कञ्चनजङ्घा म्याराथनको निम्ति धावकहरू गोचला प्रस्थानः प्रथम म्याराथनको तुलनामा सय प्रतिशत भन्दा धेरै धावकको संख्यामा वृद्धि भएको छः कुञ्जाङ ग्याछो

 गान्तोक, 3 नोभेम्बर।


सिक्किमको सहासिक खेलकूद र पर्यटनलाई जोड्ने अत्यन्त रोचक कञ्चनजङ्घा म्याराथनको निम्ति पश्चिम सिक्किमको योकसुमबाट म्याराथन शुरु हुने स्थल गोचला (15,700 फिट) को निम्ति आज 42 जना धावक प्रस्थान गऱ्यो। कञ्चनजङ्घा राष्ट्रिय उद्यानको आधार क्षेत्र रहेको योकसुमबाट म्याराथन आयोजक समितिले पञ्जिकरण पछि उनीहरूलाई गन्तव्य तिर पठाइएको कञ्चनजङ्घा म्याराथन कमिटिका रेस निर्देशक कुञ्जाङ ग्याछोले बताए।

वर्ष 2015 देखि आरम्भ भएको यो म्याराथन दौड वर्ष 2017 को निम्ति आयोजक समितिले तयारी लगभग पुरा गरिसकेको छ। सिक्किम माउन्टेनरिङ एसोसिएशन र कञ्चनजङ्घा म्याराथन कमिटीद्वारा राज्य सरकारको पर्यटन विभागको सहयोगमा आयोजन गरिएको सिक्किमकै पहिलो उच्च हिमाली क्षेत्रको दौडको निम्ति अहिले भारतको विभिन्न राज्यका धावक तथा स्थानीय धावक समेत नाइजेरियाका धावकहरूले दौडमा भाग लिनको निम्ति पञ्जिकरण गराइसकेका छन्।

आगामी 06 नोभेम्बरको दिन 15,700 फिटको उच्चाईमा रहेको गोचला पासबाट योक्सुमको निम्ति म्याराथन हुनेछ जसको दूरी 42 किलोमिटर र लक्षित समय 8 घण्टा रहनेछ। धावकहरूले 8 घण्टा भित्रमा दौड पुरा गर्नु पर्नेछ। अर्कोतिर, हाफ म्याराथन 21 किलोमिटरको फेदाङदेखि योकसुमसम्म हुनेछ यस दूरीलाई 4 घण्टामा पुरा गर्नुपर्ने छ। यसपालीको म्याराथनमा भारतको विभिन्न राज्य र केनियाका विदेशी धावकहरू सामेल रहेका छन्।

जसमा आज 42 जना फूल म्याराथनको निम्ति प्रस्थान गरे भने हाफ म्याराथनको निम्ति 5 तारिकको दिन योकसुमबाट छोकाको निम्ति प्रस्थान गर्नेछन्। हाफ म्याराथनको निम्ति 36 जना सहभागी रहेका छन् । यसपालीको म्याराथन प्रथम म्याराथनको तुलनामा एकसय प्रतिशत भन्दा अधिक धावकहरूको संख्या वृद्धि भएको निर्देशक कुञ्जाङ ग्याछोले बताएका छन्। म्याराथनको सेल्स र मार्केटिङ निर्देशक वांगपिन थेन्डुपले भने, यसपालीको म्याराथनले अन्तरराष्ट्रिय धावकहरूलाई आकर्षित गरेको छ भने अब उसो आउँदो म्याराथनमा एभरेष्ट, कारगिल र कञ्चनजङ्घा म्याराथनको संयुक्त प्रयासमा स्थानीय धावकहरूलाई प्रायोजन गरेर तीनैवटा म्याराथनमा दौड्ने मौका प्रदान गरिनेछ।

उनले भने यसपालीको म्याराथनमा 8 जना महिला धावक रहेका छन् जसमा एक जना केनियाकी धावक पनि सामेल छन्। उनले भने जम्मा 9 जना विदेशी धावकले म्याराथनमा भाग लिनेछन् जसमा पाँच जना आज प्रस्थान गरे भने अन्य चार जना ढिलो आइपुगेको हुनाले हाफ म्याराथनमा भाग लिनेछन्। अर्कोतिर नेपालको विश्व चर्चित एभरेष्ट म्याराथनका संस्थापक बिक्रम पाण्डेले कञ्चनजङ्घा म्याराथनको निम्ति उत्कृष्ट प्रदर्शक गुडवील पुरस्कार पनि प्रायोजित गरेको छन्।

एभरेष्टको उच्चाई बराबर 8848 नेपाली रूपियाँ गुडवील पुरस्कारको निम्ति बिक्रम पाण्डेले प्रायोजित गरेका छन्। यसैगरि आगमी वर्षदेखि कारगिल, एभरेष्ट र कञ्चनजङ्घा म्याराथनमा स्थानीय धावकहरू एक्सचेञ्ज कार्यक्रमको निम्ति बातचीत शुरु भइसकेको पनि उनले बताए। आगामी 6 नोभेम्बरको दिन दुइवटा म्याराथनको अलग अलग ठाउँबाट फल्याग अफ् गरिनेछ। जसमा फूल म्याराथनको निम्ति गोचलाबाट हुने छ भने हाफ म्याराथनको निम्ति फेदाङबाट हुनेछ।

फूल म्याराथनमा विजयी धावकहरूलाई एक लाख, 75 हजार र 50 हजार रूपियाँ नगद समेत मेडल, स्मृतिचिन्ह र प्रमाण पत्र प्रदान गरिनेछ। यसैगरि हाफ म्याराथनका विजयी धावकहरूलाई 60 हजार, 45 हजार र 30 हजार रूपियाँ नगत पुरस्कार समेत मेडल, स्मृति चिन्ह र प्रमाणपत्र प्रदान गरिनेछ। सबै सहभागीहरूलाई प्रमाणपत्र, स्मृति चिन्ह र मेडल प्रदान गरिनेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन