रवि रोदन-का तीन कविता

युद्धको बाँसुरी

आँखाभरि

रगतको पोखरी छ

नपुसंक शिकारी तीखो हतियार बोकेर

सुकरातहरूको छातीमा

रगतले मृत्यु कोरिरहेछ।

 

बिहानै

उज्यालो खसेपछि

आमाहरू सुइटर बुन्दिनन्

रोटी पनि बेल्दिनन्

आमाहरू कात्रो बुन्छिन्।

 

बागीहरू

आफ्नै झ्यालको फ्रेमबाट

आफ्नै अनुहारको नक्सा खोजिरहेछन्

र खोजिरहेछन्

इतिहासको मूलसडकमा

उनीहरूले खोजेको बाटो।

 

शहरका

भित्ताभरि ठुलठुला प्वाँल छन्

भित्ताहरू बारूद गनाउँछ

रगतका बाछिटाहरूले बनिएका

रातो पुतलीहरू

मुक्ति चाहन्छन्।

 

रगत

सिरियाको सडक

मुल बाटो/ गल्ली

गाउँ र गलछेडीभरि

तपाईँले जति रगतका टाटाहरू

देख्नु भो नि?

ती राता रगत

कुनै समय फौलादी मुटु भएको मान्छेको नसानसामा

उमलेर ताततातै बगेको थियो

विद्रोहको विगुल फुक्दै।

 

आज ती रगतले

भित्ताभरि पुरा हुन नसकेका

सपनाहरूको बिउ र सङ्घर्षका अपुरा कथाहरू कोरिदिएको छ

उनीहरू विद्रोहको गीत गाउँदा गाउँदै मारिएका हुन्

हत्यारा सरकार हो

तर हेर्नुहोस्न

भित्ताभरि पोतिएको रगतले

उनीहरूको अजर अमर

सपना र विचारको सिम्फोनी गाइरहेछ।

 

हेर्दै जानु

एउटा अट्टेरी पुस्ता फेरि खडा हुन्छ

एउटा अराजक गुट फेरि विद्रोह गर्न तम्सिन्छ

सरकार फेरि एके ४७ बोकेर कुद्छ

बन्दुक र बारूद थुपार्न थाल्छ

भित्ताभरि फेरि रातो रगत दल्न।

 

धुन

कानले सुन्दैन

रिसको गीत

न देख्छ आँखाले

मनको राप।

 

यो त्यही गल्ली हो

जहाँ हाम्रा पयरहरू

काँडा कुल्चेर

जीतको सपना देख्थ्यो

र देख्थ्यो पुर्खाहरूको हराएको अनुहार।

 

आगोका खुट्टाहरू

हाम्रो बस्ती पसेपछि

हाम्रो निधारमा बलजफ्ती काँटी ठोकिएको छ।

 

विद्रोहको बाँसुरी

उनीहरूको बुटले बेस्सरी कुल्चेर भाँचेपनि

हामीले हाम्रो गीतका रागहरू

बिर्सिएका छैनौं

नपत्याए गोली हाम्रो छातीमा ठोकेर हेर्नुहोस्।


प्रकाशोन्मुख कविता सङ्ग्रह  ‘युद्ध- सिम्फोनी’-बाट।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया