पुष्पणको बगाने अवतार

  • कालेबुङ खबरदाता।

थाप्लोमा झोलीतुम्बी, फुस्रो सर्ट, मैलो लुङ्गी अनि टाउकोमा फेटा बाँधेर मञ्चमा पुग्दा पुष्पण प्रधानलाई खाँट्टी बगाने देखिन्थ्यो। सबैको आँखा पुष्पणबाहेक मेन्डोलिन बोकेर मञ्चमा उभेका दार्जीलिङका वरिष्ट सङ्गीतकार जीवनप्रकाश प्रधानमा पनि पुगेको थियो, गिटार बोकेर उभेका अमोश मुखियामा पनि।


बिजुली छैन, जेनेरेटर तात्तिएर आयोजक आत्तिरहेका छन्। सरस्वती हायर सेकण्डरी स्कूलको कम्यूनिटी हल छ अँध्यारो। टम्म छन् पेशोक, कलेजभेल्ली, मार्गरेट्स होप, धोत्रेलगायत चियाबारीका श्रमिकहरू। अवसर थियो मई दिवसको। चियाबारी सङ्ग्राम समितिले श्रमिकहरूको गौरव दिवसलाई सेलेब्रेट गर्न बोलाएका कवि, नाटककार, गायक अनि श्रमिकहरूको कल्याङमल्याङ चलिरहेको बेला मञ्चमा थिए, भुइँगायक पुष्पण प्रधान। थाप्लोमा झोलीतुम्बी, फुस्रो सर्ट, मैलो लुङ्गी अनि टाउकोमा फेटा बाँधेर मञ्चमा पुग्दा पुष्पण प्रधानलाई खाँट्टी बगाने देखिन्थ्यो। सबैको आँखा पुष्पणबाहेक मेन्डोलिन बोकेर मञ्चमा उभेका दार्जीलिङका वरिष्ट सङ्गीतकार जीवनप्रकाश प्रधानमा पनि पुगेको थियो, गिटार बोकेर उभेका अमोश मुखियामा पनि।

गायक र सङ्गीतकारहरूबीच एकछिन कानेखुसी चल्यो। त्यसपछि गिताङ्गे भाकामा जब पुष्पणले सबैलाई मई दिवसको शुभकामना व्यक्त गरे, हल म्युजिक मुडमा आइसकेको थियो।

कार्यक्रममा उपस्थित श्रमिकहरू

‘बिहानीपख मिच्दै ती आँखा/ पुग्छिन्, चुल्होमा ( आमा) /7 को मेलोमा साइरनसँगै लौ साइँली/ पुग्नुछ मेलोमा….’ शरद सिन्हाको सङ्गीत रहेको यो गीत पुष्पणले गाइसक्दा कसैको आँखा ओभानो थिएन।

बगान धाउने आमाहरूको अनुहार दुइकारणले धपक्क देखिन्थ्यो, एउटा गीतले बोकेको दुःखले, अर्को गीतमा पाएको आफ्नै कथाले।

कार्यक्रम हेर्न आएकी एक आमालाई सोद्धा उनले भनिन्, ‘रातदिनको दुःखलाई यति मायालाग्दो पाराले गाइदिँदारहेछन्, आँशु थाम्न सकिनँ। पुष्पण भाइलाई हामी जम्मै आमाहरूको आशिर्वाद छ।  कमसेकम हाम्रो दुःखलाई गाइदिने गायक पायौँ, यस्तो मई दिवस कहिल्यै देखेको थिइनँ।’

पुष्पण आफै पनि भन्छन्, ‘मैले आमाहरूलाई रुवाउन गाएको होइन, आमाहरूको सङ्घर्षलाई सम्मान गर्न गाएको हुँ।’

जब पुष्पणले ‘आठबजी जान्छ पाँचबजी फर्किन्छ/रिस उठे आफैसित झर्किन्छ/ चिसोपानी पिउँछ जुस खाँदैन/भातरोटी खान्छ घुस खाँदैन/ कसरी भन्नु ठूल्दाजु उसले देश बनाउँदैन’-बोलको गीत गाए हल स्तब्ध बनेको थियो। पुष्कर पराजुलीको शब्द सङ्गीत रहेको यो गीतले आम मानिसको इमान्दारिता अनि देश निर्माणमा उनीहरूको सहभागिताबारे बोलेको सुनेपछि कवि लेखनाथ छेत्रीले भने, ‘अबको समय पुष्पण कै रहेछ, जीवनमा कुनै गायकले खटिखानेहरूको पक्षमा यति मनोयोगले साङ्गीतिक काम गरेको यता देखेको थिइनँ। मलाई लाग्यो, पुष्पणका यी गीतहरू सुनेपछि अरू जम्मै गीत फिका लाग्नेरहेछ।’

श्रमिकको भेषमा, श्रमिकको भाषामा, श्रमिककै गीत श्रमिकहरूकै अघि पुष्पणले पहिलोपल्ट गाएका हुन् रे। पुष्पण भन्छन्, ‘म आफै बगानेको छोरा हुँ। मेरो रगतमा चिया बग्छ। चियाकै बोटमुनी हुर्किएँ। अबको मेरा गीतहरू यी नै श्रमिकहरूको जीवन र समाज वरिपरि घुम्नेछ।’

पुष्पणले आधा दर्जन गीत गाएर आफूलाई आम मानिसको पक्षमा उभिएका गायककोरूपमा साबित गरेका थिए।

यसै अवसरमा कवि उमेश परियार, विक्की थापा, मनोज बोगटीहरूले कविता वाचन गरेका थिए भने लालीगुराँस समूहका कलाकारहरूले ‘मिसिन’-नामक नाटक गरेर श्रमिकपीडाबारे बोलेका थिए। लालीगुराँस समूहका कलाकारहरूले पनि श्रमिकहरूको पक्षमा रहेका गीतहरू प्रस्तुत गरेका थिए। चियाबारी सङ्ग्राम समितिका संयोजक समिक चक्रवर्तीले मई दिवसलाई प्रतिबद्धता दिवसकोरूपमा व्याख्या गरे। उनले भने, ‘आजको दिन हामी सपथ लिऔं कि श्रमिकहरूलाई मिनिमम वेजेज लागू गराउने सङ्घर्षमा प्रतिबद्ध हुनेछौँ। रासनपानीलगायत पाउनुपर्ने जम्मै हक अधिकारको निम्ति लड्नेछौँ। चिया श्रमिकबाहेक बुद्धिजीवीहरूलाई पनि लिएर साझा मञ्च बनाउनेछौं अनि श्रमिकहरूको आवाजलाई तीब्र गर्नेछौँ।’

श्रमिकसमूहलाई प्रतिनिधित्व गर्दै पेशोकका हर्कमान तामाङ अनि धोतरियाबाट आशिश लामाले पनि आफ्नो सम्बोधन राखेका थिए।

अर्कोतिर कार्यक्रममा मुख्य अतिथि सुखमन मोक्तानले पनि इतिहासले जितेका अधिकारहरूको हनन रोक्न सबैलाई सङ्घर्षरत् भइदिने अपील गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया