कालेबुङ नगरपालिका विमल-विनय दुवै गुटमाः जिटीएसित कस्तो सम्बन्ध राख्ने भन्ने सम्बन्धमा बोर्डले निर्णय गर्नेछ-शुभ प्रधान

कालेबुङः आज दिनभरि कालेबुङ नगरपालिका विमल गुटमा नै बस्ने हो कि विनय गुटमा जाने हो भन्नेबारे व्यापक कौतुहलता नगरमा थियो। कालेबुङ नगरपालिका अध्यक्ष शुभ प्रधानले कालेबुङ नगरपालिका दुवै गुटमा रहेको बताएका छन्।

‘यसो त हामी विमल कि विनय गुटमा जाने भन्ने कुरामा चिन्तित छैनौं, गोर्खाल्याण्डको मुद्दा र आन्दोलनसितै कसरी वार्डहरूको विकास गर्नुपर्ने हो त्यो बारेमा चिन्तित छौँ,’ प्रधानले खबरम्यागजिनसित भने, ‘कुनै एकको पक्षमा उभेर अर्कोको नजरबाट झर्न पनि हामी चाहँदैनौं, बोर्डले दुई गुटमा कुनमा जाने भन्नेबारे चर्चा पनि गरेको छैन।’

दार्जीलिङ र खरसाङ नगरपालिकाले विनय समूहलाई समर्थन गरेपछि सबैको नजर कालेबुङमाथि परेको छ। तर कालेबुङ नगरपालिकाका पार्षदहरू विमल र विनय दुवै एउटै परिवारका नेताहरू ठान्छन्।

‘हामीले त दुवैलाई पराय मानेका छैनौं, दुवै नै एउटै परिवारका हुन्। अहिले सङ्कटको बेला छ, नेताहरूलाई धेरै मुद्दा लागेको छ,’ प्रधानले भने, ‘यस्तोमा दुइमा कुन गुट भन्ने कुरा गर्नु सही पनि होइन।’

यद्धपि जिटीएमा विनय तामाङ नगएको भए पनि बङ्गालले प्रशासक राखेर चलाउने नै थियो, विनय तामाङहरूले चलाउनमा कुनै हानीनोक्सानी हुने पनि नलागेको प्रधानले बताएका छन्।

‘बङ्गालदेखि अलग कुनै व्यवस्था नबिञ्जेल जिटीए त चल्ने नै हो, विनय तामाङहरूले नचलाएको पनि यो त चल्थ्यो नै,’ प्रधानले भने, ‘जहाँसम्म नगरपालिकाको सवाल छ, हामीले जिटीएसित कस्तो सम्बन्ध राख्नुपर्ने, कालेबुङका जिटीए प्रशासनिक अधिकारीहरूसित चर्चा हुनेछ। अहिले बोर्डको बैठक भएको छैन। बैठक गरेर यसबारे निर्णय गर्नेछौँ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया