विनय गुटको गोजमुमोमा हुँदैछ व्यापक फेरबदलः नगरपालिका सञ्चालनबारे मन्थन

दार्जीलिङः दार्जीलिङ पहाड़को राजनैतिक उतार-चड़ाउपछि गोजमुमो विनय गुटले पार्टीमा व्यापक फेरबदल शुरू गरेको छ। यसै क्रममा आज गोर्खा जनमुक्ति मोर्चा दार्जीलिङ टाउन कमिटीमा पनि फेरबदल गर्दै अध्यक्ष कमल छेत्री र सचिव जाहिद खानलाई बनाएको छ।

यसअघि गोजमुमो दार्जीलिङ टाउन कमिटीमा अध्यक्ष एलेन छेत्री र सचिव भरत राई थिए। यद्यपि, उनीहरुलाई टाउन कमिटीको कोर कमिटीमा राखिएको गोजमुमो दार्जीलिङ महकुमा समिति संयोजक सतीश पोख्रेलले बताए। यसरीनै गत केही दिनअघि मात्रै गोर्खा जनमुक्ति नारी मोर्चा दार्जीलिङ महकुमा समितिमा पनि फेरबदल गर्दै यसमा सुषमा राईलाई संयोजिका बनाइएको थियो।

यसअघि नारी मोर्चा दार्जीलिङ महकुमा समिति अध्यक्ष विनीता रोका थिइन्। उनले भने-अब शीघ्रै पार्टी केन्द्रिय समितिसँगै विभिन्न भ्रातृ संगठनहरुमा पनि फेरबदल गरेर पार्टीलाई दह्रिलो बनाउने योजना छ। यसैबीच, आज गोजमुमो केन्द्रिय समितिका सांगठनिक सचिव एलएम लामाको विशेष उपस्थितिमा यहाँको मारवाड़ी सहायक समिति भवनमा दार्जीलिङ नगरपालिकाका 28 जना नगरपार्षदहरुलाई लिएर एक मन्थन कार्यक्रमको आयोजना गरिएको थियो।

जसमा अब दार्जीलिङ नगरपालिकालाई कसरी संचालन गर्नुपर्ने आदि विषय मुख्य थिए। यसै बैठकपछि पत्रकारहरुसित कुराकानी गर्दै एलएम लामाले भने-दार्जीलिङ पहाड़का नगरपालिकाहरु अहिलेसम्म ठीकसित चल्न सकेका छैनन्, दार्जीलिङ नगरपालिकाका अध्यक्ष डीके प्रधान जेलमा छन्, उपाध्यक्ष रामजन गोलेले राजीनामा दिइसकेका छन्।

यस्तो स्थितिमा दार्जीलिङ नगरपालिकालाई कसरी चलाउनु भन्ने विषय लिएरनै आज सर-सल्लाह गरिएको थियो। जसमा कतिपय कानूनी तथा संवैधानिक विषयहरुमाथि पनि चर्चा भयो। यसैले आगामी केही समयभित्रै दार्जीलिङमा एक दक्ष बोर्ड गठन गर्ने संकल्प गरिएको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन