पुरानो जिटीएको अडिट हुनेः विनयहरूलाई स्थापित गर्ने राज्यको रणनीति शुरु

कलकत्ताः राज्य सरकारले केन्द्र र राज्यले विमल गुरूङ कालको जिटीएलाई दिएको आर्थिक अनुदानमा हिनामिना भएको आरोप लगाउँदै शीघ्र नै जिटीए-1 को अडिट गर्न टीम पठाउने भएको छ। विमल गुरूङले आन्दोलन गर्न अघि पनि टीम पहाड पठाइएको थियो, तर अनिश्चितकालीन बन्दको कारण टीमले केही काम गर्न सकेन।

अहिले विमल गुरुङहरूले जिटीए छोडिसकेका छन् भने ममता व्यानर्जीले गोर्खा जनमुक्ति मोर्चाकै नेता विनय तामाङलाई प्रशासक नियुक्त गरिसकेकी छन्।

राज्य सरकारको दाबी छ, विमल गुरूङहरूले दिइएको अनुदानको उचित प्रयोग गरेन, त्यसको जाँच हुनेछ। तर आन्दोलनकालमा धेरै कार्यालयहरूमा आगो लगाउने काम भएको थियो, यसो हुँदा धेरै हिसाबकिताबको कागज नष्ट भइसकेको छ।

केन्द्र र राज्यले जिटीएलाई 15 सय करोड अनुदान दिएको बताइएको छ। विमल गुरूङहरूले चलाएको जिटीएको २०१४-१५ देखि २०१६-१७ सम्मको हरहिसाब भएको छैन। नवान्न सूत्रले दिएको जानकारी अनुसार शीघ्र नै स्पेशल टीम अडिटको लागि पहाड चढ्नेछ।

16 अक्टोबरको दिन दिल्लीमा हुने बैठकमा विमल गुरूङ समूह बसोस् भन्ने राज्य सरकारले चाहेको छैन। यसैबीच अडिट भए वार्तामा जानदेखि विमललाई रोक्न सकिने राज्यले सोचेको अनुमान लगाइएको छ।

यता विमल गुरूङलाई पक्राउ गर्न बङ्गालको सीआईडी लागिपरेको छ। 16 अक्टोबर अघि उनलाई पक्राउ गर्ने योजना राज्यको रहेको पनि अनुमान चलिरहेको छ। यता विनय समूहलाई मोर्चा नेताहरूको समर्थन बढिरहेको छ। यस्तोमा विमल गुरूङको भ्रष्टाचार पर्दाफास गर्न सके विनय तामाङहरूलाई अझ सहयोग पुग्ने पनि राज्यले ठानेको हुनसक्ने अनुमान गरिएको छ।

लोकसभा चुनाउमा विमलहरूले भाजपालाई गर्ने समर्थन अब विनयहरूमार्फत तृणमूलको लागि होस् भन्ने ममता व्यानर्जी चाहन्छिन्। यसैले पनि विमल गुरूङहरूको ठाउँमा विनय तामाङहरूलाई स्थापित गर्ने प्रयासअनुरूप जे जे पनि गर्न सकिन्छ, सबै हतकन्डा ममता व्यानर्जीले अप्नाउनेछिन्।

जिटीए- 1 को अडिट पनि यसै अन्तर्गतको रणनीति रहेको अनुमान पनि चलिरहेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन