फर्किए डा. मिलन तामाङ

दार्जीलिङः डा. मिलन तामाङलाई फेरि घूम जोरबङ्गलो कलेजको प्राचार्य नियुक्त गरिएको छ। यसको निम्ति सम्पूर्ण सरकारी औपचारिकताहरू पूरा भइसकेको छ भने 30 अक्टोबरदेखि उनले आफ्नो कार्यभार सम्हाल्नेछन्। शिक्षा विभाग, जीटीएका कार्यकारी निर्देशकले गत 26 अक्टोबरको दिन डा. तामाङको तत्काल नियुक्तिको लिखित आदेश जारी गरेका छन्। जसको मेमो नम्बर 163/IV-67(I)/HEDN/GTA/2017-18 रहेको छ। उक्त आदेशपत्रमा उनको स्थानान्तरणको पुरानो आदेश मेमो संख्या 15/IV-B7(1)HEDN/GTA/2015-16 dt. 14.08.2015 को खारेज पनि गरेको छ।

स्मरण रहोस्, डा. तामाङ घूम जोरबङ्गलो कलेजका संस्थापक प्राचार्यको रूपमा गत 2004 सालदेखि नै कार्यरत् थिए। 2015 मामात्रै उनलाई त्यहाँबाट दार्जीलिङको एक प्रतिष्ठित विद्यालयमा स्थानान्तरण गरिएको थियो। तर उनी स्थानान्तरण भएपछि कलेजको व्यवस्थापन दिनोदिन खस्किँदै गइरहेको कारणले गर्दा फेरि डा. तामाङलाई नै प्राचार्यको पदभार प्रदान गरिएको हो।

‘उनले पदभार ग्रहण गरेपश्चात् अब फेरि कलेज व्यवस्थित बन्नेछ भन्ने हामीलाई विश्वास रहेको छ,’ गोर्खा जनमुक्ति विद्यार्थी मोर्चा केन्द्रिय समितिका प्रवक्ता सन्दीप छेत्रीले भने।

डा. मिलन तामाङको नेतृत्वमा घूम जोरबङ्गलो कलेजले आफ्नो स्थापनाकालदेखि नै लगाताररूपमा उत्कृष्ट शिक्षा विद्यार्थीहरूलाई प्रदान गर्दै आइरहेका थिए भने हरेक वर्ष सत्-प्रतिशत विद्यार्थीहरू उत्तीर्ण गराउने रेकर्ड पनि उक्त कलेजले बनाइरहेको थियो। 2004 सालमा डिग्री कलेजको रूपमा स्थापित यो कलेजले छोटो अवधिमै लगभग सबै विषयहरूमा सम्मान (अनर्स कोर्स) समेत शुरू गरिसकेका छन्।

यही कारणले गर्दा उक्त कलेजमा भूटान, नेपाल, आसामलगायत विभिन्न अन्य क्षेत्रका विद्यार्थीहरू पनि अध्ययनको निम्ति आउने गर्थे।

‘डा. तामाङको स्थानान्तरणपछि उक्त कलेजले आफ्नो गरिमा हराउँदै गइरहेको र विद्यार्थीहरूको संख्यामा पनि ह्रास आउन थालेको हामीले महाविद्यलायका विद्यार्थीहरू, जनसाधारण,  तथा शिक्षित महानुभावहरूबाट रिपोर्ट पायौं। स्थलगत निरीक्षणपछि उक्त कुरा सही रहेको पाइयो,’ छेत्रीले भने, ‘यहीकारण गत 25 अक्टोबरको दिन गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाले जीटीए बोर्ड अफ एडमिनिस्ट्रेटर्सका चेयरम्यान विनय तामाङसित कुराकानी गरी कलेज अनि विद्यार्थीहरूको हितमा डा. मिलन तामाङलाई फेरि उक्त कलेजको जिम्मा सुम्पिने अपील गरेको थियो। विद्यार्थी मोर्चाको अपीललाई स्वीकार गर्दै चेयरम्यान विनय तामाङले तुरून्तै यस विषयमा पहल गरिदिएको फलस्वरूप अब फेरि डा. तामाङलाई नै उक्त कलेजको प्राचार्य बनाइएको हो।’

डा. मिलन तामाङले राजनीति शास्त्रअन्तर्गत वर्तमान दार्जीलिङ पहाड़को सन्दर्भमा प्रशासनिक विकास  विषयमा विद्यावरिधि (पीएचडी) गरिसकेका छन्। विभिन्न विद्यालय अनि महाविद्यालयहरूमा समेत शिक्षण गरिसकेका डा. तामाङले आफ्नो कार्यकालमा घूम जोरबङ्गलो कलेजलाई व्यवस्थित अनि प्रतिष्ठित कलेजको रूपमा चिनाइसकेको हुनाले अब फेरि उक्त कलेजलाई उनले नयाँ दिशा प्रदान गर्ने कुरामा गोजविमोलाई पूर्ण विश्वास रहेको पनि छेत्रीले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन