तृणमूल काङ्ग्रेस रिटर्न्सः तृणमूलको पुनर्मिलन कार्यक्रम, अस्थायी कर्मचारी सङ्गठनको विनयसित भेट

दार्जीलिङः गोर्खाल्यान्ड आन्दोलन समाप्त भएपछि दार्जीलिङमा एकाएक सक्रिय बन्यो तृणमूल काङ्ग्रेस। एकतर्फ गोर्खाल्यान्ड आन्दोलनको कारणनै लगभग 4 महीनादेखि बन्द रहेको तृणमूल काङ्ग्रेस पार्टीको कार्यालय खोलियो भने अर्कोतर्फ यसै पार्टीको जीटीएमा कार्यरत अस्थायी श्रमिकहरुको सङ्गठन पनि सक्रिय बनेको छ।

यसै कार्यक्रमअन्तर्गत आज दार्जीलिङ हिल तृणमूल काङ्ग्रेस अध्यक्ष राजेन मुखियाले यहाँको जजबजारस्थित पार्टी कार्यालयमा पुनर्मिलन कार्यक्रम आयोजना गरेका थिए भने जसमा कैयौं तृणमूल काङ्ग्रेस समर्थकहरुको उपस्थिति रहेको थियो। यसबारे मुखियासित सोध्दा उनले भने-लगभग 4 महीनापछि आज दार्जीलिङको पार्टी कार्यालय खोलिएको छ, जसमा पार्टीका सबै सदस्यहरु उपस्थित भएका छन्।

पार्टीका धेरै सदस्यहरु गोर्खाल्यान्ड आन्दोलनको समय अन्य पार्टीहरुमा सामेल भएका थिए अनि कतिपय पार्टी नेतृत्वहरु तटस्थ बसेका थिए, आज अधिकांश पार्टी समर्थकहरु यहाँ भेला भएका थिए। गोर्खाल्यान्ड आन्दोलनको नाममा 104 दिन दार्जीलिङ पहाड़ बन्द भयो, विद्यार्थीहरुको शिक्षामा ठूलो नोक्सानी भयो, जनताले दुःख मात्रै पाए, तर परिणाम शुन्य रह्यो।

यसप्रकारको अर्थहीन आन्दोलनले पहाड़का जनतालाई केवल कष्ट पुगेको छ, सरकारी सम्पत्तिहरु नष्ट भएका छन्। यस्तै कारणहरुले गर्दा दार्जीलिङ पहाड़ विकासबाट पछाड़िन परेको छ। पहाड़मा गोर्खाल्यान्डको आन्दोलन भएको कारणनै हामीले पनि बाटो छोड़िदिएका थियौं, तृणमूल काङ्ग्रेसले प्रशासनको आड़मा यसको विरोध गर्न सक्नेथियो, तर यसो गरेनौंे। हामी चुप लागेर बस्यौं।

किनभने, हामी शान्तिको पक्षमा छौं। अहिले पहाड़मा पुनः शान्ति आएको छ, अब जनतालाई दुःख दिने कार्य गर्नु हुँदैन। उनले आगामी बुधबार खरसाङ र शुक्रबार कालेबुङको भ्रमण गर्ने कार्यक्रम बनाएको पनि बताए। यसरीनै उनले आगामी 16 अक्टोबरको द्विपक्षीय वार्तापछि मुख्यमन्त्री ममता व्यानर्जीसित भेट गरेर पहाड़मा पार्टीको स्थिति कस्तो छ भन्नेबारे एक रिपोर्ट तयार पारेर पेश गर्ने योजना बनाएको पनि बताए।

यसरीनै अर्कोतर्फ आज तृणमूल काङ्ग्रेस समर्थित दार्जीलिङ हिमालयन कर्मचारी सङ्गठनको एक प्रतिनिधि टोलीले जीटीएको बोर्ड अफ् एड्मिनिस्ट्रेटरका अध्यक्ष विनय तामाङसित भेट गरी जीटीएमा कार्यरत पे-व्याण्ड कर्मचारीहरुका पक्षमा 8 सूत्री माग पत्र पेश गरेको छ।

जसमा जीटीएका सम्पूर्ण कर्मचारीहरुको स्थायीकरण, सेवानिवृत्त भत्तास्वरूप जीटीएले कर्मचारीहरुलाई 5 लाख आर्थिक सहयोग प्रदान गर्नुपर्ने, भविष्यनिधि कोष, स्वास्थ्य सुविधा, प्रत्येक वर्ष 3 प्रतिशतको दरले वेतन वृद्धि, ए र बी श्रेणीका कर्मचारीहरुको वेतन वृद्धि गर्नुपर्ने, जीटीएका कर्मचारीहरुलाई परिचय पत्र प्रदान गर्नुपर्ने अनि पहाड़ बन्द अवधि रोकिएको वेतन भुक्तान गर्नुपर्ने माग सामेल रहेको सङ्गठनका अध्यक्ष दिलीप सिंह, उपाध्यक्ष रवी तोलङ्गी अनि सङ्गठनका खरसाङ महकुमा समिति अध्यक्ष सुधामा शर्माले बताए।

उनीहरुले आफ्नो सङ्गठनमा जीटीएमा कार्यरत 5,321 कर्मचारीमध्ये लगभग 2,000 सामेल रहेको दावी गर्दै जीटीएमा कार्यरत कर्मचारीहरुले राजनीतिको साटो आफ्नो हक र अधिकारको लागि आवाज बुलन्द गर्नुपर्ने आह्वान गरे। उनीहरुले भने-जीटीएमा कार्यरत कर्मचारीहरु अहिलेसम्म पनि स्थायी हुनसकेका छैनन्, यसैले यी सम्पूर्ण कर्मचारीहरुलाई शीघ्र स्थायी गराउनुपर्छ।

जीटीएमा कार्यरत पे-व्याण्ड कर्मचारीहरुको वेतन दर अनौठो छ, ए र बी श्रेणीका कर्मचारीहरुको वेतनभन्दा अधिक वेतन सी र डी श्रेणीका कर्मचारीहरुको छ। हाल ए श्रेणीअन्तर्गत पर्ने एक्जीक्यूटिव इन्जीनियरको मासिक वेतन 21,920 रुपियाँ छ भने सी श्रेणीका कर्मचारीको वेतन 22,500 रुपियाँ छ। यसैले ए र बी श्रेणीका कर्मचारीहरुको वेतनमा वृद्धि गर्नैपर्छ। यसबारे जीटीएको बीओए अध्यक्ष विनय तामाङले आगामी 16 अक्टोबरको दिन राज्य सरकारसित हुने द्विपक्षीय वार्तामा कुरा उठाउने आश्‍वासन दिएको पनि उनीहरुले बताए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन