जिएसएसएसले गर्ने ‘जाति उन्मुक्तिको निम्ति सर्व गोर्खा एकिकरण’- विषयमा चर्चाः शक्ति गोलबद्ध गरेर सामुहिक नेतृत्वमा लड्नुपर्ने सही बेला आयो-किरण बिके

कालेबुङः गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिले दार्जीलिङलाई आन्दोलनको ‘ग्राउण्ड जिरो’ भन्ने गरेको छ। त्यही ग्राउण्ड जिरोमा घरिघरि अशान्ति भइबस्छ, त्यही ग्राउण्ड जिरोमा सङ्कटको बेला सबै दल, सङ्घ-संस्था, बुद्धिजीवी मौन छन्, त्यही ग्राउण्ड जिरोमा हिंसा हुन्छ। त्यही ग्राउण्ड जिरोमा अत्याचार हुन्छ, मानवाधिकार हनन हुन्छ तर कोही पनि बोल्दैनन्।

जिएसएसएसलाई यो मौनता र निरिहताले सामाजिक मूल्य निरन्तर नष्ट गरिरहेको अनि यसले विस्तारै जाति उन्मुकितको निम्ति लड्ने उर्जालाई पनि नष्ट गरिरहेको लागेको छ।

जिएसएसएसका अध्यक्ष किरण बिकेले खबरम्यागजिनसित बोल्दै सबै दल, सङ्गठन, बुद्धिजीवी, सचेतहरूको मौनताले आन्दोलनलाई दुश्मनहरूको दवाब रणनीतिलाई नै सफल बनाउन सहयोग पुगिरहेको अनि यता आन्दोलनकारीहरूको लडाकू चेतना र उर्जा भने निरन्तर नष्ट हुँदै गइरहेको जो नितान्तै चिन्ताको विषय रहेको बताउँदै भने, ‘आइतबार (15 अक्टोबरको दिन) सिलगढीमा  ‘जाति उन्मुक्तिको निम्ति सर्वगोर्खा एकिकरण’-को निम्ति सर्वभेला र चर्चा कार्यक्रम गरिरहेका छौं, यसमा सबै सरोकारवाला संस्था, दल, व्यक्तिहरूलाई उपस्थित बनिदिने अनुरोध गर्छु।’

अहिले गोर्खाहरूको शक्तिलाई टुक्राउने आन्दोलनका दुश्मनशक्तिले जुन फर्मुला अप्नाइरहेको छ, त्योसित जुझ्न सबैलाई एकबद्ध गरेर, संयुक्तरूपमा उप्रान्त जाति मुक्तिको निम्ति लड्न, सबै राजनैतिक दल, संस्था, सचेत व्यक्तिहरूलाई गोलबद्ध गर्ने प्रयासस्वरूप यो सर्व गोर्खा भेला गरिने उनले बताएका छन्।

‘यसदिन पहाडको स्थितिबारे चर्चा गरौं। जनता नै दुःखमा छ, विभिन्न दलका नेता, राजनैतिक, अराजनैतिक सङ्गठन, सङ्घ संस्था, सांस्कृतिक, सामाजिक, व्यक्तिहरू सबैको दायित्व मुद्दा र जनतालाई बँचाउने हो,’ उनले भने, ‘जाति उन्मुक्तिलाई सोचेर, एक भएर, मुद्दालाई सर्वोपरि राखेर, गोर्खा भएर, जे जे भयो सब भुलेर अब एकबद्ध भएर लड्नुपर्ने अबसमय आयो। एकपल्ट सबै बसेर चर्चा गरौं र निचोड निकालौं र आगामी रणनीति तयार पारौँ।’

यसअघि पनि सबैलाई समेटेर हिँड्ने प्रयास अन्य पार्टीहरूले गरेको तर ती सबै –आफ्ना स्वार्थका प्रयासहरू रहेकोले असफल भइसकेको तर यसपटक निस्वार्थरूपले अघि बढ्नै पर्ने दायित्व सबैमा रहेको उनले बताए।

‘हामी के गर्न सक्छौँ, त्यो गरौं, कलेक्टिभ लिडरशिपको फर्मुला त फेल भइसकेको छ, तर हामीले निरन्तर प्रयास गर्नुपर्छ, सबैलाई चर्चामा भाग लिइदिने अनुरोध गर्छौँ,’ उनले भने, ‘सबैमा भएका शक्तिलाई एकिकृत गर्न अनिवार्य भयो। हामी गोलबद्ध भएनौं भने यस्तो अशान्ति निरन्तर हुनेछ। हामी सँधै पीडित बनिरहनुपर्ने छ। यी सबैबाट उन्मुक्त हुनको निम्ति सबै गोल्बद्ध भएर लडाईँमा उत्रन जरुरी छ।’

अहिले मुद्दा र जनता दुवै सङ्टकमा रहेकोले पनि सबै शक्तिहरूलाई गोलबद्ध गरेर सामुहिक नेतृत्वमा लड्नुपर्ने सही बेला आएको उनले बताए।

‘हामीले जाति उन्मुक्तिको निम्ति आफूसित भएको ज्ञान, दस्तवेज, शक्ति साझा गरेर त्यसलाई एकमुष्ट बनाएर प्रयोग गर्नुपर्छ,’ उनले भने, ‘यो सही समय हो, एक हुने र लडाईँ गर्ने। शक्तिलाई गोलबद्ध गर्नु नै अहिलेको वैकल्पिक बाटो हो।’

सङ्कटमा सबैले आ-आफ्नो दायित्व पालन गरे मात्र उ साँच्चैमा जनहितका दल, संस्था र व्यक्ति रहने भन्दै सबैले आफ्नो दायित्व पालन गरिदिने आह्वान पनि उनले गरेका छन्।

‘जनतालाई आतङ्कबाट निकाल्न र जातिमुक्तिको लागि गर्नुपर्ने जुन दायित्व छ, त्यो जिएसएसएसको मात्र होइन, सबै दलको हो,’ उनले भने, ‘सबै दल, संस्था, वरिष्ठ व्यक्ति, सचेत, बुद्धिजीवीहरूलाई हिजो के के भयो सबै बिर्सेर यो गोलबद्ध हुने बैठकमा आइदिने अनुरोध गर्छौँ।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन