विमल गुरुङपक्षलाई केन्द्रको सूचनाः वार्ताको तारिख चाँडै गरिने घोषणा: विमलले स्वीकारे 30 अक्टोबर बाहिर ननिस्किने सुझाउ

दिल्लीः गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङ अझ केही समय जनताअघि नआउने भएका छन्। केही दिनअघि विमल गुरुङ स्वयंले 30 अक्टोबरको दिन जनताअघि आउने कुरा सार्वजनिक गर्दै ‘मर्नपरे जनताअघि मर्छु’-भनेका थिए। तर 30 अक्टोबर आउन ठिक दुई दिनअघि विमल गुरुङले अझ केही दिनअघि जनताअघि नआउने निर्णय गरेका छन्। गोर्खा जनमुक्ति मोर्चाका केन्द्रिय महासचिव रोशन गिरीले एउटा प्रेस विज्ञप्ति जारी गर्दै विमल गुरुङ अझ केही दिन सार्वजनिक रूपमा बाहिर ननिस्किने बताएका हुन्।

रोशन गिरीहरूलाई लागेको छ, केन्द्र सरकारले वार्ताको कुराकानीको मीति चाँडै घोषणा गर्ने कुरा उनीहरूलाई सूचित गरिएको छ। 30 अक्टोबरमा विमल गुरुङ बाहिर निस्किएको खण्डमा फेरि बङ्गाल सरकारले अशान्त परिवेश बनाउन अर्को बाहना पाउनसक्छ। जसले गर्दा केन्द्रसितको वार्तामा बाधा हुनसक्छ। यसैले रोशन गिरीहरूले विमल गुरुङलाई 30 अक्टोबरको दिन जनताअघि नआउने सुझाएका छन्। जुन कुरा विमल गुरुङले मानिलिएको रोशन गिरीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।

‘हाम्रो अध्यक्ष विमल गुरुङलाई 30 अक्टोबरका दिन उपस्थिति नदिन सूचित गरिएको छ। पश्चिम बङ्गाल सरकारलाई आगामी वार्तालाई खतरामा ल्याउने मौका र बाहना नमिलोस्’-रोशन गिरीले भनेका छन्, ‘यो सल्लाहलाई सम्मान गर्दै अध्यक्ष विमल गुरुङले सार्वजनिक रूपमा उपस्थिति नदिने कुरा स्वीकार गरेका छन्।’

विमल गुरुङ सार्वजनिक हुने सम्भावित तारिख चाँडै घोषणा गरिने कुरा विज्ञप्तिमा उल्लेख छ।

गिरीले गोर्खाल्याण्ड माग्नेहरूका निम्ति यो समयलाई महत्त्वपूर्ण बताउँदै भनेका छन्, ‘केन्द्र सरकारसितको वार्ताको तारिख चाँडै घोषणा गरिने कुरा हामीलाई सूचित गरिएको छ। यो गोर्खाल्याण्ड आन्दोलनको लागि एउटा महत्त्वपूर्ण समय हो।’

गिरीले विज्ञप्तिमा उल्लेख गरे अनुसार बितेको 4 महिनामा 13 जना गोर्खाहरूले बलिदान दिएका छन्, 3 सयभन्दा धेरले जेलमा कष्ट खपिरहेका छन्, सैयौँ घाइतेह बनेकाहरू भर्खरै ठिक हुँदैछन् अनि हजारौँले अनेकौँ कठिनाइहरू भोगिरहेका छन्। यी जम्मै योगदान सामुहिक सपना पूरा गर्नका निम्ति गरिएको भन्दै गिरीले यो वार्ता हुनलागेको समयलाई ‘महत्त्वपूर्ण समय’-भनेका छन्।

विज्ञप्तिमा अझ भनिएको छ, ‘हाम्रो अध्यक्ष विमल गुरुङ र गोर्खाल्याण्डप्रति समर्पित अन्य नेताहरूविरूद्ध निराधार मामिलाहरू लगाउने कार्य भयो। ‘आतङ्कवादी र जङ्गी’ भनेर गोर्खाहरूको छवीलाई नै धमिल्याउने काम भयो। तरैपनि गोर्खाहरूको आकांक्षा दबिएको छैन।’

गिरीलेअझ जनाए अनुसार उनीहरू सँधै गान्धिजीले देखाएको मार्गमा हिँडे। 2007 स्थापनाकालदेखि नै मोर्चाको आन्दोलन लोकतान्त्रिक र संवैधानिक ढङ्गमा थियो। अबको आन्दोलन पनि गणतान्त्रिक नै हुने कुरा गिरीले दोहोऱ्याएका छन्।

अर्कोतिर गिरीले पहाडबाट अर्धसैनिक बल फिर्ता लिने सम्बन्धमा भनेका छन्, ‘केन्द्र सरकार यहाँको जमिनी वास्तविकतासित राम्ररी अवगत छ। यसैले पश्चिम बङ्गाल सरकारले यस क्षेत्रमा गोर्खाल्याण्ड माग्नेहरूका निम्ति धम्की र भयको वातरण बनाइराख्न अर्धसैनिक बल राख्ने अनेकौँ प्रयासपछि पनि केन्द्रले अर्द्धसैनिक बल फिर्ता लिने निर्णय लियो।’

गिरीले आगामी वार्तामा केन्द्र सरकारलाई वास्तविकता बुझाउँदै गोर्खाल्याण्डको माग राख्न आफूहरू तत्पर रहेको कुरा विज्ञप्तिमा उल्लेख गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन