कालेबुङ दखल गर्ने अभियान शुरुः आज अनित भोलि विनयः भीड भेट्यो कि गोर्खाल्याण्ड माग्नु हुँदैनः अनित

प्रज्ज्वल छेत्री

कालेबुङः जिटीए जिटीए बोर्ड अफ एडमिनिष्ट्रेशनका चियरमेन विनय तामाङ कालेबुङ आउन एकदिन अघि नै कालेबुङको स्थिति बुझ्न  उपाध्यक्ष अनित थापा आज कालेबुङ आइपुगे। आफूहरूको पक्षमा जनता कति छन् भन्ने बुझ्न उनीहरू कालेबुङ आएका हुन्। वाहनहरूको लामो ताँतीसितै कालेबुङ भित्रिएका अनित थापालाई टिस्टामा स्वागत जनाइएको थियो। उनी डेलो टुरिस्ट लजमा बसेका छन् जहाँ उनलाई भेट्न जाने समर्थकहरूको सङख्या धेरै छ। भोलि विनय तामङ पनि कालेबुङ आइरहेका छन्।

आज कालेबुङ आइपुगेका अनित थापाले पत्रकारहरूलाई सम्बोधन गर्दै जनतामा देखिएको अन्योलता अनि उनीहरूलाई लागेको लाञ्छना हटाएर जनतालाई साँचो कुरा बझाउने उद्देश्यले कालेबुङ आएको बताए।

विमलले नै जिटीए-2 चलाएका हुन्

‘गोर्खाल्याण्डको मुद्दामा विमल गुरुङसित सोचको मात्र फरक हो। गोर्खाल्याण्ड माग्ने तरिकाको फरक हो। साधरण मानिसहरूले धेरै दुःख पाए। यही सोचको विरोध गर्दा जिटीए-2 निस्किएको हो’, थापाले के आरोप लगाए भने, ‘वास्तवमा तेङ्गलना राज्य बन्नलाग्दा जिटीएबाट विमल गुरुङले राजीनामा समेत दिएका थिए। त्यसबेला हामी जेलमै थियौँ। हामी जेलमै भएको समय हामीलाई नसोधी विमल गुरुङले जिटीए थापेका हुन्। त्यतिबेला कसैले विमललाई बङ्गालसित मिल्यो भनेनन्। आज जिटीए अरूको हातमा नजावोस्, हाम्रो ठाउँमा हामीले नै सर्विस् दिऔं भनेर जिटीएमा बसेका हौँ।’

उनले अझ भने अनुसार विमल गुरुङले थापेको जिटीए बङ्गालभित्रकै व्यवस्था भन्नेकुरा सबैलाई थाहा थियो। तर त्यसबेला विमल गुरुङ मिरजाफर भएनन्। जिटीए थापेपछि मिलेर चलाउनुपर्थ्यो तर विमल गुरुङले राज्यसित मिल्नको सट्टा झगडा गरेको थापाले सङ्केत गरे।

विमलले जनतासित भावानात्मक खेलवाड गरे

‘गोर्खाल्याण्डको नाममा मोर्चाले जहिले जनतालाई भावनामा बगायो। मान्छेको भीड भेट्यो कि गोर्खाल्याण्ड माग्नु हुँदैन’ मान्छेको भीड भेट्यो कि गोर्खाल्याण्ड माग्नु हुँदैन’, थापाले गोर्खाल्याण्ड माग्ने परिस्थित र तरिका ठिक नभएको आरोप लगाउँदै भने, ‘ केन्द्रमा गएर आन्दोलन गर्नु ठिक हो कि होइन भनेर बुझेर गर्नुपर्थ्यो। अन्धाधुन्ध आन्दोलन भयो रिजल्ट जिरो छ।’

गोर्खाल्याण्डको निम्ति नै उनीहरूले त्रिपक्षीय वार्ताको समेत माग गरिरहेको भन्दै वार्ताहरूमा जाँदा धेरै शिक्षित अनि तर्क गर्नसक्ने मानिसहरू जानुपर्ने बताए।

‘हामी भावनामा बग्छौँ। यहीँ भावनामा लिडरहरूले राजनीति गर्छ’, थापाले भने, ‘यो भावनाको खेलवाड भयो। हामीले बङ्गालभित्रको व्यवस्था थापेको हो। गोर्खाल्याण्ड सिस्टममा माग्नेछौँ।’

उनले गोर्खाल्याण्ड माग्दा शिक्षित जमात अघि आउनुपर्ने बताउँदै थपे, ‘कुनै पनि मुभमेन्ट गर्दा डिजाइन हुनुपर्छ। डिजाइन छैन, प्लान छैन। मान्छेको भीड भयो विमलले गोर्खलायाण्ड भनिहाल्छ। जबसम्म शिक्षित जमात अघि आउँदैन सायदै गोर्खाल्याण्ड सम्भव छैन। हामीलाई नेतृत्व गर्ने शिक्षित जमात चाहिन्छ।’

हाम्रो लिडर को हुनेछ, थाहा छैन

उनले 16 अक्टोबरको राज्यसितको वार्तामा त्रिपक्षीय वार्तासितै जनताको समस्याको कुरा पनि गर्ने भन्दै विकास सम्बन्धमा कुरा हुने बताए।

मोर्चा अध्यक्ष विमल गुरुङ अनि महासचिव रोशन गिरीलाई साइडलाइन गरेर नयाँ मोर्चा बनाउने योजनाबारे प्रश्न गर्दा उनले भने, ‘विनय तामङलाई को-अर्डिनेटर बनाउँदा सबै नेताहरू थिए। हामी को-अर्डिनेसनको अन्डरमा काम गर्दैछौँ। गोर्खाल्याण्ड माग्ने लिडर फिल्डमा हुनुपर्छ। अर्गनाइसेजन भर्खर बनिँदैछ, को लिडर हुन्छ त्यो तय छैन।’

उनले गोर्खा जनमुक्ति मोर्चा व्यक्तिविशेषको दल नरहेको बताए।

‘मोर्चा व्यक्तिविशेषको पार्टी होइन। सबैले मिलर बनाएको पार्टी हो। पार्टी कुनै पनि व्यक्तिविशेष भए बिग्रिएर जान्छ। अध्यक्षले भूल गरोस्, भूललाई भूल भन्न सक्नुपर्छ। मोर्चा व्यक्तिविशेष बनाउन चाहँदैनौँ। मोर्चालाई व्यक्तिविशेषको पेवा होइन, समुहको पेवा बनाउन चाहन्छौँ,’ उनले भने।

उनले जनतासित झुट बोलेर आफूहरूले राजनीति नगर्ने बताए। जिटीए बङ्गालभित्र रहेकोले बङ्गालसित मिलर नै काम गर्ने बताउँदै  ‘गोर्खाल्याण्ड मागिरहेका छौँ, सँगसँगै विकास पनि गर्छौँ’-भने।

कालेबुङ हाम्रै पक्षमा छ

कालेबुङमा 65 प्रतिशत जनता आफूहरूको पक्षमा रहेको दावी गर्दै उनले भने, ‘आज जुन अध्यक्षले नगरपालिका अध्यक्ष बनाए, त्यही नगरपालिका अध्यक्षले आफू कुन पक्षमा छु भनेर स्पष्ट भन्न सकिरहेका छैनन्। कालेबुङले हामीसितै रहेको अप्रत्यक्ष सङ्केत दिसकेको छ। कालेबुङ हामीसित छ।’

उनले यसअघिसम्म मोर्चाभित्रै पनि बाहिरका नेताहरूले कालेबुङमा धलिमलि गर्ने गरेको भन्दै कालेबुङलाई कालेबुङकै नेताहरूले चलाउनुपर्ने बताए।

कालेबुङको डेलोमा बसेका अनित थापासित आज पूर्व सभासद् कल्पना तामाङ, सञ्चबीर सुब्बा, प्रवीण रहपाल, कमल सुब्बा, विनय घिसिङ, विदुर राई आदि सँगै रहेका थिए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन