पेदोङबाट विस्फोटकसहित दुई पक्राउ, पूर्व सभासदसहित दुईजना भागेको पुलिस अधिक्षकको भनाइ

कालेबुङ, 13अक्टोबर।

भारी मात्रामा विस्फोटक अनि आग्नेयास्त्रसहित पुलिसले आज पेदोङबाट दुईजनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरू पेदोङको मूल साक्योङ निवासी विवेक राई अनि राखी छेत्री रहेका छन्।

कालेबुङ जिल्ला पुलिस अधिक्षक अजितसिंह यादवले बताएअनुसार गुप्तचर विभागको रिपोर्टको आधारमा मूल साक्योङ निवासी सुमन छेत्री अनि बुद्ध राई नामक व्यक्तिहरूको घरमा पुलिसले आज छापा मारेको थियो। छामामारी अवधि उक्त घरबाट व्यापक मात्रामा विस्फोटक अनि आग्नेयास्त्र फेला परेको अनि छापामारी अवधि सुमन छेत्रीकी पत्नी राखी छेत्री अनि विवेक राईलाई पक्राउ गरिएको पुलिस अधिक्षक यादवले बताए। छापामारी अवधि घटनास्थलबाट सुमन छेत्री, बुद्ध राई सितै पूर्व सभासद दावा लेप्चा पनि भाग्न सफल बनेको जिल्ला पुलिस अधिक्षक यादवले बताएका छन्।

“विस्फोटकहरू थुपारिएको तथा आग्नेयास्त्रहरू भित्र्याएको जानकारी पाएर हामीले कतिपय महत्त्वपूर्ण व्यक्तिहरू जस्तै पूर्व सभासद दावा लेप्चामाथि नजर राखिरहेका थियौं। सोही क्रममा दावा लेप्चाका ड्राईभर नामग्याल भोटीयासित सम्बन्धित रहेका मूल साक्योङ निवासी सुमन छेत्रीको घरमा विस्फोटक तथा आग्नेयास्त्र रहेको गुप्त सूचना पाएर हामीले छापामारी गरेका थियौं। सूचनाअनुरूप सुमन छेत्री अनि बुद्ध राईको घरबाट धेरै मात्रामा विस्फोटक अनि आग्नेयास्त्रसहित दुईजनालाई पक्राउ गरिएको छ भने अन्य कतिपयसित घटनासित संलग्न रहेको शङ्कामा सोधपुछ चलिरहेको छ”-जिल्ला पुलिस अधिक्षक यादवले घटनाबारे यसरी जानकारी गराए।

पुलिस अधिक्षक यादवले दिएको जानकारी अनुसार सुमन छेत्री अनि बुद्ध राईको घरबाट 12 बोरको 3 वटा बन्दुक, एउटा देशी पिस्तोल, 400 ग्रामको 22 वटा जिलेटीन, 125 ग्रामको जिलेटीन 22 वटा, 60 वटा इलेक्ट्रीक डिटोनेटर, एउटा खदुवा, धनुकाँड लगायत अन्य सामाग्रीहरू फेला परेको छ।

“सम्पूर्ण घर नै कारखाना जस्तो रहेको थियो। विस्फोटकहरू लगायत फलामका पाइप काट्ने मसिन, वेल्डिङका सामाग्रीहरू लगायत अन्य सामाग्रीहरू त्यहाँ उपलब्ध रहेको थियो”- उनले अझ भने- “इन्टिलिजेन्सको रिपोर्ट अनुसार चाँडै नै उक्त विस्फोटक अनि हतियारहरू पुलिस विरूद्ध प्रयोग गर्ने तयारी चलिरहेको थियो।”

कालेबुङ जिल्ला पुलिसले यति भारी मात्रामा विस्फोटक उद्धार गरेर आतङ्क फैलाउनेहरूको उद्देश्य पूर्ति हुन नदिएको बताउँदै यस्ता आतङ्की क्रियाकलापसित संलग्न रहेकाहरू विरूद्ध पुलिसले निरन्तर रूपमा कार्यवाही गर्दै आइरहेको फलस्वरूप नै सफलता प्राप्त भएको पुलिस अधिक्षक यादवले बताए। आज पक्राउ परेकाहरू विरूद्ध यूएपीए अन्तर्गत मुद्दा दर्ता गरिएको अनि थप दुईजनासित केरकार चलिरहेको जानकारी उनले दिएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन