हतियार बोक्नेहरूलाई विनय खेमाको चेतावनी, पुन: पहाड बन्द हुन नदिने दिए आश्वासन

कालेबुङ, 14अक्टोबर।

गोर्खा जनमुक्ति मोर्चाको विनय तामाङ खेमाले आज कालेबुङको डम्बर चोक लगायत शहरका अन्य स्थानहरूमा पोष्टरीङ गरेर हिंसाको समर्थन गरेर भावी पिढीको भविष्य बिगार्नेहरूलाई होशियार भन्ने चेतावनी दिएको छ।

गोजमुमोका संस्थापक सदस्य प्रबीण रहपाल, कमल थापा आदिको नेतृत्वमा गरिएको उक्त पोष्टरीङपछि उनीहरूले हतियार बोकेर, हतियार चलाएर अनि बम पडकाएर गोर्खाल्याण्ड हुन्छ भन्ने कुरामा पटक्कै विश्वास नराख्ने बताए। उनीहरूले सोझै विमल गुरूङ खेमाको नाम उल्लेख नगरे तापनि हिजो दार्जीलिङ अनि पेदोङबाट भेटिएका विस्फोटक अनि आग्नेयास्त्रहरूको कुरा उल्लेख गर्दै यस्ता हतियार बोक्ने अनि हतियार प्रयोग गर्नेहरूको आफूहरूले विरोध जनाउने बताए।

“गणतान्त्रिक देशमा हामी गणतान्त्रिक ढङ्गमा गोर्खाल्याण्ड माग्छौं। हतियार चलाउने, बम पडकाएर गोर्खाल्याण्ड हुन्छ भन्ने कुरामा हामी विश्वास गर्दैनौं”- कमल थापाले भने। सोसियल मीडियामा पहाडमा पुन: बन्द हुने कुरा भाइरल भइरहेकोमाथि पनि उनले प्रतिक्रिया व्यक्त गर्दै भने- “अब पहाडमा स्ट्राइक हुँदैन। यहिँ सन्देश दिनको निम्ति पनि हामीले पोष्टरीङ गरेका हौं।”

गोजमुमोका संस्थापक सदस्य तथा वर्तमानमा विनय खेमाका पक्षधर प्रबीण रहपालले पनि अबोप्रान्त हतियारको सहयोगमा होइन तर बौद्धिक जमातको सहयोगमा बौद्धिक लडाई हुनुपर्ने बताए। “अबको आन्दोलन राज्यमुखी होइन केन्द्रमुखी हुनुपर्छ”- उनले भने। अहिले कालेबुङबाट व्यापक मात्रामा विनय खेमालाई समर्थन जनाउनेहरू अघि आइरहेको भए पनि त्यसको सम्पूर्ण खुलासा भने तिहारपछि गरिने उनले बताए। तिहारपछि विनय तामाङ अनि अनित थापा पुन: कालेबुङ आउने तय भइसकेको जानकारी पनि उनले दिए।

आज कालेबुङमा गरिएको पोष्टरहरूमा शान्तिमय पहाडलाई काश्मिर नबनाउ, देशभक्त गोर्खाहरूलाई आतङ्कवादीको कलङ्क नलगाउ, गोर्खाल्याण्ड हाम्रो संवैधानिक माग हो, गणतान्त्रिक ढङ्गले प्राप्त गर्नेछौं, पहाड बन्द हुनेछैन, जनतालाई दुख दिनेछैनौं, बन्द हुने झुटो अफवाहमा विश्वास नगर्नुहोस् आदि कुराहरू लेखिएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन