जिएसएसएसको ग्राउण्ड जिरो अप्रेशनः जनता थाकेको छैन-किरण बिके

दार्जीलिङः ‘दिल्लीमा मात्र होइन ग्राउण्ड जिरोमा पनि आउ,’ तीनमहिनासम्म गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिले यदि कुनै गुनासो सुन्न पऱ्यो भने त्यो यही थियो।

दार्जीलिङको नेटबन्दीको कारण जिएसएसएसले दिल्लीमा के गर्दैछ, त्यसबारे ग्राउण्ड जिरो अथवा दार्जीलिङ पहाडलाई धेरै जानकारी नै थिएन। यद्धपि, जिएसएसएसले दिल्लीको जन्तरमन्तरमा गरेको हरेक कार्यक्रमबारे सोसल मिडियाले कहीँकतैबाट पहाडलाई खबर दिइरहेकै थियो।

दार्जीलिङको तीनमहिने आन्दोलन जीटीए-2 मा टुङ्गिएपछि अब के? भन्ने प्रश्न शुरु भइसकेको छ, यसैको जवाब दिँदै जिएसएसएस टोली ग्राउण्ड जिरोमा सम्पर्क अभियानमा व्यस्त छ।

‘शहरबजारका जनताको साथसमर्थन र आन्दोलनमाथिको प्रतिबद्धताबारे दुइदिनमा धेरै थाहा पाइहाल्यौँ,’ ग्राउण्ड जिरोको अनुभव बताउँदै समितिका अध्यक्ष किरण बिकेले भने, ‘हामीलाई गाउँबस्तीका जनताहरूसम्म पनि पुग्नु थियो, त्यसै कारण आज बालासन पुग्यौँ र उनीहरूबीच अन्तरक्रिया गऱ्यौँ।’

बिकेहरूले बजारमा जनतासित भएको अन्तरक्रियाबाट एउटै कुरा थाहा पाए, त्यो थियो- टालटुले व्यवस्था होइन छुट्टै राज्य नै जनाकांक्षा हो।

छुट्टै राज्यसम्म पुग्नु हो भने आन्दोलन र मुद्दालाई दार्जीलिङमा मात्र खुम्च्याउनु सही नरहेको बताउँदै आइरहेको जिएसएसएसले उप्रान्त आन्दोलनलाई राष्ट्रीयकरण गर्न अनिवार्य रहेको ठान्छ। यसै कारण नै देशभरिका विभिन्न राज्यमा रहेका गोर्खाहरूलाई आन्दोलनसित जोड्न विभिन्न कार्यक्रम हातमा लिएको छ।

शीघ्र नै छुट्टै राज्य गोर्खाल्याण्डबारे केन्द्रले कुनै पक्रिया आरम्भ नगरे जिएसएसएसले 24 नोभेम्बरको दिन सारा भारतका गोर्खाहरूलाई समावेश गरेर संसद मार्च गर्ने कार्यक्रम बनाइसकेको छ।

विभिन्न कार्यक्रमहरू हातमा लिए पनि जुन ठाउँमा छुट्टै राज्य हुन्छ, त्यहाँका जनतासित पनि बहस, अन्तरक्रिया र चर्चा गर्न अनिवार्य ठानेर जिएसएसएसको एउटा टोली पहाड आएको छ।

हिजो दार्जीलिङमा यही टोलीको कुरा सुन्न जनसमुद्र उर्लिएको थियो। टोलीले पहाडका विभिन्न ठाउँमा जनसम्पर्क कार्यक्रम गरिरहेको छ।

यसैलाई निरन्तरता दिँदै जिएसएसएसको 18 सदस्यीय टोलीले आज बालासान वरिपरिका क्षेत्रहरूको भ्रमण गऱ्यो।

‘धेरै हल्ला छ, कि पहाडको समस्याको सामाधान भइसक्यो, तर जब हामी स्कूल गाउँ, कोठी गाउँतिर घुम्यौँ, थाहा पायौँ कि ग्रामीण क्षेत्रका मानिसहरूले अनेकौं हानी सहेर पनि एउटै कुरा पर्खिरहेका छन्, त्यो हो छुट्टै राज्य,’ बिकेले आजको भ्रमणको अनुभव सुनाए, ‘जनता निराश त छन् तर छुट्टै राज्य हुने आशा त्यागेका छैनन्। उनीहरू आन्दोलनमा नेताहरूले सानोसानो कुराको लागि सम्झौता नगरोस् भन्ने चाहान्छन्। आज हामीलाई उनीहरूले आन्दोलनमा धोका भएको दुःख प्रकट गरे, आफ्ना पीडा सुनाए। चार महिनासम्म लिएको ऋण तिर्नतिर उनीहरू खटिरहेको भए पनि राज्यको सपनालाई जनताले त्यागेका छैनन्। हाम्रो लागि उनीहरूभित्र रहेको आशा नै उर्जा बनेको छ।’

बिकेले यसरी बिभिन्न ठाउँहरूमा जनतासित, सचेत, विद्यार्थी, शिक्षक, लेखक,कर्मचारी, बेरोजगार तथा विभिन्न क्षेत्रका मानिसहरूसित भइरहेको अन्तरक्रियाले  भोलिको रणनीति निर्माणमा सहयोग पुऱ्याउने पनि बताए।

‘यतिजम्मै भइसकेर पनि जनता थाकेका छैनन्, यो कुराले हामीलाई उर्जा दिएको छ,’ बिकेले भने, ‘जिएसएसएसले समग्र जनताको सपना साकार पार्न उनीहरूको समर्थनलाई शक्तिकोरुपमा प्रयोग गर्नेछ। हामी हार्ने छैनौं। थाक्ने छैनौं। जनशक्ति गणतन्त्रमा सबैभन्दा ठूलो शक्ति हो। हामी लक्ष्यमा निश्चितरूपमा पुग्ने छौँ।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन