काव्यसंवाद-मा नरबहादुर घिमिरे

संवाद

कविको काम 


♦ नरबहादुर घिमिरे

नाम्ची सरकारी महाविद्यालय।


कविता भनेको भावनाको बौद्धिक कोमलता हो भनेर नाटककार समले ठ्याक्क भनिदिए। यसरी कवितालाई अनेक अनेक तरिकाले परिभाषित गरिएको छ। तर वास्तवमा कुनै पनि बिषयलाई परिभाषामा बाँधेर राख्न उचित होइन। समले आफ्नो दृष्टिकोणबाट ठिकै भने तर समग्रमा कविता भावनाको बौद्धिक कोमलता मात्रै होइन।

साहित्य समाजको दर्पण हो भनेर कसैले फ्याट्ट भनिदिए। यसरी नै साहित्यलाई पनि अनेक अनेक वाक्यहरूमा परिभाषित त गर्न खोजिएकै हो। तर यो पनि उचित रहेन। अब कुरा गरौं दर्पणको। दर्पणले जहिल्यै पनि एकपाटो मात्रै देखाउने हो। लु मानौं अघिपछि जम्मै देखायो। तर दर्पणले भित्री भाग कहिले देखाउँदैन। अब कसरी मान्ने साहित्यलाई समाजको दर्पण? साहित्यले त समाजको मुटु छामेको हुनुपर्छ।

त्यै कटुवालको यो जिन्दगी खै के जिन्दगी पढेर उनलाई निराशावादी भन्नेहरूले रहरआकाशका तारा के तारा जस्ता कवितालाई चबाउने कोसिस पनि गर्नैपर्छ। अहिले कविता के हो? कविता के को लागि? कविता किन? भन्ने जस्ता बिषयहरू उपर तर्क र बहस चलिरहेकै हो। तर अब त कन्फ्युज नबनेकै राम्रो।

सिधै भन्नुपर्दा कविता कविको निम्ति हो। कविता मान्छेको निम्ति हो। कविता समाजको निम्ति हो। कविता कविको निम्ति मात्रै चाहिँ पटक्कै होइन। अब कविताले के बोक्छ भन्ने कुरा गर्दा सर्वप्रथम कविताले समय बोक्छ। कविताले परिवेश बोक्छ। कविताले कवि उभिएको धर्तीको वर्तमान स्थिति बोक्छ। कविता भोलि गएर इतिहास बोकेको बन्छ। र कवितालाई भोलि दुई नजरले भेटाउन सकिन्छ, इतिहास बोकेको कविता र इतिहासले बोकेको कविता। र जुन कविताले इतिहास बोकेको हुन्छ उसलाई इतिहासले सधै बोकेको हुन्छ।

अब कविता किन लेखिन्छ?

कविता कविहरूले आफ्नो भुँई हेरेर लेख्ने जस्तो लाग्छ। हुन त सेतो कञ्चनजङ्घा र नीला नीला टिस्टाकै लहरहरूमा भुल्लिने कविहरू पनि भारतीय नेपाली साहित्यमा कम थिएनन्  जुन समय यहाँको भुँई चर्किरहेको थियो।  आफ्नै आँगनमा दाजुभाइ काटाकाट गरिरहेको बेला कोठाभित्र बसेर ग्रीकतिर उडिरहेका साहित्यिकहरू पनि हाम्रो साहित्यमा नउदाएका होइनन्। तेस्रो आयाम मन नपरेर या भनौं नबुझेर रातभरि हुरी चल्यो नपढ्नु र इन्द्रबहादुर राई मननपराउनु भनेको मुर्खता हो, जस्तो कि कवितामा सिद्धान्त र वाद हुँदैन भन्नेहरूले गर्छन्। कविले कुनै वाद र सिद्धान्त सम्झेर कविता कोरेको हुँदैन तर कविताले कुनै न कुनै वादलाई अङ्गालिसकेको हुन्छ।

कविता किन गरिने?

आजको समय भनेको बहुसंख्यक साधरण मानिसहरूलाई मिसिन बनाउने काम चलिरहेकै छ। कवि राजा पुनियानीकै भाषामा भन्नुपर्दा नबुझिएकाहरू अझ नबुझ्ने र नभनिएकाहरू अझ नभन्ने कसमहरू खुवाइरहेकै बेला, कविले साधरण मानिसहरूलाई मिसिन हुनुबाट रोक्न सक्छ। त्यो साम्राज्यवादी जमातले हस्तक्षेप गरेको जनसाधारणको मस्तिष्कमाथि प्रतिहस्तक्षेप गरेर उनीहरूलाई सोच्न बाध्य बनाउन सकिन्छ।

र यो काम कविताले गर्न सक्छ।  अहिलेको कविता यस्तै जन्मिन सक्छ। समस्यामाथि कविता जन्मिन्छ। पीडामाथि  कविता जन्मिन्छ। बिरोधको निम्ति कविता जन्मिन्छ। तर बिरोध भन्नेबित्तिकै कविहरूको जातै बिरोधी पटक्कै होइन। कविहरू स्वच्छ समाजको कल्पना गर्छन्। र यो सजिलो काम होइन। र जुनदिन स्वच्छ समाज बनिन्छ के उसदिनदेखि कविको काम सकियो?

होइन, त्यहाँदेखि उता पनि कविहरू कवितानै लेखिबस्छन्। केमाथि लेख्छन् त्यो अहिले थाहा नहुने कुरा हो।

मैले कवितामाथि जान्नुबुझ्नु धेरै छ। र यो टिप्पणी मात्रै मेरो व्यक्तिगत टिप्पणी हो।


काव्य

सर, एउटा ब्ल्याकबोर्ड तपाईकै पर्खाइमा छ

एउटा पुरानो 

पाठशालाको सानो कक्षा कोठामा

युग युगदेखि

बद्लिँदै न बद्लिएका 

हजारौं जीवनमा व्यप्त

थोत्रा परम्पराहरू मेटाउन

आज तपाईको पर्खाइमा छ 

एउटा ब्ल्याकबोर्ड।

 

एक ब्ल्याकबोर्ड 

तपाईकै पर्खाइमा छ

जहाँ

नयाँ युगका 

सेता सेता बिरूवाहरू

तपाईले उमार्नुछ।

 

जहाँ क्रान्तिका कविताहरू

बोल्ड अक्षरमा तपाईले लेख्नुछ

र सुनाउनुछ

बढ्दै नबढेका पाइलाहरूलाई।

 

एउटा कथा लेख्नुछ तपाईंले

जसले तमाम 

कलिला पाइतालाहरूलाई

गन्तव्यको चुचुरो देखाउन सफल बनोस्।

 

समाज परिवर्तनको बाटो लेख्नुछ तपाईंले।

भविष्यको माटो देखाउनुछ तपाईंले।

 

आउनुस् सर,

तपाईकै पर्खाइमा छ

एउटा चर्किएको ब्ल्याकबोर्ड

जहा तपाईंले हजार सपना जोडिदिनुछ।

 

तपाईले ब्ल्याकबोर्ड कोरेर

घाम जून बचाउँने

एक हुल सेना तयार पार्नुछ।

 

खोला/नाला/

झार र जङ्गल।

पृथ्वी / शनि/ मङ्गल

यी सबैलाई लामो सास दिने

लाखौं रूख-पात फलाउनु/फुलाउनुछ।

 

समयले छाडेर गइसकेपछि पनि

तातिनै नसकेका चिसा चुल्हाहरूमा

सूर्यका ताप फर्काउन सक्ने

विज्ञानको कन्टेन्ट 

तपाईंले तयार पार्नुछ 

र म अनि मेरा

तमाम विद्यार्थी साथीहरूलाई

सुम्पिनुछ।

 

आउनुस् सर,

भाँच्चिएर टुक्रा टुक्रा भएका

चकहरू 

तपाईंकै प्रतिक्षामा छन्

जसलाई कोरेर तपाईंले

हजारौं वर्तमान अनि भविष्यलाई जोड्नुछ।

 

हेर्नुस् सर,

पछिल्लो बेन्चका सृजनशीलहरू

त्यै ब्ल्याकबोर्डमा रिफ्लेक्ट हुँदैछन्

जसलाई तपाईंले संसार अघि

प्रदर्शित गर्नुछ।

 

उठ्नुस् सर,

एउटा मैलो ब्ल्याकबोर्ड 

तपाईकै पर्खाइमा छ

जहाँ तपाईले,

यस ब्राह्मण्डको स्वच्छ भविष्य कोर्नुछ।


 

 

कमरेड तिम्रो भाउ, कति लगायो?

कमरेड,

तिम्रो भाउ कति लगायो उसले

र तिमीले तिम्रो चेतना

किलोको भाउमा सुम्पियौ?

भन कमरेड

 

रक्त क्रान्तिका कुराहरू फुकेर

तिमी बुर्जुवाको भक्त बन्यौ?

भन कमरेड

 

तिमीले हाम्रो गाउँको भाउ

कति सोचेका छौं ?

हाम्रो समाजको, 

हाम्रो देशको भाउ

कति सोचेका छौं ?

 

सर्वहारालाई सुखदिने सपना सम्झाएर

सर्वभोगीलाई समात्यौ

भन कमरेड

तिमीले तिम्रो साथीलाई कतिमा बेच्यौ?

 

कास्त्रोको सात घण्टे भाषण सुन्दा

हाई…सम्म नगरी 

रातो बनेका तिम्रा गालाका छालाहरू

कसरी एका एक चिसिए?

कसरी मिसिए तिम्रा स्वच्छ सपनाहरू

अन्धविश्वासी छालाहरूसित?

 

कमरेड,

मेरो गाउँमा,

मेरो, समाजमा,

मेरा देशमा अझ पनि पसिनाको गन्ध पर्फ्युमले साट्ने कोसिस हुँदैछ।

यहाँ हेपिएका, थिचिएका, लुछिएका सपनाहरू

मन्दिर, मस्जिद र गुम्बा अघि अझ लम्पसार छन्

र पण्डित भित्र बसेर

अर्ग्यानिक फल खाइरहेका छन्।

यस्तो हुँदाहुँदै पनि तिमी 

कसरी चुप बस्न सकिरहेका छौं?

 

लेनिनका कुरा सिकाउने तिमी,

अहिले कसरी लुटेरा बन्यौ?

मार्क्सका कुरा सिकाउने तिमी

रातारात कसरी मुर्ख बन्यौ?

 

कमरेड,

तिमी कसरी 

यती कम रेटमा बिक्यौ?

तिम्रो रेट त आकाश भन्दा लामो र

ब्राह्मण्ड भन्दा ठूलो  छ भन्थ्यौ।

 

मेरो देशमा अहिले मानिसभन्दा महत्त्वपूर्ण पशु भइसकेका छन्।

मेरो देशको निधारमा अहिले 

भक्तभोगीहरूको तीर चल्दैछ।

सर्वहारा रूदैछ

महङ्गाईले आकाश छुँदैछ

तरै पनि संसदघरमा मात्रै राजनीति हुँदैछ।

 

सडकहरू बलात्कृत रगतहरू बगाउँदैछन्

सिमानामा धर्मको नाममा हतियार तिखारिँदैछ

सरकार भाषणदेखि भूमिसम्म पुग्न सकेको  छैन।

विद्यार्थीहरू सिलेबसले बाँधिएका छन्

नेताहरू पैसाले।

तरै पनि तिमी चुप

किन कमरेड

 

चेको रगत बोलोभियाको जङ्गलमा सुकेको छैन 

भियतनामले अझ आफ्नो असली नाम बिर्सिएको छैन

तर तिमी,

एउटा सडक हिँड्न नसकी

थाकेर बिसायौ।

 

हिजो अस्ति त हो

मेरा बाले मलाई 

कमरेडहरूसित जोगिनु है भनेका

कमरेड, 

मेरा बाको दिमागमा कसले हस्तक्षेप गऱ्यो?

तिमी किन बोलेनौ?

 

कमरेड,

अब तिमी फर्केर आयौ भने

तिमीलाई, माफी हुने छैन

किन कि तिमीलाई श्रमिकहरूका

रगतले बुनिएका रेड कार्पेटमा

आफ्नो कालो बुटले कुल्चने बानी लागिसकेको छ।

 

होसियार बस्नु कमरेड अब तिमी,

किन कि आजै मात्र

तिम्रो सिगाने छोराले

तिम्रो ” म कमरेड बन्नेछु”  भन्ने पुस्तक 

हातमा लिएको,

मैले देखेको छु।

 

अनि अब तिमीले तिम्रो कमरेडको जग्गामा

“चिप एन्ङ वोर्स्ट”को ट्याग लगाउनु

अनि निधारमा खरानी घसेर

विश्वबजारमा रेट, रेटमा बिक्री हुनु

 

तिम्रो छोराको हातमा त्यो 

अन्तिम डोरी परिसेको छ,

जो तिमीले भर्खरै,

पश्चिमबाट पूर्वतिर पठाएका थियौ।


 

 

मसीसित डराउने

केही विचारहरू

उसले जबर्जस्ती दबाउन खोज्यो

भूगोलमा बडा बडा पहाड दबिए जस्तै

मानो, उसले आफैलाई 

एउटा विनाशकारी भुकम्प सम्झिएको थियो।

 

केही इतिहास तलवारका धार

अघि राखेर लेखायो।

केही सबुत उसले चबाएरै मेटायो।

 

भए भरको कोसिस गऱ्यो

केही शब्दहरू युगका 

पानाबाट मेटाउन।

आँखा चिम्म गरेर 

उसले चलाइरह्यो गोली 

मात्रै बिरोध शब्दलाई 

जमिनमा लेटाउन।

 

कलम भाँच्यो / मसी चुस्यो

पन्ना च्यात्यो /आगो झोस्यो

 

अहिले डराउँदै छ

लगलग काँप्दै छ कि 

कुन दिन भूगोलमा नयाँ पहाड पलाउने छ

र उ बसेको जमिन तल झर्नेछ।

 

अहिले उ डराउँछ

जब मसीको सट्टा खुनले लेखिएका 

राता राता बिरोधहरू देख्छ

सोच्छ मन मनै कि 

खुन कति चखिलो।

 

अहिले उ डराउछ

जब छरिएका मसीहरूले

बनिसकेका कुनै “एब्स्ट्रयाक चित्रहरू देख्छ

हेर्छ राम्ररी 

कि के बुझाउछ त्यो चित्रले।

 

जब देख्छ 

आँसुका टाटाहरू कसैको गालामा

उ डराउछ

अचम्मका साईनहरू त्यहाँ देखेर।

 

उसले सडका भित्ताहरू 

भत्काउन चहान्छ

बिरोधका पुस्तकालयहरू 

जलाउन चहान्छ।

तर उ सँधै  असमर्थ बन्छ

जब उ देख्छ मुठ्ठी पारिएका हातहरू

पुस्तकका आवरणहरूमा।

 

जब कुनै शिक्षकले 

रातो कलमले क्रस गर्छन् 

उसले सेट गरेका सिलेबसहरूमा

तब उसले चेतावनी दिन्छ

कि विद्यार्थीहरूले रातोले नलेख्नु।

 

तरै पनि उ नै हो 

इतिहास लेख्न लाउने

नीति बनाउने

कानुन पढाउने

पैसा दिने

केटाकेटीलाई ब्याग भिराउने

बुढाबुढीलाई प्याग सिकाउने।

जम्मै उ हो

 

अनि उ नै हो त्यो मसीसित डराउने।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया