मुख्यमन्त्रीले 16-को वार्तामा अड़ान स्पष्ट पार्नुपर्छ, नत्र आन्दोलन हुनेछः गोरामुमो

दार्जीलिङः आगामी 16 अक्टोबरको दिन राज्यको सचिवालय नवान्नमा हुने तेस्रो द्विपक्षीय वार्तामा राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीले दार्जीलिङ पहाड़को स्थायी समाधानबारे आफ्नो अड़ान स्पष्ट नपारे गोरामुमोले आन्दोलन शुरू गर्ने चेताउनी दिएको छ।

आज गोरामुमो केन्द्रिय कार्यक्रम सेलका संयोजक वाई. लामाले यहाँ एक पत्रकार सम्मेलनको आयोजना गरी भने-राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीले दार्जीलिङ पहाड़ समस्याको स्थायी समाधानको कुरा गरेकी छन्, यसैले यो स्थायी समाधान कुन रूपमा हुनेछ, यसमाथि मुख्यमन्त्रीले आगामी 16 अक्टोबरको वार्तामा स्पष्टभकरण दिनुपर्छ। यदि उक्त स्पष्टीकरण वा राज्यको अड़ान स्वीकारयोग्य छैन भने गोरामुमोले आन्दोलन गर्नेछ। यद्यपि, उनले पनि आन्दोलनको रूप कस्तो हुन्छ भन्नेबारे स्पष्ट पारेनन्।

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले जीटीए (गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन)-लाई स्वीकार नगर्ने बताउँदै अघि भने-राज्यकी मुख्यमन्त्रीले सिलगढीको उत्तरकन्यामा भएको दोस्रो द्विपक्षीय वार्तामा  पहाड़ समस्याको स्थायी समाधानको कुरा गरेकी थिइन्, तर यसको केही समयपछिनै जीटीएलाई पुनर्बहाल गरियो।

यसको हामी विरोध जनाउँछौं। जीटीएले कुनै पनि स्थितिमा जनाकांक्षा पूर्ण गर्न सक्तैन, यसैले गत जून महीनामानै पहाड़का सबै राजनैतिक पार्टीहरुले जीटीएलाई खारेज गर्ने प्रस्ताव ग्रहण गरेका थिए। तर राज्य सरकारले पुनः जीटीएलाईनै अस्तित्वमा ल्याएर जनभावनामाथि कुठाराघात गरेको छ। यसलाई गोरामुमोले कदापि स्वीकार गर्नेछैन। यसैले अब आगामी 16 अक्टोबरको वार्तामा राज्य सरकारले पहाड़ समस्याको स्थायी राजनैतिक समाधान सूत्रमाथि आफ्नो अड़ान स्पष्ष्ट पार्नुपर्छ।

यति मात्रै होइन, केन्द्र सरकारले पनि अब पहाड़ समस्यामाथि आफ्नो मौनता तोड़्दै अलग राज्य गोर्खाल्यान्ड गठनबारे त्रिपक्षीय वार्ता बोलाउनैपर्छ। यसैबीच, आगामी 16 अक्टोबरको द्विपक्षीय वार्तामा गोरामुमोले भाग नलिने अघिबाटै पार्टी प्रवक्ता नीरज जिम्बाले दिएको बयानबारे प्रश्‍न गर्दा उनले भने-गोरामुमोका शीर्ष नेतृत्वहरुले 16 अक्टोबरको वार्तामा पार्टीबाट प्रतिनिधि टोली पठाउनैपर्छ।

यदि यस वार्तामा गोरामुमोले आफ्नो प्रतिनिधि टोल नपठाए गोर्खाल्यान्डबारे चर्चा हुन नसक्ने सम्भावना छ। यदि गोरामुमो अनि अन्य पार्टीका प्रतिनिधि टोलीले उक्त वार्तामा भाग नलिए त्यस वार्तामा केवल जीटीएको बोर्ड अफ् एड्मिनिस्ट्रेटरबारे मात्रै चर्चा हुनसक्छ। यसैले उक्त वार्तामा पहाड़ समस्याको स्थायी समाधानबारे राज्यलाई आफ्नो अड़ान स्पष्ट पार्न लगाउनको लागि पनि गोरामुमोले आफ्नो प्रतिनिधि टोली पठाउनैपर्छ।

यदि राज्य सरकारले जीटीएको साटो दागोपाप (दार्जीलिङ गोर्खा पार्वत्य परिषद)-लाई पुनर्बहाल गरेको भए गोरामुमोले स्वीकार गर्नेथियो? भन्ने प्रश्‍न गर्दा उनले भने-जीटीएले जसरी गोर्खा जातिको आकांक्षा पूर्ण गर्न सक्तैन, त्यसरीनै दागोपापले पनि जनाकांक्षा पूर्ण गर्नेछैन। यदि छैटौं अनुसूची लागू गरे? भन्ने प्रश्‍न गर्दा उनले गोरामुमोले छैटौं अनुसूचीभन्दा पनि माथिको व्यवस्था चाहेको कारणनै आन्दोलनमा सहभागी बनेको हो भन्ने बताए।

यसका साथै उनले भने-केन्द्र सरकारले गोर्खाल्यान्डको लागि एक आधिकारिक वार्ता बोलाउनुपर्छ, चाहे त्यस वार्तामा गोजमुमो अध्यक्ष विमल गुरूङले भाग लिउन् वा जीटीएको बोर्ड अफ् एड्मिनिस्ट्रेटरका अध्यक्ष विनय तामाङ सामेल होउन्। गोरामुमो गोर्खाल्यान्डको लागि त्रिपक्षीय वार्ता होस् भन्ने चाहन्छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन