेर दार्जीलिङ पहाड़का विशेष स्वयंसेवी, अस्थायी अनि पारा शिक्षक-शिक्षिकाहरु तृणमूल कंग्रेसमा सामेल भएका हुन्।

यसै सम्बन्धमा पारा शिक्षक रोशन राईसित कुराकानी गर्दा उनले दार्जीलिङ पहाड़का पारा शिक्षक-शिक्षिकाहरुको समस्या जीटीएले समाधान गर्न नसकेको फलस्वरूपनै आज उनीहरुले तृणमूल कंग्रेसको झण्डा समात्न परेको बताए। उनले भने-दार्जीलिङ पहाड़मा 2010-देखि पारा शिक्षक-शिक्षिकाहरुको नियुक्ति भयो अनि यसको नियमअनुसार, 3 वर्षपछि 5 प्रतिशतको दरले उनीहरुको वेतन बढ़ोत्तरी हुनपर्ने थियो। तर दार्जीलिङ पहाड़का पारा शिक्षक-शिक्षिकाहरुको वेतन 7 वर्षसम्म पनि बढ़ोत्तरी हुनसकेको छैन। जसको फलस्वरूप अहिलेको जमानामा पनि यी शिक्षक-शिक्षिकाहरुले 5,400 रूपियाँ वेतनको भरमा आफ्नो जीवन गुजारा गर्न परिरहेका छन्। यसैले आज पहाड़का पारा शिक्षक-शिक्षिकाहरु तृणमूल कंग्रेसमा सामेल हुनपरेको हो भन्ने उनले बताए।

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया