आज 50 औं पूण्यतिथिः चे ग्वेभारा

कसरी बने क्रान्तिकारी?


राजेन्द्र महर्जन


(9 अक्टोबर 1967, यो दिन कुनै आम दिन थिएन, जब जब 9 अक्टोबर आउँछ, विश्वलाई एक क्रान्तिकारीको याद आउँछ, उनी हुन्, चे ग्वेभारा। आज उनको 50 औं पूण्यतिथि हो। चे -लाई 8 अक्टोबर 1967 को दिन बोलिभियामा पक्राउ गरिएको थियो, अनि भोलिपल्ट उनको हत्या भएको थियो। उनको पूण्यतिथिमा विश्वकान्तिका नायक पुस्तकबाट उनीबारेको यो सामाग्री साभार गरिरहेका छौँ-सम्पादक)


 

विश्वक्रान्तिका नायक हुन्। अर्जेन्टिनामा जन्मिएर क्यूवामा क्रान्ति सम्पन्न गरी बोलिभियाको जंगलमा शहादत प्राप्त गर्ने क्रान्ति नायक चे ग्वेभारा आज विश्वका श्रमजीवी मजदुरहरुको ढुकढुकी बनेका छन्।

विश्व साम्राज्यवादसँग लडेर दुनियाँभर कम्युनिस्ट शासन स्थापना गर्ने महान उद्देश्य बोकेर उनी बोलिभिया पुगे।  अदम्य शाहसका धनी चेको त्यहीँ हत्या भयो। तिनै महान विश्व क्रान्तिका नायक चे ग्वेभाराको जीवन कस्तो थियो त?

 

परिवारका तेते पछि चे बने
अर्जेन्टिनाको एक मध्यम वर्गीय परिवारमा चेको जन्म सन् १९२८ जून १४ मा भयो। पेशाले उनका बुवा इन्जिनियर थिए। उनको जन्म स्पेनिस र आइरिस रक्तमिश्रित परिवारबाट भएको थियो। उनको जन्मको नाम अर्नेष्टो ग्वेभारा डे ला सेर्ना थियो।

परिवारमा उनलाई तेते भनेर बोलाउँथे। पछि उनले आफ्नो नाम बदलेर चे राखे। चेको अर्थ अर्जेन्टिनी भाषामा ‘हाम्रो’ भन्ने हुन्छ।

उनको परिवार शिक्षित र सुसंस्कृति पनि थिए। परिवारबाट उनले न्यायप्रतिको प्रेम, फाँसीवादप्रति घृणा, धार्मिक सहिष्णुता, साहित्यप्रति रुची राख्ने, आर्थिक उपार्जनलाई ध्यान नदिने जस्ता संस्कारहरु सिके।

 

शिक्षकको नजरमा मूढी र अनुशासनहिन
चे ग्वेभाराको शिक्षा दिक्षा सहज हुन सकेन। उनी दुई वर्षको उमेर मै दमको दीर्घ रोगी भए। अन्य बालकको जस्तो चे को स्कुल जीवन हुन सकेन। उनले ओच्छ्यानबाटै अध्ययनको थालनी गरे।

भनिन्छ, उनको व्यवहार किशोर हुँदा युवाको जस्तो, युवाहुँदा परिपक्क प्रौढ जस्तो थियो। उनी आत्मविश्वासी, बहुआयामिक र विद्रोही स्वभावका थिए। शिक्षकको नजरमा मूढी, अनुशासनहिन तर अध्ययनशील थिए।

अल्टा ग्रेसियाको स्कुले जीवन सकेर सन् १९४१ मा १३ वर्षको उमेरमै उनले डिन फ्यूनस स्टेट कलेजमा अध्ययन गरेका थिए। ४ वर्षको कलेज अध्ययन सकेर राजधानी ब्यूनस आयर्सको यूनिभर्सिटीमा मेडिकल विभागमा डाक्टरीको लागि उनी गए।

तर उनको परिवारको चाहाना भने इन्जिनियर बनाउने थियो। क्यान्सर रोगबाट आफ्नी हजुरआमाको मृत्यु,  आमाको क्यान्सरसँगको युद्ध र आफ्नै दम रोगका कारण उनी डाक्टरी पढ्नतिर लागे। उनले ६ वर्ष लामो विश्वविद्यालयको पाठ्यक्रम ३ वर्षमै पूरा गरे। उनले अध्ययनको क्रममा राम्रो नम्बर ल्याउनतिर कहिल्यै सोचेनन्।

पढन्ते र घुमन्ते स्वभावका उनी घुम्दा घुम्दै मार्क्सदेखि फ्रायडसम्मका पुस्तकहरु अध्ययन गर्न भ्याए।

 

साइकलिङ गरेरै देशको कुनाकुना पुगे  
उनी यात्रा गर्न औधी रुचाउँथे। अध्ययनको क्रममै उनी साइकलिङ गरेर देशको कुनाकाप्चा पुगे। स्वास्थका कारण भौतिक शरिर एकदमै जीर्ण देखिए पनि आत्मविश्वासका कारण देशविदेशको भ्रमण गर्न कहिल्यै छाडेनन्। पढन्ते र घुमन्ते स्वभावका उनी घुम्दा घुम्दै मार्क्सदेखि फ्रायडसम्मका पुस्तकहरु अध्ययन गर्न भ्याए।

चिकित्सा क्षेत्रको शिक्षाको क्रममै उनी पूरै ल्याटिन अमेरिकाको अधिकांश स्थानमा पुगे। यात्राको क्रममा पूरै महाद्वीपमा व्याप्त गरीबीले उनको हृदयमा नराम्रो गरी चोट पुऱ्यायो। उनले गम्भीर भएर सोचेँ। शारिरीक रोगको जैविक कारणको त उपचार गर्न सकिन्छ तर सामाजिक, आर्थिक र राजनैतिक कारणको उपचार कसरी सम्भव होला? यो जटिल प्रश्न उनको जीवनमा यक्ष प्रश्न बनेर आईदियो।

उनको डाक्टरी जीवनमाथि नै प्रश्न चिन्ह बनेर खडा भयो।

डाक्टर बनेर दिनदुःखीको सेवा गर्ने उद्देश्य राखेका चे अब गरीवी असमानताका सामाजिक राजनैतिक कारणहरु खोज्नतिर लागे। गाउँ गाउँ पुगे। विभिन्न वस्ती वस्ती पुगे उनी। उनले देखे, पैसाको अभावमा उपचार गर्न नपाएका गरीबहरु।

भोक,  पीडाले पशु समान जीवन बाँच्न विवस मानिसहरु, अभाव र गरीवीकारण बाबुहरु स्वयम् आफ्ना सन्तानको मृत्युको कामना गरिरहेको दर्दनाक दृष्यहरु समेत देखे। ड्राइभरका दुखद  जिन्दगीहरु देखे। भरियाका कथाहरु सुने। चिलीका खानीहरुमा पुगे। अमेजन जङ्गलका रेड–इण्डियन  आदिवासीहरुको वस्तीदेखि पेरुका खेत–खलिहानसम्म पुगे।

अन्तमा उनले निष्कर्ष निकाले कि गरीबी र आर्थिक विषमताको मुख्य कारण पूँजीवाद, नवउपनिवेशवाद र साम्राज्यवाद हो। जसबाट छुटकारा पाउने एकमात्र उपाय हो क्रान्ति।

अन्तमा उनले निष्कर्ष निकाले कि गरीबी र आर्थिक विषमताको मुख्य कारण पूँजीवाद, नवउपनिवेशवाद र साम्राज्यवाद हो। जसबाट छुटकारा पाउने एकमात्र उपाय हो क्रान्ति।

उनले भनेका छन् “मैले यात्रा गरेका देशरुको स्थिति हेरेर, त्यहाँको गरीवी र भोग रोकको निकट र जीवन्त सम्पर्कले ममा परिवर्तन ल्याउन थाल्यो। मैले यात्राको क्रममा पत्ता लगाएँ , स्रोत र साधनको अभावमा रोगी बच्चाहरुको उपचार गर्न म असमर्थ छु। मैले देखेँ– निरन्तर दमनका कार्यहरु जारी छन्। कुपोषणको आँधी चल्दैछ। यसै क्रमा मैले महसूस गर्न थालेँ, अनुन्धानकर्ता हुन मेडिकल साइन्समा योगदान दिन वा जनतालाई राहत दिन डाक्टर बन्नुभन्दा पनि महत्वपूर्ण कुरो हो– क्रान्तिकारी बन्नु।”

 

बोलिभियामा जीवनको शुरु र अन्य
त्यसपछि उनी १९५३ मा डाक्टरी पेशा छाडेर बोलिभियाको यात्रामा निस्किए। बोलिभियामा त्यसबेला पूँवीवादी सुधारवादी सरकारबाट राष्ट्रको टिन खानीलाई राष्ट्रिकरण गर्ने, जमिनहरु आदिवासी किसानहरुमा वितरण गर्ने सुधारवादी कार्यहरु भइरहेका थिए।

त्यसले चे ग्वेभारालाई थप बल मिल्यो। चे विशेषज्ञहरु भन्दछन् –“ बोलिभियाले चेको जीवनमा क्रान्तिकारिता भर्नेदेखि लिएर चेको जीवनको अन्तिम संघर्ष गर्ने प्रेरणा दिएको थियो। उनको जीवनको शुरु र अन्य बोलिभिया मै भएको थियो।”

बोलिभियाको क्रान्तिपछि गएर सुधारवादी बाटोतर्फ खस्दै जान थालेपछि चे चिन्तित भए। उनले ल्याटिन अमेरिकाका मुक्तिदाता सिमोन बोभिभारको शालिक अगाडि उभिएर बोलिभियाको सुधारवादको विरोध गर्दै भाषण गरे।

त्यसपछि उनी ट्रकमा चढेर पेरुको आदिवासी क्षेत्र तर्फ लागे। त्यसपछि उनी ग्वाटेमाला पुगे। ग्वाटेमालाको सुधारवादी सरकारको कारण उनी अर्जेन्टिनाको दूतावासमा दुई महिना शरण लिन पनि बाध्य भए।

ग्वाटेमालाको राजनीतिक दुर्घटनापछि चे मेक्सिकोमा गएर मार्क्सवादको गहिरो अध्ययन गर्न थाले।  मार्क्स र लेनिनका सम्पूर्ण रचनाहरुदेखि छापामार युद्धका कला–कौशलसम्म अध्ययन गर्न भ्याए।

 

क्यूबाली डाक्टरसँग भेटेपछि
त्यसपछि मेक्सिकोमा रहँदै गर्दा जून १९५५ मा उनको एक जना क्यूबाली डाक्टरसँग भेट भयो। क्यूवालीहरुमध्ये एक थिए निको लोपेज। जोसँग ग्वाटेमालामा हुँदा उनीहरुको भेट भएको थियो। निकोले चेलाई फिडेल क्यास्त्रोको नेतृत्वमा क्यूबामा भईरहेको क्रान्तिबारे सविस्तार भने।

कुराकानीको क्रममा क्यूबामा शसस्त्र संघर्ष छेड्ने तयारी भइरहेको भन्ने चेले थाहा पाए। त्यसपछि  फिडेल क्यास्त्रोका भाई राउल क्यास्त्रोसँग केही दिनपनि चेको भेट भयो। राउलबाट अझ बढि क्यूबामा भइरहेको क्रान्तिबारे चेले थाहा पाए।

पछि उनको फिडेल क्यास्त्रोसँग भेट भयो। त्यसपछि एक अर्जेन्टिनी नागरिक क्यूबाको मुक्ति आन्दोलनको सेना बनेर युद्धमा होमिए।

 

क्यूवामा उद्योगमन्त्री हुँदा तलब भत्ता लिएनन्
क्रान्ति सम्पन्न भएपछि फिडेल क्यास्ट्रो राष्ट्रपति भए। चे ग्वेभारा भने केन्द्रिय बैंकका अध्यक्ष र  उद्योगमन्त्री भए। तर रोचक तथ्य उनीले तलब भत्ता कहिल्यै लिएनन्। बरु निश्चित समय शारीरिक श्रमदान गरे।

त्यही रकमबाट आफ्नो गुजारा चलाउँथे ।
यता चेलाई मार्न निरन्तर अमेरिकी सरकारले आफ्नो कुख्यात गुप्तचर संस्था सीआईएलाई अह्राइरहेको थियो। सिआइएले चेलाई निरन्तर सन् १९५४ देखि १९६२ सम्म पछ्याइरह्यो।

ग्वाटेमालाको राजनीतिक दुर्घटनापछि चे मेक्सिकोमा गएर मार्क्सवादको गहिरो अध्ययन गर्न थाले।  मार्क्स र लेनिनका सम्पूर्ण रचनाहरुदेखि छापामार युद्धका कला–कौशलसम्म अध्ययन गर्न भ्याए।

उनी मन्त्री पदमा बसी रहेनन्। फिडेल क्यास्त्रोलाई धेरै महत्वपूर्ण सहयोग गरे। सारा विश्व घुमेर क्यूबाको समाजवादको लागि अन्तराष्ट्रिय समर्थन जुटाइरहे। अन्तत उनी मन्त्री पद त्यागेर निस्किए कङ्गो तर्फ।

 

हत्याको ४७ वर्षपछि चेको शव भेटियो
उनी पुगे १९६५ मा कङ्गो। जहाँ उनले क्रान्तिकारी विचार प्रवाह गरे। यसपछि बोलिविया पुगे। बोलिभियाको जनताको मुक्तिका लागि लड्दा लड्दै उनी पक्राउ परे। पछि उनको ९ अक्टोबर १९६७ हत्या भयो। हत्यापछि पनि चेको शव गुमनाम बनाइयो। पछि ४७ वर्ष पछि मात्र सार्वजनिक भयो।

२८ वर्षपछि चेको हत्यामा सम्लग्न रिटायर्ड बोलिभियाली सैनिक जनरल मारियो भर्गासले ठूलो आँटका साथ भने, ‘चेलाई अत्यन्त गोप्य रुपमा गाडिएको बेला म प्रत्यक्षदर्शी हुँ। चे सम्बन्धी रहस्य म अब खोल्छु।” उनकै सहयोगमा कयौं पटक अस्थिपञ्चर उत्खनन गर्ने कार्यहरु भए।
आज चेका सम्बन्धि कयौं पुस्तकहरु उपलब्ध छन्। उनकै क्रान्तिकारी जीवनसँग सम्बन्धित चलचित्रहरु निर्माण भएका छन्। उनको यात्रासँग सम्बन्धित मोटर साइकल डायरीको चलचित्र बनेको छ। गुरिल्ला युद्धको नियमहरु प्रकाशित छन्।

आज क्यूवाको सान्ता क्लारा शहरको बीचमा चेले बन्दूक उठाएको २३ टन तौल भएको भव्य शालिक निमार्ण भएको छ। जुन शालिक १९९७ अक्टोबर १७ तारिखमा निर्माण भएको थियो।

अक्टोबर ९ लाई क्यूबाली सरकारले ‘हिरोइक गुरिल्ला डे’ का रुपमा भव्य समारोह गरी कमरेड चेको स्मृति दिवस बनाउँदै आएको छ। जुन दिन चेको निर्मम हत्या भएको थियो।  त्यो भन्दा पनि ठूलो आज दुनियाँका श्रमजीवीहरुको मनमा सदा बास बस्ने अन्तर्राष्ट्रिय क्रान्तिका नायक बनेर कमरेड चे ग्वेभारा बाँचिरहेका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया