इतिहासले डाक्टर ओङदेनलाई किनारीकृत नगरोस् : इल्टा

कालेबुङः ‘डाक्टर ओङदेन लेप्चाले पहाड़को निम्ति जीवनभर काम गरे। औषधि र चिकित्सकहरूको अभावबीच पहाड़वासीको निम्ति भगवान बनेर कार्य गरे। तैपनि उनको योगदानलाई इतिहासले किनारीकृत गरिरहेको अनुभव हामी कहिलेकहीं गर्छौं। उनको योगदानलाई पहाड़वासीले भुल्नु हुँदैन’, कालेबुङको टाउन हल परिसरमा राखिएको डाक्टर ओङदेन लेप्चाको सालिग परिसरमा उनको जन्मोत्सव पालन गरेपछि इण्डिजिनियस लेप्चा ट्राइबल एसोसिएशनका महासचिव रूमदेन लेप्चाले आज यसो भने।

कालेबुङको पहिलो डाक्टर ओङदेन लेप्चाको स्मरण गर्दै आज यहाँको रामकृष्ण रङ्गमञ्च परिसरमा लेप्चाहरूले विशेष कार्यक्रमको आयोजना गरेको थियो। प्रत्येक 15 अक्टोबरको दिन डाक्टर रोङ्गोङको जन्मोत्सव लेप्चाहरूले टाउन हल परिसरमा नै पालन गर्ने गरेको छ। सोही स्थलमा उनको सालिग पनि स्थापना गरिएको छ। 1882 मा जन्मेर 1934 सम्म कालेबुङको निम्ति डाक्टर ओङदेनले जुन सेवा कार्य गरेको छ, त्यो पहाड़वासीले कहिले भुल्न सक्दैन।

पहाड़मा प्लेक्स हैजा लाग्दा हजारौं मान्छेले ज्यान गुमाएका थिए। त्यसताक चिकित्सक र औषधिको अभावबीच उनले पहाड़वासीको निम्ति जुन सेवा कार्य गरे, जसको कारण हजारौ मानिसहरूको ज्यान बँचेको थियो। तक्नीकको अभावबीच दिनरात रोगीहरूको निम्ति खट्ने डाक्टर ओङदेनले आफ्नै परिवारका सदस्यलाई पनि बिर्सेको आज कार्यक्रममा उपस्थिति प्रतिनिधिहरूले बताइरहेका थिए।

सोही योगदानको मूल्याङ्कन गर्दै ब्रिटिश भारतमा नै उनको सालिग कालेबुङमा स्थापना गरिएको थियो। कालेबुङको मोटर स्ट्याण्डमा रहेको उक्त सालिग पछिबाट महारानी चोक र कालेबुङ गर्ल्स हाइस्कूलसम्म पुऱ्याइयो। यद्यपि उक्त स्थलमा सालिगको हेरचहर ठीक नहुँदा 2002 बाट इण्डिजिनियस लेप्चा ट्राइबल एसोसिएशनको पहलमा यहाँको टाउन हल परिसरमा ल्याइको थियो।

सोही कार्यक्रमलाई सम्वोधन गर्दै इल्टा अध्यक्ष दोर्जी टी. लेप्चाले पनि पहाड़वासीले नै उनको योगदानलाई भुल्नु नहुने बताए। उनको नाममा कालेबुङको मुख्य सड़कको नामसमेत रहेको जनाउँदै नयाँ पीढिले उनको योगदानलाई भुल्नु नहुने बताए। यता बोर्ड कार्यकारी सदस्य एनटी लेप्चा भने, ‘हैजाले पहाड़वासीलाई हैरान बनाएको समयमा उनले गरेको सेवा कुसैले भुल्न सक्दैन।’

कालेबुङको त्रिकोण पार्कदेखि मोटर स्टट्याण्ड हुँदै सीके चोकसम्मको सड़क उनको नाममा रहेको जनाउँदै यसलाई ठोस प्रयोगमा ल्याएर उनलाई सम्झिनुपर्ने कुरामा पनि उनले जोर दिए। सो अवधि पद्मश्री सोनाम छिरिङ लेप्चा, पीटी सिमिक, एनटी लेप्चा ,पीटी जुरेबो लगायत विभिन्न क्षेत्रका लेप्चा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन