आफ्नो भाइबाट कुनै खतरा छैन, भाषणको विषय बनाउने चामलिङले एसकेएमको विधायक लिएको बताउनु सक्नुपर्छः आरबी सुब्बा

गान्तोकः मुख्यमन्त्री पवन चामलिङले आफ्नै भाइलाई एसडीएफ पार्टीमा नलिएर सिद्धान्तवादी भएको बयान दिएकोमा पूर्व मन्त्री रणबहादुर सुब्बाले खिल्ली उडाए। उनले सोधे, ‘यदि चामलिङ सिद्धान्तवादी थिए भने एसडीएफ पार्टीलाई पराजित गर्ने विपक्षी दलका सातजना विधायक किन एसडीएफमा सामेल गरे?’

मङ्गलवार एउटा प्रेस विज्ञप्ति जारी गर्दै पूर्व मन्त्री सुब्बाले भने, ‘आफ्नो भाइबाट एसडीएफलाई कुनै खतरा छैन भन्ने कुरा मुख्यमन्त्री चामलिङ जान्दछन् र त्यसलाई जनताको अघि भाषणको विषय बनाउँछन्। तर एसकेएम पार्टीका विधायकहरू खरिद् प्रकरणलाई भाषणमा भन्नसक्ने सिद्धान्तवादी छात्ती चामलिङसित छ? त्यसैले एसडीएफ पार्टी र सरकारभित्र सिद्धान्तको बाहिरी देखाउने जलप छ र त्यो जलपभित्र घोर प्रतिक्रियावादी बारुद् भरिएको छ।’

सुब्बाले निर्दलीय पञ्चायत प्रतिनिधिहरू धोबीको कुकुर घरको न घाटको हुनेछन् भनी मुख्यमन्त्रीले दिएको वक्तव्यप्रति पनि कड़ा प्रतिक्रिया दिएका छन्।  ‘मुख्यमन्त्रीले निर्दलीय उम्मेदवारलाई धोबीको कुकुरसित तुलना गर्नुको निहितार्थ के हो?,’ सुब्बाले सोधे, ‘के मुख्यमन्त्रीको नजरमा सिक्किमे जनता धोबीको कुकुर हुन्? के उनले जनतालाई कुकुरकै स्थानमा राखेका हुन् त?’

यसपल्ट मुख्य मन्त्री पवन चामलिङले पञ्चायत चुनाउ प्रचार अभियानमा पुगेका ठाउँहरूमा नितान्त रूपमा प्रजातान्त्रिक मूल्य प्रणालीको विरोधमा बयानबाजी दिएको सुब्बाको आरोप छ। मुख्यमन्त्रीले अघिल्लो पञ्चायत चुनाउमा पनि निर्दलीय पञ्चायतलाई लिँदै नलिने भनी बयान दिएर चुनाउ सकिएको 6 महिना पनि नबित्दै स्वतन्त्र पञ्चायतहरूलाई एसडीएफमा सामेल गराएको बताउँदै सुब्बाले निजी स्वार्थ र सत्ताको निम्ति चामलिङले कसरी आफ्नो वचन आफैं निल्छन् त्यो जनतालाई थाहा छ भनी व्यङ्ग्य कसेका छन्।

‘स्वतन्त्र उम्मेदवारले जितेको वार्ड तथा जिल्लामा एसडीएफ पार्टीको कार्यकर्तालाई पञ्चायतको काम जिम्मा लाउँछौं भनेर मुख्यमन्त्रीले सार्वजनिक अभिव्यक्ति दिनु भनेको उनको हताशाको चरम हो,’ सुब्बाले थपेका छन्, ‘एउटा शाषकको शासन जति लामो हुन्छ त्यति नै उसले आफूलाई सुन्तला ताछेजस्तो नङ्ग्याउँदै जान्छ। मुख्यमन्त्री पवन चामलिङको राजनीति त्यही चरणबाट नाङ्गिँदै गएको छ।’

मुख्यमन्त्रीले लिम्बू तामाङको सीट आरक्षणलाई लिएर अहिले आएर भाका फेरेको आरोप लगाउँदै सुब्बाले ‘जनताले जिताएको उम्मेदवार कसरी पञ्चायत बन्दैन? लिम्बू तामाङको विधानसभामा सीट आरक्षणको मुद्दा केन्द्रिय मुद्दा हो भने मुख्यमन्त्रीले हजारौंचोटि म दिलाउँछु किन भने? सिक्किमे छेत्री बाहुन नेवार र सन्यासी समुदाय आजसम्म किन ओबीसीको सूचीमा गाभिन सकेनन्? सिक्किमलाई ट्राइबल राज्य बनाउने बारम्बारको घोषणा कहाँ पुग्यो?’ भनी प्रश्नै-प्रश्न गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया