बर्मे विरुद्ध नोटिस

विज्ञापन

  • मोहन लामा, दार्जीलिङ

     

    दार्जीलिङ नगरपालिकाको वार्ड नम्बर 17-बाट स्वतन्त्र उम्मेद्वारका रूपमा खड़ा भएका कृष्ण बर्मे विरूद्ध गोर्खा जनमुक्ति युवा मोर्चा केन्द्रिय समितिले कारण बताऊ नोटिस जारी गर्यो। जसको उत्तर 24 घण्टाभित्र दिने निर्देश दिंदै उनको जवाब सन्तोषजनक नभए युवा मोर्चाबाट उनलाई युवा मोर्चाको सदस्यबाट बहिष्कार गर्ने चेताउनी दिएको छ।

    आज यसै विषय लिएर युवा मोर्चाले स्थानीय सिंहमारीस्थित पार्टी कार्यालयमा एक बैठक गरेको थियो। यस बैठकपछि पत्रकारहरुसित कुराकानी गर्दै युवा मोर्चा अध्यक्ष प्रकाश गुरूङले भने-युवा मोर्चा केन्द्रिय समितिका कुनै पनि सदस्यले चुनाउहरुमा भाग लिने छैन भनेर अघिबाटै एक प्रस्ताव पारित गरेको थियो। तर यस प्रस्तावलाई उल्लंघन गरेर युवा मोर्चा केन्द्रिय समितिका सदस्य कृष्ण बर्मेले यस चुनाउमा भाग लिने निर्णय लिएका छन्, यसैले युवा मोर्चाले उनलाई 24 घण्टाभित्र कारण बताउने समय दिएको छ। यदि उनले सन्तोषजनक उत्तर नदिए उनलाई युवा मोर्चा केन्द्रिय समितिका सदस्यबाट बहिष्कार गरिनेछ। यसरीनै उनले भने-खरसाङ नगरपालिकाको वार्ड नम्बर 20-बाट गोजमुमोले युवा मोर्चा केन्द्रिय समितिका सदस्य सुवास प्रधानलाई उम्मेद्वार बनाएको छ, तर उनले उम्मेद्वारको टिकट पाउनअघिनै युवा मोर्चाको सदस्यताबाट राजीनामा दिएका थिए।

    यसैले उनी विरूद्ध युवा मोर्चाले कुनै कार्वाही गर्ने आवश्यकता थिएन। गुरूङले भने-यसपालिको नगरपालिका चुनाउ गोर्खाल्यान्ड हुनपर्छ अनि हुनुहॅुंदैन भन्नेबीचको लड़ाईं हो। गोर्खा जातिले गोर्खाल्यान्डको पक्षमा जनाधार देखाउने परीक्षा अझै समाप्त भएको छैन, यसैले प्रत्येक चुनाउमानै गोर्खाल्यान्डको पक्षमा मतदान होस् भन्ने युवा मोर्चाको सोंच र लक्ष्य छ। यस चुनाउमा गोर्खाल्यान्ड विरोधीको जीत भए केन्द्र सरकारमा नकारात्मक सन्देश जानेछ, यसैले दार्जीलिङ पहाड़का जनता स-सानो प्रलोभनमा आएर गोर्खाल्यान्डको मागलाई कमजोर बनाउने कार्य गर्नु हुँदैन।

    दार्जीलिङ पहाड़मा गोर्खाल्यान्ड माग्ने कति छ भन्ने प्रमाण दिनकै लागि पनि पहाड़मा हुने प्रत्येक चुनाउ गोर्खाल्यान्डको पक्षमा हुनपर्छ अनि जनताले गोर्खाल्यान्डकै पक्षमा मतदान गर्नुपर्छ। अहिले केन्द्रमा स-साना राज्य गठनको पक्षधर पार्टीको सरकार छ, यस्तो अवस्थामा पहाड़का जनताले कुनै पनि स्थितिमा भूल गर्नु हॅुंदैन। यति मात्रै होइन, युवा मोर्चा अध्यक्ष गुरूङले जीटीएका सभासदहरुलाई पनि आ-आफ्नो चौकी छोड़ेर गोर्खाल्यान्डको लागि अघि आउने आह्वान गरे।

    उनले भने-दार्जीलिङ पहाड़का चारवटा नगरपालिकाका 84 वटा वार्डमा गोजमुमो उम्मेद्वारहरु खड़ा भएका छन्, जसको मूल मुद्दा गोर्खाल्यान्डनै हो। यसैले पहाड़का सम्पूर्ण नगरपालिका क्षेत्रका जनताले गोर्खाल्यान्डकै लागि मतदान गरेर जातीय अस्तित्व रक्षाको प्रश्‍नमा योगदान दिनुपर्छ। यसैबीच, उनले दार्जीलिङ पहाड़का चारवटै नगरपालिका क्षेत्रको लागि चुनाउ प्रचार गर्न युवा मोर्चाले अलग-अलग दल बनाएको बताउँदै उक्त दलका सदस्यहरुले प्रत्येक वार्डमा घर-घरको भ्रमण गर्ने पनि योजना बनाएको जानकारी गराए।

     

     

     

     

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया