जीएसएसएसले पाएन पदयात्राको अनुमतिः गोर्खाल्यान्डको लागि संसद घेराउको योजनाः चौरस्तामा उर्लियो जनसमुद्रः फोटोफिचरसहित

दार्जीलिङः जीएसएसएस (गोर्खाल्यान्ड संयुक्त संघर्ष समिति)-ले आज गोर्खाल्यान्डको मागमा बतासेदेखि चौरास्तासम्म पदयात्रा निकाल्ने अनुमति पाएन। फलस्वरूप दिल्ली अनि देशका अन्य प्रान्तहरुबाट आएका गोर्खाल्यान्ड समर्थक जीएसएसएस कार्यकर्ताहरुले बतासेको शहीद स्मारकअघि श्रद्धार्पण गरेपछि दुइ-तीनजनाको समूह बनाउँदै चौरास्तासम्म पैदल यात्रा गर्दै आएर यहाँ केही समय गतिलै जमघट बनाएर जनसम्बोधनको कार्यक्रम गर्ने सफलता पाए। जीएसएसएसका यी कार्यकर्ताहरुलाई बतासेदेखि जुलूस निकाल्न नदिन बतासे परिसरमा व्यापक संख्यामा पुलिस बल तैनाथ गरिएको थियो।

फलस्वरूप बतासेदेखि पैदलयात्रा गर्दै चौरास्तासम्म आएर विराटरूपमा जनसम्बोधन गर्ने कार्यक्रम विफल बने पनि गोर्खा दुःख निवारक सम्मेलन भवनभित्र यस संगठनले गतिलै कार्यक्रमको आयोजना गर्ने सफलता पायो। यस भवनमा जनता खचाखच भरिएको थियो, भवनभित्र ठाउँ नपाएपछि गोर्खाल्यान्ड समर्थक जनता यसको सिँड़ीतिर पनि व्यापक संख्यामा बसेका थिए। यसै कार्यक्रमलाई सम्बोधन गर्दै संगठनका अध्यक्ष किरण बीकेले यसपालीको गोर्खाल्यान्ड आन्दोलनलाई फत्ते बनाइछोड़्नुपर्ने जनतासमक्ष आह्वान गरे।

यसरीनै उनले संसदको आगामी शीतकालीन सत्रको अवधि केन्द्र सरकारले संसदमा गोर्खाल्यान्ड गठनमाथि चर्चा नगरे संसद घेराउ गर्ने कार्यक्रम बनाइएको पनि जानकारी गराए। यसै विषयमाथि जोड़ दिंदै जीएसएसएसका कार्यकारी अध्यक्ष सघन मोक्तानले आगामी 22 र 23 नोभेम्बरका दिन संसदमा गोर्खाल्यान्ड राज्य गठनबारे चर्चा नभए 24 नोभेम्बरको दिन संसद घेराउ गर्ने कार्यक्रम तयार पारिएको बताउँदै यसको लागि देशभरिबाट गोर्खाल्यान्ड समर्थक जनतालाई दिल्लीमा भेला भइदिने अपील गरे। उनले भने-यदि गोर्खाल्यान्डबारे संसदले निर्णय दिन सक्तैन भने गोर्खाल्यान्ड पुग्ने अर्को दैलो पनि देखेका छौं।

यसैले जबसम्म गोर्खाल्यान्ड हुँदैन, जीएसएसएसको जन्तर-मन्तर आन्दोलन जारी रहनेछ। हामी गोर्खाल्यान्ड ल्याउँछौं भन्दैनौं, तर गोर्खाल्यान्ड पुग्ने बाटो सीधा बनाउनेछौं। यसको लागि गोर्खाल्यान्ड मागको ग्राउन्ड जीरो दार्जीलिङ पहाड़का जनताको साथ अनि प्रेरणा जीएसएसएसले पाइरहनुपर्छ। यसैकारण पनि यस संगठनका कार्यकर्ताहरु दिल्लीबाट दार्जीलिङ आएका हुन्।

गोर्खाल्यान्डको यस आन्दोलनलाई निभ्न दिनु हुँदैन। जसको लागि हामी प्रत्येक गोर्खा समुदाय बस्ने गाउँमा गोर्खाल्यान्डको मशाल पुर्याउन चाहन्छौं। यसरीनै यस अन्तर्क्रियात्मक जनसम्पर्क कार्यक्रमलाई सम्बोधन गर्दै संगठनकी संस्थापक सदस्या अंजली शर्माले पनि अब आन्दोलन होइन, गोर्खाल्यान्ड राज्य गठनको लागि ठोस काम गर्नुपर्छ भनिन्। उनले भनिन्-दार्जीलिङ पहाड़का जनताको प्रेरणा अनि आँटलेनै जीएसएसएसले दिल्लीमा गोर्खाल्यान्डको आन्दोलन गरिरहेको छ। गोर्खाल्यान्डको लागि दिल्लीमा काम गर्नु सजिलो छ, तर दार्जीलिङ पहाड़मा यो आन्दोलनलाई अघि बढाउनु महामुश्किल छ। पहाड़ बन्दको अवधि पहाड़का जनताले भोगेका प्रताड़्ना, अन्याय अनि अत्याचारबाटनै यो छलर्र्ङ्ग भएको छ।

तरै पनि पहाड़का जनताले आन्दोलन गरे, यो सराहनीय छ। यसैकारणनै दिल्लीको जन्तर-मन्तरमा जीएसएसएसले पनि आन्दोलन गरिरहेको छ। यसैबीच, आज बतासेमा शहीदहरूप्रति श्रद्धार्पण गर्न पनि गोर्खाल्यान्ड समर्थकहरुलाई निकै गाह्रो परेको बताउँदै संगठनका वरिष्ठ कार्यकर्ता उत्तम छेत्रीले भने-आज आफ्नै बाबुको स्मारकमा श्रद्धान्जलि अर्पण गर्न पनि धेरै साह्रो पर्यो। यसैले हामीलाई गोर्खाल्यान्ड चाहिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया