गोजमुमो कालेबुङ जिल्ला समितिको वर्किङ कमिटी गठनः एनआईए-लाई विनयले गरे स्वागत, भने, ‘जाँच निष्पक्ष हुनुपर्छ’

प्रज्ज्वल छेत्री

कालेबुङ 5 नोभेम्बर।

विनय तामाङ नेतृत्वको गोजमुमो कालेबुङ जिल्ला वर्किङ कमिटीमा धेरै नयाँ अनुहार अनि थोरै पुराना अनुहार छन्। 37 जनाको कमिटीमा जीटीए सदस्य सञ्चबीर सुब्बा मुख्य संयोजकका रूपमा रहेका छन्। कालेबुङ डेलो टुरिस्ट लजमा डेढघण्टा लामो चलेको बैठकपछि विनय तामङले नयाँ कमिटीका पदाधिकारीहरूको नाम सार्वजनिक गरेका हुन्। सञ्चबीर सुब्बाको कन्भेरनसिपमा चल्ने नयाँ कमिटीमा शहरी क्षेत्रका संयोजक विनय घिसिङ अनि अर्पण गुरुङलाई बनाइएको छ। खण्ड-1 मा कमल सुब्बा, पङ्कज छेत्री, अनि गायेत्री मुखियाले नेतृत्व दिनेछन्। खण्ड-2 मा अनिल खवास र साइमन गुरुङ अनि खण्ड-3 मा अजय प्रधान र सन्दिप कुलुङलाई संयोजक चयन गरिएको छ। प्रचार-प्रसार एवं व्यवस्थापन प्रभारीमा सेरोन योञ्जन, पङ्कज छेत्री र सन्दिप कुलुङ छन् भने समितिका नयाँ प्रवक्ताहरूमा भुवन खनाल र अमीर बस्नेत छन्। यसरी नै राजनैतिक गतिनिधि देखरेख गर्ने, जीटीए कर्मचारीसित सम्पर्क साँध्न, शिक्षकहरूलाई समेट्न, श्रमिकहरूलाई सङ्गठित गर्न, सरकारी कर्मचारीहरूलाई एकत्रित गर्ने आदि उद्देश्ययले विभिन्न पदहरूमा पनि पद्भार सुम्पिएको छ।

आज कालेबुङ जिल्ला कमिटी गठनको औपचारिक घोषणा गर्दै विनय तामाङले भोलिदेखि कालेबुङको पुरानो पार्टी कार्यालयलाई नै सञ्चालनमा ल्याउने बताउँदै आगामी 19 नोभेम्बरका दिन दार्जीलिङ जिल्ला समितिको जनसभा दार्जीलिङमा हुने बताए।

गोजमुमोको नयाँ कमिटी बनिए पनि उक्त कमिटीमा गोजमुमोका प्रभावशाली नेताहरू कमिटीबाहिर नै छन्। यस सम्बन्धमा तामाङले भने, ‘अहिले धेरै नेताहरू भूमिगत् छन्। कति यहाँ बसेपनि उनीहरू निष्क्रिय छन्। भूमिगत् बसेर पार्टी चलाउन सकिँदैन। पार्टीलाई मजबुत र सशक्त बनाउन कमिटी गठन गरिएको हो।’।

उनले यदि मोर्चाका पूराना नेताहरू पार्टीमा आएको खण्डमा स्वागत गर्ने बताए।

अर्कोतिर उनले पहाडमा आएको एनआईए(नेसनल इन्भेटिगेसन एजेन्सी)लाई स्वागत जनाएका छन्। केन्द्रको यस एजेन्सीप्रति विरोधाभाष नरहेको बताउँदै तामाङले जाँच निष्पक्ष रूपमा हुनुपर्ने माग गरेका छन्।

‘दार्जीलिङ पहाडमा बम ब्लास्ट भयो। कालेबुङमा पनि एकजनाको मृत्यु भयो। एनआईए आएर जाँच गर्छ भने हामी स्वागत गर्छौँ’-तामाङले भने, ‘सीआईडीले पनि जाँच गरिरहेको छ, एनआईए पनि आउँदैछ, जाँच निष्पक्ष हुनुपर्छ।’

जाँच सही ढङ्गमा गरेर बमकाण्डमा संलग्न आरोपीहरूले कठोर सजाय पाउनुपर्ने बताउँदै तामाङले आफूहरूले गैरकानुनी क्रियाकलापहरूलाई समर्थन नगर्ने अनि शान्तिको पक्षधर रहेको बताए।

यद्यपि दार्जीलिङमा एनआईए आउनु भनेको विमल गुरुङप्रति केन्द्रको नरम मनोभाव हो जस्तो विनय तमाङलाई लाग्दैन।

‘यो मिडियाले लेखेको कुरा मात्र हो। एनआई आउनुमा विरोधाभाष छैन। जाँच सही ढङ्गमा हुनुपर्छ, ‘तामाङले भने, ‘दोषीले सजाय पाउनुपर्छ।’

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै तामाङले आगामी 19 नोभेम्बरका दिन दार्जीलिङमा जनसभा गर्ने अनि चाँडै कालेबुङ जिल्ला समितिको आयोजनामा कालेबुङमा पनि जनसभा गरिने बताए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन