विमलको समष्टिमा मन घिसिङको हुँकारः गोरामुमोले बनायो तकभर संयोजक

मोहन लामा

दार्जीलङ:

गोजमुमो अध्यक्ष विमल गुरूङको घर पातलेबासदेखि अधिकत्तम 1 किलोमिटरको दूरीमा अवस्थित माउन्ट हर्मन फार्ममा धेरै वर्षपछि आज गोरामुमोको हरियो झण्डा फहरियो अनि मन घिसिङ जिन्दावादको नारा पनि गुञ्जयमान भयो। किनभने, कैयौं वर्षपछि आज गोरामुमोले सिंहमारी-तकभर समष्टिमा पार्टीका संयोजक मनोनित गर्यो। मन घिसिङ गोरामुमो पार्टीका अध्यक्ष बनेपछि प्रथमपल्ट उनले सिंहमारी-तकभर इलाकाको भ्रमण गरे अनि उनले यस क्षेत्रको भ्रमण मात्रै होइन, यस क्षेत्रको लागि पार्टीको संयोजकनै चयन पनि गरे। यसै क्रममा पार्टी कार्यकर्ताहरुले व्यापक नाराबाजी गरेका थिए।

सिंहमारी-तकभर समष्टिलाई गोरामुमो अध्यक्ष मन घिसिङले अधिकनै महत्व दिएको पनि स्पष्ट छ, किनभने उनले पार्टीको कुनै पनि समष्टिमा आफै उपस्थित भएर संयोजक चयन गरेका छैनन्। तर सिंहमारी-तकभर समष्टिको संयोजक चयन गर्न उनी स्वयंनै संयोजकको घरमा पुगे। जहाँ उनीसित पार्टीका सयौं कार्यकर्ताहरू पनि सामेल भएका थिए। जसले गोरामुमो जिन्दावाद, मन घिसिङ जिन्दावादका नाराहरू गुञ्जाए। यसैबीच, घिसिङले पार्टीको झण्डा प्रदान गरेर मञ्जील राईलाई गोरामुमो सिंहमारी-तकभर समष्टिको संयोजक मनोनित गरिएको घोषणा गरे। यसबारे प्रश्‍न गर्दा गोरामुमो अध्यक्ष मन घिसिङले भने-सिंहमारी-तकभर समष्टि अहिले सबैभन्दा बेसी पीड़ित भएको क्षेत्र हो। यो ठाउँ संसारको सबै क्षेत्रबाट अलग भएको जस्तो भएको छ। यसैले म यस क्षेत्रका जनताको गुनासो बुझ्न चाहन्छु। म यस इलाकामा आगामी दिनमा पनि आउनेछु। किनभने, यस इलाकामा आप्पा (स्व. सुवास घिसिङ)-का धेरै समर्थकहरू छन्। आज म यस क्षेत्रका जनताको आँगनमा आएको छु।

यसअघि चाहँदा-चाहँदै पनि म यस इलाकामा आउन सकिनँ। यदि पहिला म यस इलाकामा आएको भए आशान्ति हुन सक्थ्यो, तर म अशान्ति चाहँदिनँ। तर अहिले दार्जीलिङ पहाड़मा पक्का गणतन्त्र फर्किएको जस्तो लाग्दैछ। गणतन्त्रमा सबैले बोल्न पाउनुपर्छ, सबैले राजनीति गर्न पाउनुपर्छ। यसैले अहिले पहाड़मा सबैले राजनीति गर्न पाएको जस्तो लाग्दैछ। उनले अझै अघि भने-राजनीति एहिंसात्मक हुनपर्छ, गोरामुमोले अहिंसात्मक राजनीतिमा विश्‍वास गर्छ। यसैले अब पहाड़का जनताले हिंसाको राजनीति त्याग्नुपर्छ। तर राजनीतिको हतियार बन्द वा हड़ताललाई यहाँ दुरूपयोग गरियो।

उनले एक प्रश्‍नको उत्तर दिंदै भने-गोरामुमोले दार्जीलिङ पहाड़का धेरैवटा समष्टिमा संयोजक चयन गरिसकेको छ, तर पार्टी अध्यक्ष मन घिसिङ यसअघि कसैको घरमा गएर संयोजक चयन गरेका थिएनन्। सिंहमारी-तकभर समष्टि मात्र एउटा यस्तो समष्टि हो, जहाँ स्वयं पार्टी अध्यक्ष उपस्थित भएर समष्टि संयोजकको चयन गरेका छन्। यसका साथै उनले यस समष्टिमा पार्टी विस्तारको जिम्मेवारी पनि मञ्जील राईको काँधमा सुम्पिएका छन्। यसैबीच, हाल गुप्तबासमा बाध्य बनेका गोजमुमो अध्यक्ष विमल गुरूङको समष्टिमा गोरामुमोको सांगठनिक धरातल मजबूत बनाउन मञ्जीलको लागि ठूलै मञ्जील पाउन सरह हुने निश्‍चित छ, तरै पनि उनी आफ्नो काँधमा आएको जिम्मेवारी पूर्ण गर्न कटिवद्ध छन्। यसैले उनले एक प्रश्‍नको उत्तरमा भने-गोरामुमो पार्टीमा पुनः फर्किएर आउन पाउँदा धेरै हर्ष लागेको छ। किनभने, गोरामुमो पार्टी मेरो खास घर हो, यसैले आफ्नै घरमा फर्किएर आउन पाउँदा कसलाई खुशी लाग्दैन।

अब पार्टीले मलाई जुन जिम्मेवारी दिएको छ, यसलाई पूर्ण इमान्दारसित पालन गर्नेछु। ज्ञात रहोस्, मञ्जील राई गत केही समयअघि तृणमूल कंग्रेस पार्टीमा थिए, तर हाल उनी पूर्णरूपले गोरामुमोमा सामेल भएका छन्। स्मरण गराइन्छ, माउन्ट हर्मन इलाका गोजमुमो अध्यक्ष विमल गुरूङको घर पातलेबासदेखि अधिकत्तम 1 किलोमिटर माथि र सिंहमारी पार्टी कार्यालयबाट लगभग आधा किलोमिटरको दूरीमा अवस्थित छ। यस इलाकामा लगभग 10 वर्षभन्दा अधिक समयपछि मात्रै खुलेर आज गोरामुमोको हरियो झण्डा फहरिन सक्यो भने केही समय यस इलाकामा गोरामुमो समर्थकहरूको गाड़ीले जाम पनि गरेको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन