खरसाङमा अनित थापा समूहको जनसभाः गोर्खाल्याण्डको निम्ति विनय तामाङको नेतृत्वमा तेलङ्गानासित सम्पर्क गरी रिसर्च टिम बनाउनेछौं- अनित थापा

खरसाङः ‘हामीले जीटीए २ थापेको होइनौं तर सञ्चालन गर्न केवल बोर्ड अफ् एडमिनिष्ट्रेसन गठन गरेको मात्रै हो, जीटीए पहिलेबाटै थापेको बङ्गालभित्रकै व्यवस्था हो तर बङ्गालसित नमिलेको कारण काम नभएको हो। तर म राज्यसित मिलेर नै विकास कार्य गर्न चाहन्छु अनि विकाससितै गोर्खाल्याण्डको माग पनि उठाउने छौँ। त्यसैले गोर्खाल्याण्डको निम्ति बिनय तामाङको नेतृत्वमा तेलङ्गानासित सम्पर्क गरी रिसर्च टिम बनाउनेछौं,’- खरसाङको जनसभाबाट प्रमुख वक्ताको रूपमा बोल्दै जीटीए उपाध्यक्ष अनित थापाले यसो भने।

तिनले अहिलेसम्म गोर्खाल्याण्ड मान्नेहरूले मागेकोले नै पाउन नसकेको बताउँदै भावनामा आएर मात्रै नहुने यथार्थमा गोर्खाल्याण्ड माग्नुपर्ने पनि बताए। ‘गोर्खाल्याण्डको निम्ति गोर्खाहरूलाई शहीद बनाउने कार्य बन्द गर्नुपर्छ। यसपालीको आन्दोलन केवल गोर्खाहरूलाई कलङ्क लाउन मात्रै भयो, कारण हाम्रै ठाउँमा बम पड्कियो, बन्दुक र वारूदहरू भेट्टायो,’ थापाले भने, ‘भीड देख्नासाथ गोर्खाल्याण्ड भन्ने बानी हटाउनु पर्छ।’

तिनले लिडरहरूले डरले होइन आँटिलो भएर राजनीति गर्नुपर्ने बताउँदै भने, ‘हाम्रा लिडरहरू कोही दिल्लीमा, कोही सिक्किममा लुकेर हुँदैन।’

विमल गुरूङलाई अडियोबाबाको उपाधी

थापाले विमल गुरूङलाई अडियोबाबाको उपाधि पनि दिए। ‘अब अडियो बाबाले पनि अडियो पठाउन बन्द गर्नुपर्छ,’ उनले भने। आफुले सरकारलाई मजदुरहरूको निम्नतम् रोज र पर्जा पट्टाको कुरा पठाइसकेको जनाउँदै गोर्खाल्याण्ड आन्दोलनसितै व्यवस्थालाई पनि चलाएर लाने बताए।

तिनले खरसाङ नगरपालिकाले पनि जनताको मागलाई पुरा गर्नुपर्ने बताए। जीटीए उपाध्यक्ष भएको नाताले सबै जना आफु समक्ष गुनासो लिएर आइदिने आह्वान गर्दै भने, ‘मलाई भेट्न आउँदा कसैकोबाट एपोइन्मेन्ट लिनु पर्दैन। बरू मलाई जीटीए उपाध्यक्ष होइन आफ्नै दाजु वा भाई भन्दा हुन्छ।’

थापाले आन्दोलन कालमा काटिएको वेतन र मजदुरहरूको रोज भरपाई होस् भनेर सरकारलाई बिन्ति चढाउने पनि बताए। अब विस्तारै सबै काम गर्दै जानुपर्ने भन्दै प्रत्येक विभागसित मिलेर सरसल्लाह गरी विकासमूलक कार्यहरू गर्ने पनि बताए।

जनसभापछि पत्रकार सम्मेलनमा पनि पत्रकारहरूले सोधेको विभिन्न प्रश्नहरूको उत्तर दिँदै अनित थापाले पदलाई लिएर राजनीति गर्नु नहुने बताए। विनय तामाङको नेतृत्वमा तेलङ्गानासित सम्पर्क गरी गोर्खाल्याण्डको निम्ति रिसर्च टिम बनाउने बताए।

‘त्रिपक्षीय वार्ताको लागि भाजपा मात्रै तयार भएर हुँदैन तर राज्य सरकार पनि तयार हुनुपर्छ,’ उनले भने, ‘बिमल गुरूङ आउँछन् आउँदैनन् त्यो याद छैन तर तिनको अडियो भने हावा मिठाई जस्तै भएको छ।’

भाजपा, काङ्ग्रेसमा विश्वास छैन

थापाले जनताको भरोसा भाजपा, काङ्ग्रेसबाट उठिसकेको बताउँदै अब आफूहरू यथार्थमा आएर काम गर्न चाहाने बताए। गोजमुमो खरसाङ महकुमा समितिको नयाँ सभापति किशोर थापाको अध्यक्षतामा भएको जनसभामा स्वागत वक्तव्य प्रणाम रसाइलीले राखे। भक्तिमान तामाङले कार्यक्रम सञ्चालन गरेका थिए।

जनसभामा करूणा गुरूङ,  बलराम छेत्री, मिरेन लामा, छिरिङ दाहालले पनि सम्बोधन गरेका थिए। जनसभामा जीटीएका बोर्ड अफ् एडमिनिष्ट्रेसनका सदस्यहरू अनि प्रधान जैतुन निशा, खरसाङका विधायक डा० रोहित शर्मा, खरसाङ नगरपालिकाको भाइस चेयरम्यान ब्रिगेन गुरूङ, पूर्व सभासदहरू प्रभा छेत्री, प्रणय थापा, फुबी राई, सतीस पोखरेल लगायत भरत ठकुरी, तारा लोहार लेप्चा एंव अन्य नेतृत्वहरू पनि उपस्थित थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन