जिएसएसएसको बैठकमा गुप्तचरको हस्तक्षेपः भएन बैठकः किरण बिकेले भने- राज्य सरकारसित हामीलाई तोड्ने अनेकौं हतियार छ, त्योसित लडेर लक्ष्यसम्म पुग्ने हामीसित एउटै मात्र हतियार छ, त्यो हो एकता

सिलगढीः सालबारीको ग्रीनउड होटलमा दार्जीलिङबाट त्रिलोक देवान, सिक्किमबाट अधिवक्ता केटी भोटिया, क्रामाकपाबाट गोविन छेत्री, किशोर प्रधान र अरुण घतानी, मासुम संस्थाबाट अणुलता गुरूङ, गोर्खा भिक्टिम फ्रन्टबाट दिनेश शर्मा, सिलगढी गोर्खा मञ्चबाट नन्दलाल शर्मा, सरिता पासी, सङ्घर्षशील जतामबाट सुबास लामा उपस्थित भइसकेका थिए।

उनीहरूसित नै जिएसएसएस प्रतिनिधिहरूले बैठक शुरु मात्र गरेका थिए, होटलमा डीआईबी टीमले छापा माऱ्यो। डीआईबीले उनीहरूलाई बैठक गर्न दिएन।

‘उनीहरूले कि त बैठकमा उनीहरूको दुइजना सदस्य पनि बस्न पाउने नत्र बैठक गर्न नदिने शर्त राखेपछि प्रधान नगर थानाका ओसीसित सम्पर्क गऱ्यौं, तरै पनि नमानेपछि हामीले बैठक गरेनौं,’ जिएसएसएस अध्यक्ष किरण बिकेले खबरम्यागजिन भने, ‘एकैछिनमा उनीहरूको समूह बढ्नु थाल्यो। सबैको फोटो र भिडिया बनाउन थाल्यो। हामी त्यहाँबाट एक्लाएक्लै गरेर निस्कियौँ।’

जिएसएसएस टोली बैठक होटलबाट निस्किएर अर्कै होटलमा पुगेका थिए, तर डिआईबी समूहले त्यहाँसम्म पछ्याएपछि होटल छोडेर निस्कन परेको पनि बिकेले बताए।

‘हामीले दार्जीलिङको स्थितिलाई हेरर सबै शक्तिलाई एकत्रित गर्न यो बैठक बोलाएका थियौं, सबै पार्टीलाई बोलाएका थियौं, तर उनीहरू आएनन्। के गोर्खाहरूको एकता अनिवार्य छैन? कि यस्तो छापा हुने खबर उनीहरूलाई थियो?,’ बिकेले भने, ‘पहाडको हिंसा, मानवाधिकार हनन विरुद्ध समग्र गोर्खाहरूले मिलेर लड्न सबैलाई भेला गर्न खोजेका थियौँ, सङ्कटको बेलामा एक हुनुपर्ने हो तर कोही पनि उनीहरू आएनन्, नीहरूले यसको कारण जनतालाई बताउनुपर्छ।’

सबै दल, सङ्गठन, बुद्धिजीवी, सचेतहरूलाई सङ्गठित गरेर अघि बढ्ने अनि सबै संलग्न एक टोलीले दार्जीलिङको हिंसाबारे दार्जीलिङ जिल्लापालसित भेट्ने योजना रहेको तर कोही पनि उपस्थित नभएकोमा जिएसएसएसलाई शङ्का लागेको पनि बिकेले बताए।

‘जेजस्तो भए पनि हाम्रो मनोबल घटेको छैन। बैठकधरी गर्न नपाउनु त हाम्रो गणतान्त्रिक अधिकारको हनन् हो,’ उनले भने, ‘बङ्गाल सरकारको यस्तो दवाब र अत्याचार हेरेर नै सबै एकत्रित बनेर लड्नुपर्ने बेला आएको छ। यति धेरै अत्याचार भइरहेको बेला राजनैतिक दलहरू एक भएर अघि आउनु अनिवार्य छ। राज्य सरकारसित हामीलाई तोड्ने अनेकौं हतियार छ, त्योसित लडेर लक्ष्यसम्म पुग्ने हामीसित एउटै मात्र हतियार छ, त्यो हो एकता।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन