बन्द अवधिको बील इन्सटलमेल्टमा तिर्ने प्रावधान जनसाधारणलाई दिइयोस्- डा छेत्री

कालेबुङ, 10अक्टोबर।

बन्द अवधि तिर्न नपाएका बीलहरू एकैचोटी नभएर इन्सटलमेन्टमा तिर्न पाउने प्रावधान विभिन्न विभागहरूले दिनुपर्ने माग डा. हर्कबहादुर छेत्रीले गरेका छन्।

जन आन्दोलन पार्टी अध्यक्ष छेत्रीले आज उक्त माग उठान गर्दै जनसाधारणको असुविधालाई मध्यनजर राखेर नै आफूले यो कुरा अघि ल्याएको बताएका छन्। उनले भने- “104 दिनको बन्दबीच थुप्रैवटा समस्याहरू उत्पन्न भएका छन् जुन समस्याको कुरा उठान भएको छैन। मानिसहरूले बिजुली, टेलिफोन, स्कूलको मासिक शुल्क, गाडीको इन्सटलमेन्ट आदि एकैचोटी तिर्नपर्ने अवस्था आएको छ। एकातिर बन्द शुरू भएदेखि यता तलब नपाएको अनि अर्कोतिर एकैचोटी यी सम्पूर्ण रकमहरू तिर्नपर्ने नत्र लाइन काटिने, गाडी कम्पनीले फर्काएर लैजाने आदि जस्ता समस्या मानिसहरूले भोगिरहेका छन्। यसर्थ विभाग अनि जनसाधारण दुवैपक्षको सुविधालाई मध्यनजर राखेर तिर्नपर्ने रकम इन्सटलमेन्टमा तिर्नसक्ने प्रावधान प्रदान गरिनुपर्छ।”

“विद्यालय कतृपक्ष, बिजुली विभाग, टेलिफोन विभाग, एग्रिकल्चर विभाग, मोटर भेहिकल विभाग लगायत विभिन्न ब्याङ्क अनि इन्स्योरेन्स कम्पनीहरूलाई पनि हामी अनुरोध गर्न चाहन्छौं कि जनसाधारणलाई रकम तिर्नको निम्ति ‘ईजी इन्सटलमेन्ट’  सुविधा प्रदान गरियोस् ताकी विभागलाई पनि नोक्सानी नहोस् अनि जनसाधारणलाई पनि असुविधा नहोस्”- उनले भने। अहिले धेरै मानिसहरू यस्ता समस्या लिएर जापसमक्ष आइरहेकोले जनताको हितार्थ नै उक्त कुराको उठान गर्न आफू अघि आएको अनि सम्बन्धित विभागहरूलाई आवश्यक परेको खण्डमा एउटा टोली गएर भेट गर्ने निश्चित गरिसकेको छेत्रीले बताएका छन्।

जनसाधारणले आन्दोलन अवधि बाध्यताको कारण नै बील तिर्न नसकेको कुरालाई मध्यनजर राखेर विभागले पनि यस दिशामा पहल गर्नुपर्ने बताउँदै उनले भने- “विभागले जबरजस्ती बील तिराउन खोजेको कारणले गर्दा जन आन्दोलन पार्टीले उक्त विभागहरू घेराउ गर्नुपर्ने, धर्ना गर्नुपर्ने स्थिति नआवोस्।”

जनसाधारणले कुनै पनि असुविधा भोगिरहेका छन् भने जन आन्दोलन पार्टी कार्यालयमा आएर सम्पर्क गर्नसक्ने अनि पार्टी उनीहरूको समस्याको समाधानार्थ विभागीय अधिकारीहरूसित कुराकानी गर्न तयार रहेको छेत्रीले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन