शरण मुस्कान-का तीन कविता

बर्खा

धैर्यताको नाकेडोरी चुँड़ाएर

खोलाले साँघु भत्काउने बेला हो-यो।

 

ओ इञ्जिनियर!

यतिबेला तिमी अलि जोगिनु

खोलालाई पटक्कै नजिस्काउनु

तिमीले खिचिराखेको आगे चल-का बक्ररेखाहरू  नदेखाउनु

कदम-थामका  कङ्क्रिट पर्खालहरू पनि त्यसलाई नदेखाउनु

खोलालाई उन्मुक्तिको मात चढ्ने बेला हो यो

पहाड़-पर्खालहरू सबै भत्काउँदै

खोलाले आफ्नै बाटो हिँड़्ने बेला हो यो।

 

बर्खाको त्राण शरीरमा पसेपछि

उन्मुक्तिको मात नशा- नशामा चढेपछि

खोला बौलाउँछ र तिमीले सिकाएको गीत बिर्सिन्छ।

तिम्रो गीत बिर्सिएको बेला

खोलाले तिम्रो किताबभित्रको कानून बिर्सिन्छ

तिम्रा हुकुमहरू बिर्सिन्छन् र आफ्नै लोकधून गुन्गुनाउँछ।

 

ओ इञ्जिनियर!

खोलाले आफ्नै भाका हालेको बेला

तिमीले खोलालाई सुन्नु

तिमीले बर्खालाई बुझ्नु।

 

खबरदार!

अहिले बर्खा लागेको छ

यसैले खोला बौलाएको छ।

 

युद्दको बेला

तिम्रो हत्केलाबाट उड़ेको सेतो परेवा

यही आकासमा त हो हराएको

 

त्यो दिन

जब तिमीले बन्दूक उठाएका थियौं

तिम्रो दुई हत्केलामा सधैँ बास गर्ने

ती एकजोड़ सेता परेवाहरू पनि बसाई सर्दै

नीलो आकासमा उड़ेका थिए।

 

त्यसपछि

तिम्रो बन्दूकबाट उठेको धुवाँले

हाम्रो आकास धमिलिन शुरू भयो।

 

घामको ओठबाट मुस्कान खस्यो

छहारी दिने जूनको बोटै ढल्यो

हामीलाई माया गर्ने असख्यौं ताराहरू घाइते भए।

 

त्यही दिनदेखि

तिमी आफैलाई एक्लो ठान्न थालेका हौं

तिमीलाई आफैसित डर लाग्न थालेको हो।

 

धुवाँ हटेको कुनै एकदिन

त्यो निर्दोष आकासको अनुहारलाई हेर्नु

त्यहाँ रोइरहेको घाम र जूनलाई हेर्नु

घाइँते ताराहरूको चोटलाई हेर्नु

त्यसपछि आफैलाई सोध्नु-

तिम्री आमाले सजाइराखेको ताराहरूको गाउँ

उराठ कसले बनायो?

तिम्रो बा ले बनाइराखेको देवताहरूको घऱ

उजाड़ कसले बनायो?

 

त्यसपछि म बताउनेछु साथी

बारूदको धुवाँभित्र

तिमीले के-के पाएका छौं

तिमीले के-के गुमाएका छौं।

 

वर्चस्वको कुरा

घरका असहाय आँखाहरू

जम्ले हात गरेर जब आकासतिर उठ्छन्

चम्किन्छ देवताहरूको अनुहार

र हातपाई हुन्छ घरको तरूणी शरीरमाथि।

 

घरका आँखाहरूले देख्छन् त्यतिबेला

प्रलय बोकेर गद्दिबाट ओर्लिरहेको देवता

फूलहरू झार्दै आफूतिर बढ़िरहेको आँधी।

 

प्रलयलाई जितेर

ज-जसले आफ्नो निम्ति बाटो बनाए

देवता अहिले उनीहरूको अधीनमा छन्।

 

यसैले भन्दैछु-

देवताको नजर लागेको छ अहिले हाम्रो घरलाई।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया