खरसाङमा साधारण जनता आफै भेला भएर सहिदहरूलाई चढाए श्रद्धाञ्जली

खरसाङ: जिटीएको बोर्ड बनिएपछि खरसाङले आन्दोलन र सहिदहरूलाई बिर्सियो भन्ने धारणा सबैमा हुनसक्छ, तपाईँको यो धारणा गलत छ। खरसाङका जनताले यति छिटै कसरी सहिदहरूलाई बिर्सन सक्छन्?

राजनीति गर्नेहरू गर्दै गर्छन्, तर माटोको निम्ति प्राण दिने सहिदहरूलाई सम्झने जनता अझ पनि खरसाङमा छन्।

आज अचानक खरसाङका जनताले सहिदहरूलाई श्रद्धाञ्जली चढाउन भेला भएर यो कुरा प्रमाणित गरेका छन्। उनीहरूलाई कुनै नेताले यसो गर्न अह्राएका होइनन्, उनीहरू स्वतस्फुर्त भेला भएका हुन्।

खरसाङको इगल क्र्यागस्थित सहिद वेदीमा आज साझ उनीहरू भेला भएका थिए। हातमा मोमबत्ती र मनमा श्रद्धा बोकेर उभिएका यी श्रद्धालुहरूसित न त कुनै पार्टीको व्यानर थियो, न त झण्डा नै।

बेदीमा उनीहरूले लहरै मोमबत्ती बाले। सहिदहरूलाई सम्झिए। शुरुमा उनीहरूले दुइ मिनटको मौन धारण गरे, त्यसपछि प्रार्थना सभा।

उनीहरू हुन त कुनै न कुनै राजनैतिक दलका सदस्य होलान् नै तर सहिदलाई श्रद्धाञ्जली अर्पण गर्न उनीहरू केवल जनता बनेर आएका थिए। एकएक गर्दै विस्तारै भीड जमेको थियो। ‘गोर्खाल्याण्डको निम्ति बनेका यी सहिदहरूको बलिदान खेरो जाँदैन, एकदिन हामी अवश्य पनि लक्ष्यमा पुग्ने नै छौं, आज सहिद वेदीमा त्यही प्रण गर्न भेलिएका हौं,’ भीडबीचबाट एकजनाले भनिन्, ‘ हाम्रो संवेदना मरेको छैन, आकांक्षा मरेको छैन। हामीलाई हाम्रो र सहिदहरूको सपना साकार हुने पूर्ण विश्वास छ।’

यो श्रद्धाञ्जली सभालाई आशिष छेत्री, सुशिल गुरूङ, गगन खाती, धिराज छेत्री, समीर तामाङ, विवेक मोक्तान, अभिषेक छेत्री, दिपेस सुन्दास, रबेस तामाङ, दिपराज रसाइली, उदय छेत्री, सुजन तामाङ, हेमन्त राई, लोशन लोप्चन, युवराज लामा, विजय राई, अमर लामा, मीरा लामाहरूले आरम्भ गरेका थिए।

उनीहरूसितै पछि ६०-७० जना मानिसहरू एकत्रित बनेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन