विनय गुटले गर्दैछ धमाधम समष्टि गठन कार्यक्रम

दार्जीलिङ, 6 नोभेम्बर।


गोर्खा जनमुक्ति मोर्चा दार्जीलिङ महकुमाअन्तर्गत विभिन्न ठाउँहरूमा  समष्टि गठन र जनसम्पर्क अभियान गरिरहेको छ। गान्धीको देशमा गान्धीकै सिद्धान्तलाई शिरोपर गरी आन्दोलन अघि बड़ाउने गोजमुमो नेता विनय तामाङ र अनित थापालाई सहयोग पुऱ्याउँदै फुब्सेरिङ पान्दाम समष्टिअन्तर्गत फुब्सेरिङ चियाबारीको सार्वजनिक भवनमा सभापति कुमार ठकुरीको अध्यक्षता तथा देवराज छेत्रीको सञ्चालनमा एक कार्यक्रम सम्पन्न भयो, जसमा स्वागत भाषण प्रभाश राईले पेश गरेका थिए।

गोजममो दार्जीलिङ महकुमा कन्भेनर सतीश पोखरेल, कोर कमिटी समिति सदस्य दिनेश गुरूङ, नगेन्द्र प्रधान, महकुमा प्रवक्ता सन्दीप छेत्री, दावा तामाङले सभालाई सम्बोधन गरेका थिए भने सभामा यस समष्टि समितिको निम्ति प्रतिनिधि चयन गरियो। जसमा फुब्सेरिङ व्लकबाट देवराज छेत्री, प्रवेश राई, कुमार राई, विवेक ठकुरी, लिम्बु बस्तीबाट दिपक तामाङ, रंगीत ब्लकबाट दिच्छेन तामाङ, रोदन राई, जोनी तामाङ गरेर आठजनालाई समष्टि प्रतिनिधि चयन गरियो।

अब चाँड़ै यस समष्टभित्र पर्ने अन्य ब्लकहरूसँग सभा गरेर ती ब्लकहरूबाट प्रतिनिधि चयन गरी समष्टि समिति बनाइने महकुमा कन्भेनर सतीश पोखरेलले बताए। यसरीनै सोम चियाबारीमा कोर कमिटी सदस्य आलोक कान्तमणि थुलुङको नेतृत्वमा, सुके-मानेभञ्ज्याङ समष्टिअन्तर्गत मजुवा ग्राम पञ्चायतमा महकुमा नेता बुद्ध तामाङको नेतृत्वमा सभा भएको कन्भेनर पोखरेलले बताए।

यसरीनै गोजमुमो कोर कमिटी सदस्य आलोक कान्तमणि थुलुङको पहल र नेतृत्वमानै तकभर समष्टि अन्तर्गत सोम चियाबारी पहिलो, दोस्रो र तेस्रो विभागबाट सबैलेनै विनय तामाङ अनि अनित थापालाई साथ दिने वाचा गरेको पार्टीले बताएको छ। यसैबीच, तकभर सिंहमारी समष्टि गोजमुमो पार्टी सभापति प्रवीण साम्पाङ, युवा मोर्चा सभापति रोहित थापा, नारी मोर्चा सभानेत्री साथै सबै समष्टि नेता, नेत्री, समष्टि प्रतिनिधिहरूले पनि गोजमुमो नेता आलोक कान्तमणि थुलुङको नेतृत्वलाई स्वीकार्दै गणतान्त्रिक आन्दोलनलाई सहयोग गर्ने वचन दिए। विमल गुरूङको गड़ मानिने तकभर समष्टिका विभिन्न शाखा-प्रशाखाहरूले विनय तामाङलाई सहयोग गरिरहेको सभामा थुलुङले जनाए।

सभामा युमो केन्द्रिय सभापति अमृत योञ्जन, महासचिव तिलक छेत्रीले पनि सम्बोधन गरे। यसरीनै अर्कोतर्फ रंगबुल धोतरिया समष्टिमा पनि पार्टीले एक सभा गरेको थियो। महकुमा कन्भेनर सतीश पोखरेल, गोजमुमो कोर कमिटी सदस्य एलएम लामाको प्रमुख उपस्थितिमा भएको रंगबुल धोतरियाको सभामा धोतरिया हाई स्कूलका अवकाशप्राप्त शिक्षक दिपक प्रधानलाई दार्जीलिङ महकुमा समिति सदस्य बनाइयो भने सभामा पुरानै समष्टि समितिलाईनै यथावत राख्ने निर्णय भयो। तर 45 दिनभित्रमा उक्त समष्टि समितिले संगठन र समिति बिस्तारको कार्य गर्ने पनि निर्णय लिइयो। यस समष्टि कमिटीमा सभापति अमिर राई, सचिव जीवन प्रधान छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन